बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिनु भएका भक्तराज आचार्य नेपालको चर्चित गायक हुनुहुन्छ । पछिल्ला पुस्ताले उहाँलाई सम्झिए कि सम्झिएनन् वा सम्झाउने कुनै कसरत सम्बन्धित पक्षले गरे वा गरेनन् भन्ने अर्को पाटो भने हुन आउँछ । डेढ वर्षमैँ बुबा गुमाउनु भएका उहाँका दुई सुपुत्र हुनुहुन्छ- सत्यराज आचार्य र स्वरूपराज आचार्य । उहाँहरू दुवै गीतसङ्गीतको क्षेत्रमा स्थापित हुनुहुन्छ नै ।
०००
भारतको डुअर्सको चियाबगानमा उहाँका ३१ वसन्त बितेका थिए । विपत्तिमा पनि उहाँले संगीतप्रतिको लगावका कारण ‘संगीत प्रभाकर’ सम्म अध्ययन गर्नु भएको थियो ।
वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’ मा उहाँले गाउनु भएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ पहिलो भयो र उहाँले स्वर्ण पदक प्राप्त गर्नुभयो । गीतका सङ्गीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गर्नु भएको थियो । यस बारेमा हाम्रा अघिल्ला लेखमा उल्लेख गरिएकै छ ।
प्रतियोगितामा प्रथम भएपछि उहाँ रेडियो नेपालमा जागिरे हुनुभयो । वि.सं. २०४६ सालसम्ममा उहाँले ४ सय ५० बढी गीतहरू रेकर्ड गराउनुभयो । भजन, आधुनिक, गजल, राष्ट्रिय, बालगीत आदि गायन गर्नु भएका उहाँले चारवटा मात्रै युगल गाउनु भएको छ ।
वि.सं. २०४६ सालको एक साँझ उहाँको जीवनको कालो दिनका रूपमा चिनियो । बौद्धमा रहँदा उहाँमाथि सांघातिक हमला भएपछि टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको र सो घटनाले उहाँको गायनलाई पूरापूर बन्द गराइदियो ।
०००
हामी उहाँलाई भजन शिरोमणिका नामले चिन्दछौं । उहाँका गायनका केही चर्चित गीतहरू निम्नानुसार रहेका छन्ः
जीवन भनुँ त घात छ
मृत्यु भनुँ त शास छ
दोधारमा बाँचु कति
हर गीतमा चित्कार छ…
०००
मुटु जलिरहेछ, यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा आँशु त्यसै बगेछ…
०००
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
००००
भजन शिरोमणि, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र-ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मानलगायत दर्जनौं सम्मानले विभुषित उहाँ बाँचेको परिवेश फराकिलो रहिरहेको छ ।
सङ्गीत शिखर भक्तराज आचार्य जसमाथि आक्रमण भएपछि गीत गाउनै सक्नुभएन । क्यान्सरका कारण केमो लगाउनु परेपछि उहाँले खानपान, फलफूल सबै त्यागेर दूध मात्रै पिउने गर्नुहुन्छ भने अस्पष्ट स्वरमा केही अन्तर्वार्ताहरू रहेता पनि मुखबाट र्याल बगिरहने समस्यालगायतका कारण उहाँ अन्तर्वार्ता दिनै चाहनु हुन्नँ ।
उहाँको जीवनबारे फिल्म बनेको छ । पुस्तक प्रकाशन भएको छ । उहाँका कालजयी सिर्जनाहरूका कारण उहाँ हामीमाझ सदैव रहिरहनुहुनेछ । असोज १६ उहाँको जन्मदिन । हजार सपनाहरूको माया लागेर आउँछ, उहाँले बाँचेको परिवेश भव्य थियो, रहिरहनेछ । सर्वप्रिय स्रष्टा आचार्यलाई जन्मदिनको हार्दिक शुभकामना । गाइने
