‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गराउनु भएको थियो, यो गीत दार्जिलिङका वरिष्ठ गायिका दिलमाया खातीले । तिनै कालजयी गीतका स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भयो ।
उहाँ लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिनुभएका उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामा समकालीन हुनुहुन्थ्यो ।
सन् १९६२ मा पहिलो पटक काठमाडौं आउनुभएको थियो । त्यहीबेला शिवशंकर, नातिकाजी श्रेष्ठ, तारादेवीजस्ता दिग्गज स्रष्टाहरूसँग उहाँको चिनापरिचय भएको थियो । काठमाडौं घुम्न आएको बेला उहाँले रेडियो नेपालमा ६ महिना अल्झिनुप¥यो । यसबीचमा उहाँका थुप्रै गीत लाइभ रेकर्ड गरियो । दिलमाया भने छिट्टै फुत्किएर दार्जिलिङ फर्किन चाहानुहुन्थ्यो तर, उहाँको प्रतिभाबाट कायल भएका नातिकाजीलगायतका दिग्गज संगीतकर्मी उहाँलाई यतै राख्न चाहन्थे ।
रेडियो नेपालबाट गोल्ड मेडल पाउनुभएका दिलमायालाई रेडियोले उम्किनै दिएन । तर, उहाँ आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्किनु भएको थियो ।
२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उहाँ दोस्रो पटक काठमाडौ आउनु भएको थियो । दार्जिलिङका धेरै स्रष्टालाई काठमाडौंले तानिरहेको थियो । तर, दिलमायाको दिल काठमाडौंले कहिल्यै जित्न सकेन । उहाँ दार्जिलिङ फर्किएर शिक्षणसँगै संगीतकर्ममा रमाइुहनुभयो ।
नारायण गोपालसँग भने दिलमायाको भेट सन् १९७२ ताका दार्जिलिङमै भएको थियो । भेटको चाँजो मिलाउनुभएको थियो, नारायण गोपालका मित अर्थात् गोपाल योञ्जनले । नारायण गोपालकै आग्रहमा उहाँले ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ बोलको गीत गाउनुभएको थियो । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ । उहाँहरूले कोलकाता पुगेर ‘बिछोडको पीडा र ‘तिमी देख्दा रहर….’ भन्ने युगल गीत रेकर्ड गराउनु भएको थियो । दिलमायाले नारायण गोपालसँग गाउनु भएको यी दुईमात्रै गीत हुन् ।
उहाँले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिनँ, सावन फर्की फेरि आयो, माया लगाई निष्ठुरी फर्केनजस्ता डेढ सय हाराहारीमा गीतहरू गाउनुभएको छ ।
छातीमा समस्या देखिएका कारण उहाँ केही समयअघि अस्पताल बसेर फर्किनु भएको थियो । उहाँलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँ घुमस्थित घरमा उहाँ दाई र भदैनीहरूसित बस्दै आउनु भएको थियो । गायिका दिलमायाको निधनले नेपाली संगीत जगतलाई नै अपूरणीय क्षती पुगेका छ ।
