आफू जन्मेको भूगोल, वातावरण, चालचलन, धर्मसँस्कृति, आदरभाव, सहिष्णुता नै देशप्रेम हुनुपर्ने हो । शायद परिभाषा पनि समयक्रममा फेरिँदै जाँदो हो ।
त्यसो त विदेशी भूमिमा मर्नु हुँदैन भन्ने पूर्खाको भनाइ रहेको थियो । गाउँबाट नजिकका सहर, सहरबाट अझ ठूला सहर, ठूला सहरबाट विदेशसम्म पुग्नुपरेको छ । पेटको प्रेम देशप्रेमभन्दा चर्कै हुँदोरहेछ ।
०००
तरकारी बजारमा पुग्छु । व्यापारीले ‘साहुजी काउली त त्यहीँ हाँडिखोलाको हो’ भन्छ । एक त साहुजी भनी भनीकन बढी भाउमा बेच्छ, अर्को भारतबाट आएको गोलभेँडालाई भीमफेदी पाखाको हो भनेर झुक्याउँछ । जे जे भए पनि उसले विदेशी चिजलाई देशकै बनाएर हामीलाई देशकै उत्पादन किनेर खाने देशप्रेमी बनाएको छ ।
कपडावालाकहाँ जाँदा नेपाली कपडा देखाउन भन्नुहोस्, उसले देखाउँछ र भन्छ ‘अरूलाई मिटरको पाँच सय, तपाईँलाई चाहीँ चार सय पचास मात्रै’ । चाहे तपाईँ पहिलो पटक नै त्यो पसलमा जानु भएको किन नहोस्, उसको छुट दिने तरिका पनि अचम्मकै हुन्छ । देशको कपडा भाउभन्दा सस्तो पाएपछि नकिन्ने कुरा पनि त भएन नि ।
नेपालमैँ दुबईको सालमन माछादेखि पनि पाइँदोरहेछ । यस्ता ठूलै मार्केटको प्याकेटमैँ उत्पादित देशको नाम लेखिएको हुन्छ । नत्र त उ त्यहीँ सीमात खोलाको सालमन माछा त हो नि भनेर राम्रै देशप्रेम जगाइदिने रहेछ ।
फलफूलवालाले कास्मिरी स्याउलाई मनाङ र डोल्पाको स्याउ बनाएर देशप्रेम राम्रैसँग पगालेको छ । देशप्रेमले फतक्कै पगालेका नेपालीहरूलाई विदेशीले देशप्रेम जगाई जगाई खल्ति रित्याइरहेका छन् ।
०००
“ह्वाँ हाम्रो मलेसियामा जिपर खोलेपछि ‘युरिनल बेसिन’ को ढकन खुलेर ‘रेडी’ हुन्छ । हाम्रो मलेसियामा धारोदेखि ट्वाइलेटसम्म सप्पै सेन्सरबाट चल्ने हुन्छ । बसमा चढेर यसो स्वाइप गर्‍यो पैसा तिर्‍यो । याँ त अनलाइन ट्रान्सफर हुने पसलमा नि वाइफाइ छैन भन्छ । डाटै अन गर्नुपर्ने । उस्तै होटलमा पुगेर भात खायो भने सबै निकालेर झिँगा परेछ भनेर झगडा गरेर भाग्नुपर्ने ।”
“विदेश जाँदा माइतीघरमा आन्दोलन भैराथ्यो, ५ वर्षपछि फर्किँदा पनि आन्दोलनमैँ थे मान्छेहरू । यी मान्छेहरू जागिरै आन्दोलनका खान्छन् कि क्या हो । ५/५ वर्षसम्म कसरी टिकेका ?”
“भित्तामा जे पायो त्यही लेखेका छन्, यहाँ पिसाब गर्ने कुकुर हो अरे । मान्छेका लागि ठाउँ छैन, यो देशमा कुकुरका लागि ट्वाइलेट बनाउँछ कसैले ? नचाहिने कुरा । यो देशको सिस्टम लास्टै खत्तम छ” भन्दै बसपार्कको भित्ताको छेको पारेर पिसाब गर्‍यो ।
यत्तिको विश्वस्त मान्छे कमै भेट हुन्छन् । साँच्चै देशप्रेमले ओतप्रोत भएको यतिको मान्छे मैले पहिलो चोटी भेटेँ । गाइने