प्रेम बोकेर, प्रेम साट्न
असली आकृती नलुकोस् भनेर
खरानी नधसेको, कुण्डल नलगाएको
बिना पहेलो वस्त्रको
साधा, सफा मन बोकेर पनि
सप्तरङ्गी इन्द्रेणी सपना देखाउन
हरेक बिहान
म उठ्नु अघि
मेरो हृदयको दैलो ढकढक्याउन आइपुग्थ्यो….
सुभ प्रभात भन्दै
एउटा जोगी ।
लुट्दैनथ्यो उसले जबर्जस्ति
बरु, माग्थ्यो खाली मनको कमण्डलु देखाएर
निहुराउँथ्यो आफ्नो शीर
समाहित भएर निश्चल प्रेममा
र भन्थ्यो
आँखाभरी आँसुको ताल जमाएर
“सृष्टि भन्दा दृष्टि सुन्दर हुन्छ”
आँखाको बाटो हुँदै मेरो मनसम्म पुग्ने
उहीँ एउटा जोगी ।
म भने
कलेजी रङको गातो बेरेर,
हृदयले आफन्त छोडेर
एक्लै शून्यताको वनबास पसेकि
बुद्ध बन्ने घमण्ड राखेर
तर पनि
काम, क्रोध, मोह छोड्न नसकेकै कारण
बुद्ध बन्न नसकेकी ….
उहीँ जोगी
त्यही जोगी सम्झेर ।
बुद्ध बन्न त सङ्कल्प चाहिँदो रहेछ,
ज्ञान चाहिँदो रहेछ ,
न कलेजी रङले बोल्दोरहेछ, अन्तस्कण
न पहेंलोले बोल्दोरहेछ, ज्ञानको अनन्त बिन्दु
त्यसैले त बुद्ध बन्न नसकेर
जोगीसँग जोगिनी हुन खोज्दै
उसैसँग पोखिएको त्यो पल सम्झिरहेछु
अझै पनी उहीँ , त्यही जोगी ।
उसको लागि सिलाएको
पहेँलो रङको धर्के कमिज,
कलेजी रङको गलबन्दी,
र कलेजी रङकै सुइटर
जुन, मेरै सिरानीमा छ अझै सम्म
घरीघरी सुम्सुमाईरहेकी छु प्रेमको रङ भरेर
र आफ्ना जोर आँखा बिछ्याइरहेको छु
ऊ आउने मुलबाटोमा,
उसले छुँदा
मसँग टाँसिएको उसको औँलाको चक्र
सुस्त सुस्त मुसार्दै
लिरहेको छु उसको आलिङ्गनमा बाँधिदा
मेरो शरीरमा छुटेको उसकै सुगन्ध
फेरिपनि सम्झदै
उहीँ,त्यही एउटा जोगी ।
अचेल
मूलबाटो निदाएको छ
प्रभात आएकै छैन जस्तो लाग्छ
जोडी छुटेको ढुकुर मसँगै रोइरहेको छ
मेरो बैँस रित्तिएर हो या
उसको मन भरिएर हो
आउन छोड्यो
उहीँ एउटा जोगी
आउन छोड्यो ।
-सुमित्रा सुमी
नुवाकोट ।
