उषा शेरचन समकालीन नेपाली साहित्यकी अग्रणी प्रतिभा हुनुहुन्छ । उहाँ कवि, मुक्तककार, गीतकार, कथाकार, उपन्यासकारका साथै प्रेरक व्यक्तित्वका रुपमा स्थापित हुनुभएको छ । पितृसत्तात्मक लैङ्गिक चिन्तनको शरीर राजनीतिलाई भङ्ग गरेर इतिहासलाई वर्तमान समयको सोचमा समाहित गर्न उहाँका कविता सक्षम छन् । बिम्बहरुको शृङ्खलालाई नवीन प्रयोगका साथ अभिव्यञ्जित गर्ने हुँदा उहाँका कविताले भावकको हृदयलाई गहिरोसँग समातेका हुन्छन् । वि. सं. २०१२, नालामुख, पोखरामा जन्मनु भएकी साहित्यकार उषा शेरचन मुलत: काव्यिक विधामा कलम चलाउनु हुन्छ । ओजिला मुक्तकहरुका कारण उहाँलाई मुक्तक साम्राज्ञी पनि भनिन्छ ।
उहाँका प्रकाशित कृतिहरुमा
नजन्मेका आस्थाहरु’ २०४८ (कविता–सङ्ग्रह)
अक्षरहरुका शिविरबाट’ २०५६ (मुक्तक–सङ्ग्रह)
सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ २०६३ (कविता–सङ्ग्रह)
तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) २०७०
आधि’ (उपन्यास ) २०७६, गीतिएलबमहरुमा ‘अभीप्सा’ २०५८,
सञ्चयन’ २०५९, ‘मेरो माटो मेरो गीत’ २०६०, ‘संवेदन’ २०६७,
आकाश छुने रहर’ २०६७ तथा
उहाँका सम्पादित गुञ्जनको वार्षिक मुखपत्र, नारी साहित्यको विधागत इतिहास , कालजयी स्वरहरु (स्वर सम्राट नारायणगोपालका गीतहरुका संकलन), वियोण्ड द फ्रन्टिर्यस (ख्याति प्राप्त महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कथा संग्रह, डटर अफ दि अर्थल (समकालिन महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कविता संग्रह), देवकोटा शताब्दी अभिलेख आदि छन् ।
म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु, न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसाद बाट गुज्रिरहेछु भन्ने आभास बाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेका छन् र केटीका फोटोहरू हर्नका लागि कर गरिरहेका छन् ।
हुन पनि बिवाह योग्य लक्का जवान छोरा त्यसमाथि पनि हामी राजपुतहरू बिवाहलाई समेत आफ्नो आन वान र शान सम्झिने हाम्रो समुदाय । म हेर्दामा पनि निकै हृयाण्डसम देखिन्छु । त्यसमा पनि धनि बावुको एक्लो छोरा पढाईमा पनि उतिकै तेज । कुनै पनि बावु आमाले आफ्ना छोरीका लागि छान्ने वरको क्राइटेरिया भन्दा धेरै माथि देखिने मेरो व्यक्तित्व । अथवा यसो भनौँ कुनै पनि युवतिले प्राय: सोच्ने सपनाको राजकुमार । टल डार्क हृयाण्डसम माथि पनि सम्पन्न घरको एक्लो वारिस । तर अफसोस बाहिरी रुपमा हेर्दा म जे जस्तो देखिन्छु त्यसको ठिक विपरित छु म भित्रको व्यक्ति जो संग म वाहेक अरु कोही दोस्रो व्यक्ति परिचित छैन । मलाई जन्म दिने मेरी जननी समेत अनभिज्ञ हुनुहुन्छ म भित्रको व्यक्तिसँग भने अरुको त झन के कुरा भो र ?
आज घरमा चहलपहल चर्कै छ । मेरा लागि भनेर ल्याईएका बिवाह योग्य कन्याका एक से एक सुन्दर फोटोहरू छान्नमा जुटिरहनुभएका छन् मेरी दिदीहरू । टेबुल भरी विस्कुन सुकाए जस्तै गरी फिँजाइएका तस्वीरहरूलाई चामल केलाए झैँ केलाउनमा तल्लीन हुनुहुन्छ दिदीहरू । एक एकको फोटो हेर्दै टिका टिप्पणीका पारा छाडेर हाँस्दै पनि हुनुहुन्छ भने मेरा बुवा र आमा गर्वले छाती चौडा पार्दै छोरीहरूले गरेका टिका टिप्पणीमा हो मा हो मिलाउदै हुनुहुन्छ । तर विचराहरूलाई के थाहा ? मेरो संसार भने नितान्त वेग्लै छ भन्ने कुरा । जति-जति उहाँहरू खुसी हुदै कन्या छान्नमा तल्लिन देख्छु उति उति म झन् भित्र भित्रै पीडाले आहत भएर छटपटिरहन्छु, दु:खको अथाह सागरमा हेलिईरहन्छु । जति प्रयत्न गर्दा पनि उहाँहरूको खुसीमा सामेल हुन असमर्थ पाउँछु आफूलाई । तर उहाँहरूको उत्साह र उमङ्गलाई मत्थर पार्ने सामर्थ्य भने म मा छैन कमसेकम यत्तिखेरलाई भने ।
आखिर ती एक से एक सुन्दर फोटोहरू मध्येवाट मेरा दिदीहरूले हरेक दृष्टिकोणले मेरा लागि मात्र नभई परिवारका लागि समेत योग्य कन्या म बाहेक सबैको सहमतिबाट छानियो । फोटोमा बायोडाटा समेत संलग्न भएकोले हाम्रो स्तरसँग मिल्ने गरी मेरा दिदीहरूले एउटी कन्यालाई फाइनल छनौट गर्दै उनको फोटो मेरो अगाडि तेस्याईदिनुभयो । दिदीहरूका मन राख्नकै लागि मैले पनि मन लागि नलागि हेरे मात्र केहि प्रतिक्रिया भने जनाइनँ । मेरो मौनतालाई मेरो सहमति सम्झेर हो वा बुवा आमालाई मेरो बिवाह हेर्न आतुर हुनु भएर हो । फोटो र बायोडाटा ल्याइदिएको लमीलाई आफुहरूले छानेको कन्यालाई हेर्न जाने समय मिलाई दिन आग्रह मात्र गर्नु भएन कि मिति नै तोकेर ल्याइदिन समेत अनुरोध गर्नुभयो । रातभर पटक्कै निदाउन सकिनँ । छट्पटिका लहरहरू बार-बार उर्लिरहृयो । सिंगो रात आँखा झिमक्कै नगरिकनै काटेँ । मानौँ, रात होईन सिंङ्गो युग नै काटे झै आभास भयो ।
लमिले कन्या हेर्न जाने मिति र समय तोकि दिनु भएदेखि बुवा आमाको भूँइमै खुट्टा छैन । फुरफुर भएर सिमलको भुवा झैँ खुसिले उडिरहनु भएको छ । आफुहरूले सोचे जस्तै घरान र आफ्नै स्तर सुहाउदो पढेलेखेको सुशील मात्र नभई अति सुन्दर कन्यालाई आफ्नो छोराको लागि हेर्न जाने सपना बुन्दैमा व्यस्त हुनुहुन्छ । अझ बुवा आमा भन्दापनि हजारौ गुणा बढि उत्सुक त मेरा तीन जना दिदीहरू देखिनुहुन्छ नदेखुन् पनि किन ? तिन तिन जना दिदीहरूका एक्लो भाई जो परेँ ।
म भने रातभर आफैं भित्र मच्चिरहने युद्धले पराजित भएर थकित छु । मेरो शरिर बाट प्राणै फुस्केला झै गरी गलित छु । घायल मनका पिडाहरू कहाँ गई पोखुँ म ? ठिक त्यो बलि दिन तयार पारेको बोकाको जस्तो मनस्थिति भएको छ मेरो । यी सबै कुराबाट बेखवर मेरा परिवारजनहरू मेरो लागि सोचे जस्तै कन्याँ भेटिएकोले बुहारी भित्र्याउँने कल्पना मात्रले पनि रोमाञ्चित हुनुहुन्छ ।
आफ्नो छोरालाई देखेर केटी पक्षहरूबाट केहि टिका टिप्पणी गर्ने अवसर नै नपाओस् भन्ने सोच राख्नु भएरै होला, आमाले दिदीहरूलाई मेरो तयारीमा विशेष ध्यान पुर्याउन निर्देशन दिदै हुनुहुन्छ ।
मेरा दिदीहरू पनि कँहा कम हुनुहुन्छ र ? उहाँहरू पनि एक से एक दामी साडी र गहनाले लादिएर आउनुभएको छ । मानौँ, उहाँहरू मेरा लागि कन्या हेर्न जानका लागि नभई आफै कन्या भएर प्रस्तुत हुने झैँ गरी खुव ठाँटिएर आउनु भएको मात्र नभएर मेरा लागि समेत हाम्रो हैसियत झल्काउने गरी डिजाइनर सेरवानी र त्यसमा म्याचिङ्ग जुत्ता समेत लिएर आउनु भएको रहेछ । मेरा तिनै जना भेनाजुहरू पनि एक से एक घरानियाँ र सम्पन्न हुँदा कोही भन्दा कोही कम हुनुहुन्न नै । दिदीहरूको ठाँटबाट र पहिरन हेर्दा आ-आफ्नो हैसियतलाई प्रदर्शन गरिरहनु भए झैँ देखिनु भएको छ । घरको वातावरण हर्ष र उल्लासको फागुने रंगमा रंगिएको छ तर म भने न त त्यो रंगमा नै रंगीन सकेको छु, न त उहाँहरूले देखिरहनु भएको मिठो सपनालाई तोड्न नै सक्ने अवस्थामा छु, न त कन्यालाई हेर्न जाने मुडमा नै छु ।
बुवाले ढिलो हुन लागेको सुचना प्रवाह गर्न नपाउदै आमाले मेरो पक्षमा वकालत गर्दै हुनुहुन्छ केटी हेर्न जाने कुरा हो, तयार हुन केही समय त लागि हाल्छ नी । हजुर पनि कस्तो हत्तारिनु भएको भन्या । सबै दिदीहरू मिलेर भाइलाई तयार पार्दैछन् । म लाचार कठपुतली बनेर दिदीहरूको चाहना अनुरुप आफुलाई सजाइरहेको छु । तर म आफू भने प्राणै नभएको प्लाष्टिकको म्यानीक्वीन जस्तो भएको छु । शरीरका तापक्रमहरू झन् झन् तल तल झर्दै चिसिएर हिउँको ढिक्कामा अनुदित भएर गईरहेको छु ।
आमा त मेरी जननी हुन्, मलाई साह्रै साह्रै माया गर्नुहुन्छ नगरुन् पनि किन ? तिन तिनजना छोरी जन्मेपछि बल्ल बल्ल जन्मेको छोरा म । हाम्रो समाजमा छोराको महत्व कति हुन्छ भन्ने कुराको ज्ञान मेरी आमालाई भन्दा बढि अरु कस्लाई होला ? मेरी आमाले छोरी छोरी जन्माउनु भए पछि सुन्न परेका कटाक्षका तीखावाणहरूले कति कति पटक घायल हुनुभएको र छोरालाई जन्म नदिए सम्म भोग्न परेका अपार पीडाहरूबाट आफू पटक पटक आहत भएको ब्यथाहरू आमाकै मुखारविन्दबाट धेरै धेरै पटक सुन्दै आएको छु । तर छोरीछोरी जन्मे पनि बुवाबाट पाएको माया र सान्त्वनाले गर्दा मात्रै आफूलाई सम्हाल्न सकेको कुरा पनि आमाले बारम्बार भनिरहनु हुन्छ । अझै पनि बुवा र आमा बीच आपसी माया प्रेम एक अर्काप्रतिको विश्वास र समझदारी कायमै छ । एकले अर्कालाई अतिनै मान सम्मान दिने गर्नु हुन्छ । म भने बुवा भन्दा आमाकै नजिक छु । आमाले मलाई प्राण भन्दा प्यारो गर्ने हुदाँ मनको कुनै कुनामा झिनो आशाका किरणहरू प्रस्फुटन भइरहन्छ, विश्वासको मुनाहरू पलाइरहन्छ र फेरि छिनमै पानीका फोकाहरू जस्तै विलाएर पनि जान्छ ।
म के गरौँ ? कसो गरौँ ? कस्लाई भनुँ मेरा मनका कुराहरू, बुवालाई भन्ने त कल्पना समेत गर्न सक्दिन म । दिदीहरूलाई भनुँ भने पनि उहाँहरूले मप्रति देखिरहनु भएको सपनालाई ऐनाझैँ भुँइमा खसालेर चकनाचुर पारिदिन पनि सकिरहेको छैन । हे भगवान मलाई यो कस्तो मोडमा ल्याएर यस्तरी पछारी दियौ उठ्नै नसक्ने गरी ।
सगुनका सामान सहित सवै जाने तरखर गर्दै भर्याङ्ग ओर्लदै हुनुहुन्छ । मेरो मन भने प्रफुल्लित हुनुको साटो झन झन उदासीको खाडलमा जाँदो छ । मन साह्रै साह्रै उदाश उदाश र हतास हतास हुदो छ । मझधारमा फसेको डुङ्गा झैँ ढलपल ढलपल गर्दो छ । म दिदीहरूको निर्देशनलाई अक्षरस पालना गर्दै पाइला अघि चाल्दैछु र मन मनै सोच्दैछु कन्या हेर्न जाने कार्यक्रममा त दिदीहरू यति विध्न उत्साहित हुनुहुन्छ भने विवाहको दिन भएकोभए झन के के पो गर्नु हुन्थ्यो होला ?
सानो सानो जन्ती जस्तै देखिने गरी हाम्रो कारहरू लामबद्व रुपमा मेरै छाती चिरे जस्तै गरी सडकको छाती चिर्दै गुड्न थाल्यो । जति जति कन्याको घरको दुरी नजिकिदै छ, उति उति मेरो मनको दुरी भने झन झन बढ्दो छ । कन्या पक्षको घर के भनौ ? महलै भने पनि भो, दुलहि झैँ सिंगारिएको । हाम्रो स्वागतार्थ घरका सबै बुजु्रकहरू ढोकामै लामबद्व भएर उभिरहनु भएका । सबैले दुवै हात जोडेर नमस्कार गर्दै हामीलाई भित्र आशन ग्रहणका लागि लगिंदैछ । म आफ्नो गरुङ्गो पाईलालाई सकेसम्म हलुको पार्ने प्रयत्नमा लागिरहेको छु ।
म भित्र उठिरहेको पीडाको शुल कम से कम मेरो अनुहारमा नछल्कियोस भन्ने सोचाइवाट पनि अमुक्त छैन म । भव्य महलको भव्य सजावटले आफ्नो भव्यता दर्शाईरहेको छ । त्यसमाथि पाहुनाको स्वागतमा कुनै कसर नछाड्ने प्रण गरेझैँ देखिन्छन् घरका सवै सदस्यहरू । हामीलाई बडो आत्मियता पूर्वक आथित्य सत्कार गर्दै बैठक कोठाको सोफामा बसाउनु भयो । लमीज्यूले एक अर्काका परिवारसँग एक एक गर्दै परिचयको आदान प्रदान गरायो ।
आफूहरूले खोजे जस्तै र सोचे जस्तै वर पाउन सकेकोमा प्रसन्नता व्यक्त गरे कन्या पक्षले । र साथै आफ्नो कन्या पनि कुनै पनि अर्थमा कोहि भन्दा कम नभएको कुरा अवगत गराउन पनि चुकेनन् उहाँहरूले । तर मेरो ध्यान भने जति नै प्रयत्न गर्दा पनि त्यतातिर मोडिनै सकेको छैन । आफ्नै उलझनको माकुरे जालोमा अल्झेरै बसेको छु ।
पर क्षितिजबाट पूर्णचन्द्र विस्तार विस्तार धर्तिमा ओर्ले जस्तै गरी आफन्तको सहारा लिएर पर भर्याङ्गवाट एउटी परी ओर्लर्दै छिन् । कुनै दन्त्यकथाको राजकुमारी झैँ देखिने उनको रुप लावन्यले मन लोभिनुको साटो झन् झन् विकर्षण तिर भाग्दो छ । मेरा सवै परिवारहरू फोटोमा देखेको कन्या भन्दा हजार गुणा राम्री साक्षात् अप्सरालाई देखेर आँखा पनि झिमिक्क नपारिकनै हेरिरहनु भएकोछ । धपक्क बलेकी सुन्दर परी विस्तार विस्तार आफू सामु पाइला बढाउदै गरेको देखेर मख्खै परेको भान सवैको अनुहारबाट झल्किरहेको प्रष्टै देखिन्छ ।
म भने कसरि आफ्ना कुरा उनी समक्ष राख्ने होला । उनले के सोच्ने होली ? भनुँ के भनुँ-नभनु कसरी नभनु – उनको सुन्दर मुहार जस्तै उनको सुन्दर भविष्यसँग खेलवाड गरेर अन्धकार कुवा भित्र धकेलिदिनु पनि त महापाप हो भन्दै छ एक मनले । उनको पाइला जसरी बढ्दो छ हामीतिर उति उति निराशाको कालो वादलले मेरो अनुहारलाई ढाक्न खोज्दैछ । जति उज्यालो बनाउछु भनेर सोच्छु, उति उति झन् तुवाँलाले ढाके जस्तै गरी मेरो अनुहारको रंग मलिन भएर जाँदो छ । परिचयको आदानप्रदानको क्रमभरी उनले आफ्नो मृदुमुस्कानको जादु छर्दै वातावरणलाई नै धपक्क बालिरहिन् । मेरो अनुहार भने बल्नुको साटो झन् झन् निभ्दै गइरहेको छ । चार्ज सकिन लागेको लाइट झैँ गरी । उनले मेरो अँध्यारो अनुहारलाई पुलुक्क हेरिन र चुपचाप उभिरहीन ।
हामी दुईले एकअर्कालाई अझ राम्ररी चिनुन् र वुझुन् भन्ने सोच राख्नुभएर होला हामी दुवैका परिवारका सदस्यहरूले हामी दुवैलाई एकान्तमा कुरा गर्ने अबसर दिनुभयो । बल्ल तल्ल जेलवाट मुक्त हुन पाएको कैदी झैँ त्यहाबाट उम्केर भाग्न पाएकोमा एकैछिन भएपनि सन्तोषको सास फेरेँ । छिनभरमै कन्याको कोठामा पुग्नु पर्दा भने एउटा कैद खानाबाट मुक्त हुन नपाउँदै अर्को कैद खानामा पुगेझैँ अनुभूति भईरहेको छ ।
म चुपचाप जड बनेर उनको कोठा भित्र उभिरहेको छु । बोल्ने कुनै शब्द नै नभेटेर मूर्तिवत् बस्नु बाहेक अर्को बिकल्प देखिन पनि मैले । धन्न कन्या सुन्दरी मात्र होईन, फरासिली पनि रहिछन् र पो त लज्जाको घुम्टोहरू आफैले उघारिन् र भनिन् यता बस्नुहोस न सजिलो गरेर ! उनले देखाएको स्थानमा चुपचाप बसिदिएँ । हजुरको मुहार साह्रै मलिन देख्छु । मलाई देखेर खुसी हुनुको साटो झन् बढि दुखी हुनु भए झैँ देख्छु नि ? सञ्चो हुनु हुन्न कि कसो र ? वा त्यस्तो कुनै खाश कारण छ कि ? प्रत्युत्तरमा म के भनौ ? जस्तो भएर फेरि पनि चुपै बसे ।
साँच्चै त्यस्तो केहि खास कारण छ भने मलाई भन्नुहोस् । अझै पनि केहि बिग्रेको छैन । तपाई मलाई अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ । यति भनेपछि भने वल्ल मुख खोल्ने साहस पलायो ममा । मैले भने मेरा परिवारका सवै सदस्यहरू तपाँइलाई देखेर दङ्ग हुनुहुन्छ । साँच्चै पनि तपाइँ कुनै परी भन्दा कम सुन्दर हुनुहुन्न, मेरो दुर्भाग्य नै भनौ अव म तपाँइलाई स्वीकार्न अर्समर्थ छु । तपाँइको सुन्दर भविष्यलाई अन्धकारको टनेलभित्र धकेल्न चाहन्न म । तपाँइ मभन्दा हजार गुणा वढि योग्य बरको लागि योग्य कन्या हुनुहुन्छ । मैले तपाईलाई होइन बरु तपाईले नै मलाई अस्वीकार गरिदिनु भएर यो बन्धन बाँधिनबाट मुक्ति दिनुहोस् । यसको कुनै ठोस कारण जान्न सक्छु होला मैल ? आश्चर्य मिस्रित स्वरमा प्रश्न पुन: दोहोर्याइन् ।
—–
मैले विनम्रता पूर्वक निवेदन गरेँ, मेरा एउटा असाध्यै मिल्ने साथी छ । जस्लाई म सर्वाधिक माया गर्छु, उ बिना वाँच्ने कल्पना समेत गर्न सक्दिनँ म । मेरा परिवारका सदस्यहरू भने यस कुराबाट अनभिज्ञ हुनुहुन्छ । मैले मेरो परिवारसँग यी कुराहरू राख्न अर्समर्थ भएर नै तपाँइको साहारा खोजेको । तपाँइ पनि आफ्नो भविष्यलाई अन्धकारतिर नधकेलेर उज्यालोतिर लम्किनुहोस् । तपाईलाई मैले यसो भनेर तपाईको भावनामाथि खेलवाड गर्न र तपाईको मनमा चोट पुर्याउन खोजेको भने अवस्य होइन । कृपया यति मात्रै बुझि दिनुहोस् कि तपाईजस्तो बत्तिश लक्षिणले युक्त अप्सरा म जस्ताका लागि भने कदापि वनेको हुदै होईन । तपाईको लागि म हर दृष्टिकोणबाट अयोग्य छु । त्यसैले मलाई अस्वीकार गर्नुहोस् भनेर अनुरोध गर्दैछु ।
केटी पनि छक्क परेरै सोच्न थालिन्, होइन यो कस्तो खालको लोग्ने मान्छे रहेछ ? मजस्तो केटीलाई देखेर मनभित्र खुशीको हजार दियो बाल्नुको साटो उल्टै अस्वीकार गर्दैछ । कलेजतिर मेरो एक झलक पाउनको लागि होडै लागेर मरिहत्ते गर्छन् । कस्ता कस्ता मै हुँ भन्नेहरू समेत । मैले कुनै केटाहरूलाई भाउ नै नदिए पनि बत्तिमा पुतलि झुम्मिए जस्तै गरि झुम्मिन आँउछन् मेरो वरिपरि मेरो प्रेममा शहिद हुन । तर आज त्यसको ठिक बिपरित मेरो परिवारले पनि चाहेको र मैले पनि सहमति दिएको व्यक्तिको प्रेममा म शहिद हुन चाहेको व्यक्तिले भने मलाई नै अस्वीकार गर्दैछ । यहाँ त बिल्कुलै उल्टो गंगा बगिरहेको छ । त्यस्तो कुन चाहि युवतीले यिनको मन हरेको होला त ? मजस्तोलाई पनि अस्विकार गर्न बाध्य बनाउने, सायद अर्न्तजातिय भएकोले पो हो कि र ? परिवारलाई भन्न नसकेर नै मेरो सहारा लिन चाहेको ? आदी इत्यादी कन्याको मनमा प्रश्नको ओईरै लागि रहयो ।
हामी दुईबीच एकान्तको क्षण हाम्रो परिवारले निर्धारण गर्नु भएको समयभन्दा बढि घर्केछ क्यार । मेरा माइली दिदी हाँस्दै कन्याको कोठाभित्र आउनु भएर हामी दुबैलाई तल हाम्रो परिवारले बोलाउनु भएको सुचना मात्र दिनु भएन कि साथै लगेर पनि जानु भयो ।
मैले आफ्नो निर्णय सुनाउने हिम्मत गर्न सकिनँ । मेरो परिवारले पनि मेरो रायसुझाब लिन आवश्यक ठान्नु भएन, दुवैको परिवारको अनुहार भरी प्रशन्नताको लहरहरू उर्लिरहेको थियो । मैले सबैको आँखा छलेर सुटुक्क कन्यालाई हेर्दै अनुनय गरे, अघिको कुरालाई सार्वजनिकिकरण गरिदिनका लागि तर किन हो कुन्नी उनि जड बनेर निहुरी रहिन् केहि बोल्दै नबोली ।
हाम्रो लागि पुरै खानपानको व्यवस्था मात्र नभएर खुसियालिको यो क्षण मुख मिठो गर्ने भन्दै गनिनसक्नु मिठाइका परिकारहरू हाम्रो सामु ल्याइरहेका छन् र मेरा बुवाआमा, दिदी र भेनाजुहरू पनि हर्षे गदगद हुदै आफुहरूलाई मन पर्ने मिठाईले मुख मिठो पार्दै हुनुहुन्छ । तर मलाई भने मिठाईहरू मिठाई नभएर बिषमा अनुदित भए झैँ पो लागि रहेछ । निकै बेरसम्म खानपानको कार्यक्रम जारी रह्यो ।
अव हामी खानपान सकेर बिदावारी भएर जाने क्रममा छौँ । दिदीहरू आ-आफ्नो कारमा श्रीमान् को साथमा जानुको साटो मेरो साथमा जाने भन्दै मेरै कारभित्र पस्नु भयो । म जति जति यी सब कुराहरूबाट भाग्न खोज्छु उति उति मेरै फेरो समातेर मेरै पछि पछि लागिरहेको छ । बल्ल बल्ल उम्किए भनेर सोच्न समेत नपाउदै फेरि दिदीहरू मेरै पछि पछि लागिरहनु भएको छ । दिदीहरूलाई पनि के चाहियो अव मलाई जिस्काउने मात्र गर्नु भएन कि कन्याको रुप रंग आदि इत्यादी बारे तारिफको पुल नै बँधिरहनु भएको छ । अनि बिवाहमा साडीले मात्र नपुग्ने रे, साडीको रंग म्याँचिङ हुने गहनासमेत चाहिने माग राख्दै हुनुहुन्छ । हुन त मेरो दिदीहरूलाई यी सव कुराको कमी त छैन नै तर भाईको बिवाहमा माईतिबाट पाउने उपहारको मूल्य बेग्लै हुन्छ चेलीहरूलाई । विचरा दिदीहरू खाली पुलाउ पकाउदै हुनुहुन्छ । मेरो बिवाहको तयारी कसरी गर्ने ? के के गर्ने ? क-कस्लाई निम्त्याउने आदि आदि ।
हामी घर पुग्नु अगावै बुवा आमा र भेनाजुहरू घर पुग्नु भए पनि बिवाह बारे नै चर्चा परिचर्चा गरिहनु भएको रहेछ । दुलाहालाई बाहेक सवैलाई बिवाहको रंग चढिसकेको छ । मेरो आमा भनेजस्तै बुहारी भिर्याउन पाउने कल्पना मात्रैले पनि त्यसै त्यसै प्रफुल्लीत देखिनु हुन्छ । त्यस्तो रहरमा जन्मिएको एक्लो छोराको विवाहमा कुनै कसर बाँकी नरहोस् भनेर मनमनै दृढ संकल्पित जस्तै देखिनु हुन्छ । बुबाको त झन् के कुरा आफ्नो साह्रै प्रिय श्रीमतीवाट छोरी छोरी जन्मिएकोले त्यहि निहुँमा आमा बुबा र आफन्त सवै मिलेर कतै दोस्रो विवाह गर्न बाध्य पार्ने त होईन भन्ने आशंकाले घेरिरहेको बेला, भित्र भित्रै पिडाले छटपटिरहेको बेला मलहम भएर जन्मेको छोराको विवाहमा के कमी हुन दिनुहुन्छ होला त – बुबा त झन् अर्थसँग आफ्नो हैसियत साट्ने तरखरमा तम्सीनु भएझैँ देखिनुहुन्छ ।
कठै ! मेरा बुवा आमा र दिदीहरूको यो सुन्दर सपना, सपना मात्रै हुने, उहाँहरूको कल्पना पलभरमै चकनाचुर हुने सोचबाट म भित्र भित्रै धमिराले खाएको खोक्रो रुख समान भईरहेको छु । ओहो ! म भित्रको घाउ पाकेर फुट्न मात्र बाँकी छ । म के गरु आफैसँग विवश छु ? लाचार छु । म यस्तो हुनु मेरो रहर पनि त होईन सायद बाध्यता या फेरि मेरो नियति । दिग्भ्रमित छु आफै ।
रात रात भर सोचेरै काटें आज पनि । मन वेचैन छ कसरी पोखुँ – मनभित्रको यो व्यथा । यसरि सवैलाई कुहिरोको काग बनाएर बस्नु भन्दा खुल्नुमा नै सबैको भलाई देखें । आखिर एक न एक दिन त यो पर्दा उठ्नु नै छ । जति ढिलो गर्यो उति झन् झन् उलझन मात्र बढ्ने सोचेर कन्याको घरको फोनमा नम्वर घुमाएँ ।
हेल्लो ! कस्लाई खोज्नु भएको होला ? उताबाट उहि कन्याको सुमधुर स्वर गुन्जियो ए ! मैले पनि तपाईलाई नै खोजेको । म फलाना बोलेको भन्दै आफ्नो परिचय दिए । आज पनि मैले तपाईकै बारेमा सोचेर रात विताए । तपाईको परिवारको बारेमा मेरो परिवारको बारेमा र हामी दुवै जनाको भविष्यको बारेमा ।
हजुर हजुर म सुँदैछु । भन्नुहोस् न त के के सोच्नुभयो ? मेरो आमासँग म असाध्यै निकट भएर पनि खुल्नै सकिनँ । अरुले मेरो समस्या नबुझे पनि आमाले त अवश्य बुझनुहुन्छ होला भन्ने बिचारमा हुदाँ हुदैं पनि मैले भन्ने साहस जुटाउन सकिनँ र तपाईलाई फोन गरेको । मेरो मात्रै जीवनको सवाल भए कुरा बेग्लै हुने थियो, तर अब मेरो जीवनसँग तपाईको भविष्य पनि जोडिन लागे पछि तपाईको भविष्यलाई बर्वाद गर्न मेरो आत्माले नदिएकै कारण मैले तपाईको सहारा लिन चाहेको । तपाईलाई मैले त्यसै दिन अस्वीकार गर्न आग्रह गरेको थिए । तर किन हो कुन्नी ? तपाई चुपचाप बसिदिनु भयो, त्यसदिन ।
के कारणले गर्दा होला ? तपाईले मसँग यो सम्बन्धलाई अस्वीकार गर्न आग्रह गर्नु भएको भन्नुहोस् न त म पनि मेरो परिवारलाई सम्झाउने प्रयत्न गरौंला । म असमञ्जसमा परे कसरी भन्ने होला भनेर । उनले के सोचेर हो भन्न थालीन्, भन्नुहोस् न त कुन केटी हो ? कस्की छोरी हुन् ? कहाँ कि हुन ? कहाँ बस्छिन् ? जस्ले गर्दा तपाईले हाम्रो सम्वन्ध जोड्न पर्वनै भत्काउन चाहदै हुनुहुन्छ ? प्रश्नको ओइरो नै बर्षाइन् उनले ममाथि ।
मैले भने बडो धैर्य पूर्वक सुन्न सक्नुपर्छ । कुरो अर्कै छ, जुन कुरालाई तपाईले पचाउन नसक्नु भएर मलाई घृणा समेत गर्न सक्नुहुन्छ होला सायद । घृणा गर्दैमा सत्य लुकाएर लुक्ने पनि होईन एक न एक दिन उदघाटित भइ नै हाल्छ । यो धर्तिमा जन्मेर जे-जे नियति भोग्न अभिशप्त हुन्छौ, हामी त्यो न त हाम्रो हातमा नै हुन्छ । न त जन्म दिने बुवा आमाकै हातमा हुन्छ, हुन सक्छ भने केवल त्यो सृष्टिकर्ताको मात्र । अधैर्य हुदै भनिन्- उनले ओहो ! भुमिका मात्रै धेरै नबाँधेर खुलस्तै बताईदिनुहोस् न कुन केटीको लागी तपाईले मलाई अस्वीकार गर्न खोज्नु भएको ?
प्रत्युत्तरमा मैले भने केटी होइन केटा हो । हँ ! अविश्वाश र आश्चर्य मिश्रीत स्वर गुन्जियो के’रे ? केटी नभएर केटा पो हो रे ? मैले गलत सुने कि क्याहो ? हैन हैन यँहाले सहि नै सुन्नु भएको हो ! हो मेरो केटी साथी नभएर केटा नै साथी हो जो बिना म आफुलाई अपुरो र अधुरो संझन्छु । उ बिना म बाँच्नै सक्दिन ! अथवा यसो भनौ हामी दुवै एक अर्का विना बाँच्ने कल्पना सम्म पनि गर्न सक्दैनौ । त्यसैले त मैले आग्रह गर्दैछु यो विवाहलाई तँपाई अस्वीकार गर्नुहोस् भनेर ।
कन्या पक्षबाट बिवाह अस्वीकार भएको खवरले हाम्रो परिवारभित्र ठूलै भूँइचालो जानु स्वाभविकै भयो । भित्रि कारण खोतल्दै जाँदा मेरो परिवार लज्जावोधले पानी पानी हुनु पनि अस्वाभाविक भएन । मेरो परिवारको प्रतिष्ठा मैं आँच नआउने त झन् सवालै भएन । यो कुराको चाल पाए पछि आफ्नै घरबाट अस्वीकृत भए म । बुवाको प्रतिष्ठाको अगाडी आमाले समेत घुँडा टेकि दिनु भयो र आफ्नो ममताको समेत गला रेटिदिनु भयो । चुपचाप बुवाको आदेश पालना गर्नु बाहेक अर्को बिकल्प रहेन मसँग । खुट्टामा बाँधेर राखेको बस्तु झैँ लाचार हुदाँ समेत मलाई जन्म दिने मेरी जननी जस्ले मलाई यो उमेरसम्म आफ्ना ममताको आँचलभित्र लुकाई रहिन् , मेरो खुसीमा म भन्दा बढि खुसी भईदिने, मेरो दुखमा मभन्दा बढि दुखी भइदिने मेरो आमाको मनबाट भने म कदापी अस्विकृत हुने छैन भन्ने मेरो विश्वासको सगरमाथा त्यति बेला गर्लम्मै ढल्यो, जुन बेला बुवाले मलाई घरबाट तुरन्तै निस्कने आदेश दिइरहदा समेत मेरी आमा केही नबोली चुपचाप उभिरहनु भयो ।
यसरी मैले गर्दै नगरेको गल्तीको सजाए भोग्न अभिशप्त भएँ म । के म यस्तो भएर जन्मनु मेरै भुल हो त ? मेरै गल्ति हो त ? यो मेरो तेस्रो रंग मेरो कमजोरी नभएर मेरो परिचय हो, मेरो पहिचान हो भन्ने प्राकृतिक वास्तविकतालाई स्विकार्नुको साटो उल्टै उहाँहरूको आँखाको नानी म, आँखाको नानी नभएर आँखामा बिझाउने कसिङ्गर झैँ भए । आफूलाई जन्मदिने बावु आमाको मायाँ ममतामा समेत भेदभाव सहन बाध्य भए म । आफ्नो नैर्सर्गिक अधिकार बाटसमेत बञ्चित भएँ म ।
अहिले म मेरो शहरदेखि टाढा धेरै टाढा मेरो परिवार, मेरो आफन्त र मेरो समाजको मुखै नदेख्ने ठाँउमा गुमनाम जिन्दगीको छाता ओढेर मेरो ब्वाईफ्रेण्ड अर्थात मेरो त्यही केटा साथीसँग जीवन यापन गर्दैछु । हाम्रो छुट्टै संसारभित्र हामी एकदमै खुसी छौँ, सुखी पनि छौँ । र पनि घर परिवार बिशेष गरी आमाको यादले भने कता कता मनभित्र विझाईरहन्छ । अदृश्य काँडाले हो वा केले केले ?
हुनसक्छ अरुको निम्ति म अँध्यारो टनेलभित्र अनन्त अन्धकारमा रुमल्ली रहेको हुँला तर मेरो अनुभूतिका निजत्वमा असंख्य असंख्य जूनकिरीहरू जगमगाइरहेका छन् । सायद अरुका निम्ति यो अनुभूति प्राप्त गर्नु पनि असम्भव सिवाय केही नहुन सक्छ ।
