मनहरी–३ बिजौना, मकवानपुर निवासी श्यामकुमार बाँनिया ज्ञानोदय बालवाटिका आवासीय मा.वि. हेटौँडा – ५ पिप्ले मकवानपुरका सञ्चालक रहेर पनि नेपाली साहित्यमा कविता, कथा, समालोचना , गीत लगायतका बिधामा सक्रिय रहनुभएको छ । उहाँका ‘प्रतीक्षा’ (खण्डकाव्य– २०५६ ), ‘अतृप्त खण्डहर’ (संयुक्त कवितासङ्ग्रह– २०६३), ‘अतीतको आँगनीमा’ (खण्डकाव्य– २०६३) लगायतका साहित्यिक पुस्तकहरू प्रकाशित रहेका छन् । उहाँले ‘बारुद’ (साहित्यिक त्रैमासिक), ‘पलाँस’ (साहित्यिक, त्रैमासिक), ‘अक्षय अक्षर’ (साहित्यिक, त्रैमासिक), ‘सौरभ’ (समसामयिक साहित्यिक सँगालो), ‘हेटौँडा टुडे’ राष्ट्रिय दैनिक, ‘बलिदान’ साप्ताहिक, ‘भूमध्यरेखा’ साप्ताहिक आदि साहित्यिक पत्रपत्रिका सम्पादन गर्नुभएको छ । उहाँ साहित्य सङ्गम मकवानपुर, सिस्नुपानी नेपाल, मृगतृष्णा साहित्य डबली, मकवानपुर, जनमत साहित्यिक पत्रिका काभ्रे आदि संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ उत्कृष्ट पत्र लेखन सम्मान, रेडियो नेपाल (२०५३), रेडियो नेपाल, रश्मि नवप्रतिभा प्रोत्साहन सम्मान, (२०५७), रौतहट, गजलश्री सम्मान (२०६३), गजल मञ्च मकवानपुर, नारायणी वाङ्गमय पुरस्कार (२०६३), नारायणी वाङ्गमय प्रतिष्ठान, भेषनाथ अधिकारी स्मृति सम्मान, साहित्य सङ्गम मकवानपुर आदिबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
आङमा घाम लाग्छ कहिले, भोको पेट भर्ने कहिले ?
कस्तो बन्छ नयाँ नेपाल सन्ततिले हेर्ने कहिले ?
कहिले खुल्छ इमान र स्वाभिमानको निलो आकाश
कहिले चल्छ फुर्फुरिँदै समृद्धिको मिठो बतास
स्वाभिमान र इमानको नौलो आकाश खुल्नुपर्छ
समृद्धिको मिठो बतास यै धर्तीमा डुल्नुपर्छ ।
मरुभूमि जस्तो ओठमा कहिले हाँसो फुल्छ होला
अभावको टारीखेतमा कहिले बाली झुल्छ होला
आशा तथा उत्साहको नौलो पाइला चाल्नुपर्यो
भोलि हैन आजै मिली काम गर्न थाल्नुपर्यो ।
श्यामकुमार बानियाँ,
मकवानपुर
