ढुङ्गो पनि रसाउँछ भन्छन्
समय आए पछि
यहाँ
अभाव, अशक्त, वियोगान्तकाबीचबाट
कोही आयो मगमागाउँदै
र उठायौ क्रान्तिका चेत कुन मस्तिष्कबाट
थपिदियो एउटा इट्टा र
बढाइदियो सगरमाथाको पनि उचाई ।

निर्भिकता र सचेतता फस्टाउँदै गएपछि
बहन्छ ज्ञानको अजस्र धारा
चिर्दै विकृति विसंगतिको थुप्रो
पुर्दै असमानताको अनन्त खाडल
हरदम क्रियाशील रही न्याय प्रदान गर्न
अडिग एक खम्बा हुन उनी ।

रोग, शोक र भोकले थिल्थिल्याए पनि
गलेन मस्तिष्क, निभेन आशाको दीयो
अझै भनौँ
नारी बन्धन, अन्याय र देशमाथिको गद्दारी
कसरी बनिरहे उनको निशानामा
जिवनभर शारीरिक र मानसिक रोगको
अचुक औषधि बनिरहे पारिजात
मेरो आँगनको डिलमा बसेर
कालो रातभित्र पनि फक्रिरहने जून
बस्तिबस्ती डुलिरहने हावाको झोक्का
समुन्द्रमा उर्लिरहने छाल
या चम्किरहने पर क्षितीजनेरको एउटा तारा
नारी अस्मिताको रक्षार्थ खटिरहने
मानवतावादी सोच बोकेर
मन मस्तिष्क हल्लाउन सक्ने
सुगन्धित फूल हौ तिमी ।

निष्ठावान, न्यायप्रेमी, स्वाभिमानी
निडर र इमानको प्रतिमूर्ति
कयौं असहाय, अबला, निमुखाहरुको भरोसा
गरेर समाजसेवा बनाएर बचेराबास
लुकाएर कयौं पिडाहरु
निरन्तर खटिरहने पारिजात बनून् मनुज ।

कविता : पारिजातप्रति/गौरी कडेल
बकैया–४, मकवानपुर