गरीबीको पोल्टामा जन्मेर बाल्यकालदेखि दुखै दुःखमा जीवन गुज्रिँदै आयो । आफ्नो खुसी रहर त कता हो कता । लोग्नेको कमाई थोरै घर चलाउन मुस्किल जहिले रुँदै माग्नुपर्ने अवस्था । तिजको रमझममा पनि मन अशान्त भएको बेला एउटा अवसर आइलाग्यो ।
एउटा गतिलो संस्थाले तीजको दर खाने कार्यक्रम राखेको थियो । भर्खरै विदेशबाट आएकी मेरो मन मिल्ने साथी रमाले मलाई पनि बोलाएकी थिइन् र जाने अवसर जुरेको थियो र गएँ ।
साथीहरू गरगहनामा खुब सिँगारिएर आएका रहेछन् । आफूलाई भने लाज मर्नु भएको अवस्था थियो । रमाले आफ्नो ब्यागबाट केही सुनका गहनाहरू झिकेर मलाई दिँदै भनिन्, “ यो लगाऊ रीता मलाई भोलि फिर्ता दिनु नि ।”
अप्ठ्यारो मान्दै मैले लगाएँ ।
मन भित्र कता कता भारीपनको महसुस भइरहेको थियो । अर्कोको यति महँगो गहना लगाएर नाच्दै गर्दा मन भित्र खिन्नता भए पनि अनुहारमा प्रसन्नता ल्याउँदै खुब नाचियो । जीवन भरीको अधुरो सपना पुरा भएको र आफ्नो रहर पुरा भएको महसुस गर्दै बेलुकी घर फर्किएँ ।
हामी नाचेको साथीहरूले भिडियो टिकटक बनाएर पोस्ट गरेछन् । भिडियो भाइरल भएछ । साथीहरूको धेरै कमेन्ट आएको रहेछ, “कति सुहाएको धपक्कै सुनले बलेकी रीता कति राम्री देखिएकी ।”
बिहानै रमाको फोन आयो । मैँले उठाएँ ।
“रीता त्यो गहना मैले तिमिलाई इजरायलबाट आउँदा उपहार ल्याइदिएको हो । फिर्ता दिनुपर्दैन । त्यो सुन जस्तै हो जतन गरेर लगाऊ है ।”
चितवन भरतपुर ।
