प्रिय नदी
तिमी सभ्यता हौं
नर्मदा हौं
आनन्द दायनी हौं

सुहाउँदैन तिमी बहुलाएको
मन रुवाउन सुसाउनु हुन्न
तिमी त प्राकृत धर्म निभाउने जीवन हौ
आफैं तुइन चढेर
बगाउनु हुन्न तुइन चढेका दुधेबालक

नदी तिमी किनार हो मिलनको
बगाएर शहर
बग्न दिनु हुन्न आँसुको भेल
तिमी उदगमदेखि नै निदाउनु पर्छ रात्रीमा
सूचना दिनु पर्छ तिम्रो आक्रोसको

अनियन्त्रित त मन मात्र हो
हुनु हुन्न मुहान अनियन्त्रित

प्रिय नदी
कसले दियो तिमीलाई
गाउँ पस्ने आदेश
अपराधी दस्ताको शैलीमा
मान्छेको अस्तित्व शेष पार्ने को हौ तिमी
तिमी त प्रेमिका हौ
बिना सहमति कसरी संयम गुमायौ र
बडार्यौ कैयौं खेत र खलियान

नदी !
भन तिमीलाई यतिबेला
के संझेर माया गर्नु
कुन मन्त्रले अभिमन्त्रण गर्नु
गर्नुसम्म गर्यौ तिमीले
विवशता बाहेक के नै छ र
विस्मात सिवाय अरु केनै रह्यो र बाकी
बिन्ती छ
प्रिय नदी
अब कहिल्यै नरुवाउनु मान्छेको मन ।

नदी अब नरुवाउ मान्छेको मन
ऋषभदेव घिमिरे
(सन्दर्भ: सिक्किमको बाढी)