भन्नुहोस् सरकार !
म कहाँ सुरक्षित छु ?
सिंहदरबारको पटाङ्गिनीमा
वा बालुवाटारको प्राङ्गणमा ?

भन्नुहोस् सरकार !
म कुन प्रकोपबाट सुरक्षित छु
बाढी, पहिरो, महामारी, दुर्घटना
हत्या, हिंसा वा बलात्कार ?

भन्नुहोस् सरकार !
तपाईँ कुन भ्यु टावरको
मचानबाट हेर्दै हुनुहुन्छ ?

म यो देशको सुदूर भूगोलमा
नाङ्गो आकाश ओढेर
रोग र भोकसँग लडिरहेको
के तपाई देख्नुहुन्छ?

अभावको पहिरोले पुरिएको
मेरो नाङ्गो बस्ती देख्नु भो?
बन्द बाकसमा शोक ओढेर
भूगोल फर्केको शव हेर्नु भो ?

दिन दाहडै
स्कुल जाँदा
पानी पँधेरो गर्दा
मेरो अस्मिता लुटिँदा
मैले हार गुहार गर्दा
के तपाईँ साँच्चिकै सुन्नुहुन्छ ?

मैले न्यायको भिख मागेर
बिच बजारमा रोइ कराई
चिच्याइरहेको मेरो आवाज
के तपाईँको सिंहदरबार सम्म पुग्छ महोदय ?

भन्नुस् सरकार !
म कहाँ सुरक्षित छु ?

म जस्तै सर्वहाराहरूको
रगत र पसिनाका बुँदहरूले लेखिएको छ
यो सार्वभौम भूगोलको संविधान
तपाईँको त्यो उचाइको मचानमा पुग्ने
लिस्नुको एउटा खुड्किला हुँ म पनि ।

खै मेरो नैसर्गिक अधिकार कहाँ छ ?
मैले न्याय पूर्वक सुरक्षित बाँच्न पाउने
मेरो उन्मुक्त आकाश खै ??

भन्नुहोस् सरकार
म कहाँ सुरक्षित छु ?

किशन पौडेल, हेटौंडा