– मसान उपासक
गाजल नलगाएका आँखाहरू सुन्दर हुँदैनन्, कविहरू यसै भन्छन् । सायद उनी पनि गाजल नलगाएकी भए यति सुन्दरी देखिन्नथिन् कि ? मैले मनमनै गमेँ । पहिलो भेटमा सुन्दर युवतीसँगको यात्रा रमाइलै भयो । जब सँगैको सिटमा बसियो, तब हामी कुराकानीमा सक्रिय भयौँ ।
तपाईँको नाम ? — मन्दिरा
तपाईँको पुरा नाम ? — मन्दिरा चालिसे
तपाईँको शिक्षा ? —बाह्र कक्षा पढ्दै ।
मुख्य विषय ? — अङ्ग्रेजी ।
… … … आदि … … … आदि ।
उनी साहित्यलाई माया गर्ने मान्छे रहिछिन् । भन्थिन् —‘एउटा उपन्यास लेख्ने तयारीमा छु ।’ म उत्साहित भएँ । एउटा कविसँग अर्को कविको जम्काभेट, गफगाफ लम्बिँदै गयो ।
समयान्तर नहुनु पर्थ्यो — मेरो कामना ।
हरेक कुराको आफ्नै महत्त्व छ — उनको उत्तर ।
समय स्थिर रहन सक्नुपर्थ्यो — मेरो धारणा ।
समयसँगै हामी पनि स्थिर हुनुपर्थ्यो कि ?— उनको आशङ्का ।
म चुप रहेँ । उनी पनि बोलिनन् ।
सहर भनेको सहर हो — उनको लिँडेढिपी ।
सहर भनेको स्वार्थी बस्ती हो — मेरो तर्क ।
सहरमा मान्छेहरू स्वार्थी देखिन्छन् । यसको कारण आफ्नै होला । यहाँका मान्छेहरू टेलिफोन नम्बरमा अनुदित भैसके र पैसामा बिकिसके । समयान्तर नै यही हो कि ? देवकोटाका पालामा ल्हासामा सुन साट्न जान्थे । हाम्रा पालामा मदन साउदी र कतारमा रियाल साट्न जादैछन् । यही त हो नि फरकपन । तैपनि उनी यसलाई समयान्तर नै मान्दिनन् । म लिँडेढिपी प्रस्तुत गर्छु ।
तिमी फेरियौ र तिम्रो समय
आखिर घेरियौ र हरायो निर्भय
जसले सक्छ उसकै पक्षमा छ
नहुनेको बेहाल छ हुनेकै छ विजय ।
दुई सेर गजल सुनाएँ । यात्राले कहिलेसम्म निरन्तरता पाउँछ होला ? जीवन रहेसम्म कि मृत्यु रहेसम्म । म सोचमग्न रहेँ । उनी फेरि बोलिन् ।
जिन्दगी दुःख हो आँसु त्यसको साथी — उनको निरासा ।
जिन्दगी सुख हो र हाँसो त्यसको साथी — मेरो ढाडस ।
त्यस्तो हुन सक्दैन जब प्रेम नै छैन भने — गोप्यता भङ्ग ।
प्रेम त आफैँ हुन्छ । खोजी गर्नै पर्दैन — मेरो आग्रह ।
छुट्टिने समय पो आएछ । यात्राको समाप्तिपछि हामी फरक फरक बसमा चढ्यौँ । दुई विपरीत यात्राले मन खिन्न बनायो । हिँड्दा धेरैसँग आँखा जुध्छ र बोलचाल हुन्छ । ती सबैको लेखाजोखा राख्ने कुरा पनि भएन र राखिएन । हप्ता बितेर महिनाहरू बितेछन् । त्यो दिनको यात्रा बिर्सिएछ ।
एक दिन कलेज पुगेर फर्किएँ । एउटा भाइलाई भेटेँ । हतारिँदै गाडीतिर हान्निएँ । बस छुट्न थालेछ । चढेँ । एउटा बिचतिरको सिट खाली रैछ । गएर बसेँ । अर्धपरिचित झैँ लाग्ने एउटा तरुनी अनुहार मलाई हेरेर फिस्स हाँस्यो । म रुघाखोकीले ग्रस्त थिएँ । हल्का ज्वरो पनि थियो । सिटमा चुपचाप बसेँ जसरी अरु दिन बसिन्थ्यो । नरिवल बेच्न एउटा अधबैँसे केटो आयो । उनले दुई टुक्रा किनिन् । म चुपचाप बसेँ । नरिवल ! नरिवल ! त्यो केटो कराउँदै गयो । गाडीले गति लियो । एक टुक्रा नरिवल मतिर तेर्सियो । दोधारमा परेँ । म अक्मकिएको देखेर उनैले बताइन् कि उनी को हुन् ? म क्षमाप्रार्थी भएँ । स्वास्थ्य कमजोरीले यस्तो पारेको बताएँ । गफगाफ फेरि सुरु भो । प्रेम, जीवन र पढाइका कुराकानी भए । भन्दै थिइन् — उपन्यास लेख्न सुरु गरेँ । मैले शुभकामना दिएँ । उनले आफ्नो घर देखाइन् र आउने निम्तो पनि दिन भुलिनन् । हामीले फोन नम्बर साटासाट गर्यौँ ।
जिन्दगी यात्रा भए जस्तो
समयले जवानी लगे जस्तो
यस्तो पो लाग्छ अचेल
मन मुटु नै कसैसँग गए जस्तो ।
जादाजादैँ यो मुक्तक सुनाइन् । बसबाट ओर्लिइन् । प्रेमिल हात हल्लाइन् र ओझेल परिन् ।
यता घरमा एक्कासि बिहेको कुरा चल्यो । बाबाको सल्लाह थियो—
— छोरा मान्छे बिहे गर्न हच्कँदैन ।
— वंश जोगाउन बिहे गर्नुपर्छ ।
— बिहे गर्नु भनेको रीति जोगाउनु पनि त हो ।
— परिपक्व देखिन पनि बिहे गर्नुपर्छ ।
— तैँले कमाएको सँगालेर राख्ने मान्छे आउँछे ।
— यत्रो जिन्दगी एक्लै कटाउन सकिन्न बाबु !
आमा पनि बोल्दै थिइन्—
— मलाई सघाउने मान्छे आउँछे ।
— आमालाई कहिलेसम्म दुःख गर् भन्छस् ?
— सबैको जस्तो तेरो पनि बिहे हेर्ने रहर छ ।
— नातिनातिनाको पनि मुख देख्नुपर्यो नि ।
— यसो भान्सा, मेलापात गर्न सघाउली कि ?
साथीभाइको पनि आफ्नै मत थियो—
— बुढेसकाल लाग्यो होला नि हैन र ?
— बिहे गर्दा छि ! भन्ने केटीसँग चाँहि गर्नुहुन्न है ।
— हिम्मत गर्नुपर्छ । मौकामा त हो नि हिरा फोर्ने ।
— बुढेसकालमा छोराछोरी स्याहार्नु पर्ला है !
— बिहे त जवानी मै पो गर्नुपर्छ ।
मेरो विचार बेग्लै थियो—
— आफ्नो बिहे गर्दा आफैँले आफैँलाई हेर्नुपर्छ ।
— आफ्नो भविष्यको ख्याल गरेर मात्रै बिहे गर्नुपर्छ ।
— सकेसम्म कम खर्च गर्नुपर्छ ।
— सबै गुणले भरिपूर्ण केटीसँग बिहे गर्नुपर्छ ।
— बिहे जीवनमा एकपटक मात्र गर्नुपर्छ ।
— बिहे हतारमा गरेर फुर्सदमा पछुताउने गरी गर्नुहुन्न ।
आखिर सबै कुराको बारेमा सोची बिचारी बिहे गर्ने भइयो । बुबाले धेरै घर देखाए । साथीभाइले धेरैको नाम लिएर जिस्काए । जे होस्, आखिर बिहे गर्ने पक्कापक्की भो । त्यसपछिको एक दिन उनी न्युरोडको एक कुनामा उभिएकी भेटियो । हामी एउटा रेस्टुँरामा बसेर कुराकानी थाल्यौँ ।
— बिहेको बारेमा तिम्रो के धारणा छ ? — मेरो प्रश्न ।
— बिहे जीवनमा एकपटक गर्नैपर्छ । — उनको उत्तर ।
— सिद्धान्त वा विचार मात्र मिले पुग्छ कि पुग्दैन ? — मेरो जिज्ञासा ।
— दुबै मिल्नुपर्छ । अन्यथा राम्रो सम्बन्ध स्थापित हुन सक्दैन । — उनको सचेतना ।
यसरी लामो कुराकानी भयो । मैले बाध्यता बताएँ । हाम्रो जीन्दगी, सिद्धान्त र व्यवहारका बारेमा लामै छलफल भयो । अन्त्यमा एक अभ्यस्त जीवन छाडेर नयाँ बाटोको निर्णय गरी हामी छुट्टियौँ । साँझपख मात्र म घर फर्किएँ । हामीमा रहेको इच्छा, सङ्कोच, आलोकाँचोपना, योजनाहीनता हटाएर दुबैको इच्छा, आकाङ्छाका बारेमा खुलेर कुरा गरेकाले होला हामी नयाँ सम्झौतामा पुग्यौँ । जिन्दगीको नयाँ धारमा टेकेर हिँड्ने निर्णय पारित गरियो ।
घरमा सबै परिवार जम्मा भइसकेका रहेछन् । खानापछि कुरा सुरु भयो । सबैले क्रमैसँग राय व्यक्त गरेँ —
— शीलस्वभाव हेरेर बिहे गर्नुपर्छ ।
— केटी घरको काम गर्ने हुनुपर्छ ।
— पढेकी हुनुपर्छ । सके जागिर खाएकै होस् ।
— केटी परम्परागत हैन आधुनिक हुनुपर्छ ।
— केटी राम्रो कुलको हुनुपर्छ ।
— केटीको खानदान हाम्रै हैसियतको हुनुपर्छ ।
कस्तो केटी खोज्ने ? निर्णय नभई परिवारका सदस्यहरू हाई ! काढ्न थाले । म पनि सुत्न लुसुक्क कोठातिर लम्किएँ ।
बिहे भनेको महत्त्वपूर्ण काम हो । यस्तो काममा गल्ती गरे त्यसले जिन्दगीभरि रुवाउँछ । त्यसैले सबै परिवार, छरछिमेकी, आफन्तको पनि आफन्त बोलाएर बिहे गरिन्छ । एक साँझ बुबाले सोधे— बिहे यसै साल गर्नुपर्ने, के के कुरा खोजौँ ?
— लुगाकपडा
— गहना
— धानचामल
— जग्गेका सामाग्री
— बाजागाजा
म बोलिनँ । योभन्दा अघि बिहे भाको होस् न थाहा पाउनु !
बरु, आफ्नो सुझबुझ तेर्स्याएँ —
— कम खर्च गर्नुपर्छ ।
— खर्चै गर्नुहुन्न ।
— बिहेपछि खर्चले पोल्ला जोगिनुपर्छ ।
— त्यही ऋणले मुग्लान पस्नुको अर्थ हुन्न ।
— बिहे आफूले चाहेकोसँग गर्नुपर्छ ।
— साहित्यिक भए धेरै राम्रो होला नभए जनवादी गरम् ।
त्यसपछि बुबाले सम्झाउनुभयो । उहाँले निर्देशनात्मक प्रस्ताव राख्नुभयो —
— बिहेअघि धेरै विचार गर्नुपर्छ ।
— बिहेले जीवनलाई जीवन बनाउँछ ।
— संस्कारका लागि पनि खर्च गर्नुपर्छ, लोकलाज ढाक्नैपर्छ ।
— ऋण लागेर के भो त ? दिन नलागे भैगो नि त ।
— बिहे गर्नुअघि अग्रजसँग सल्लाह लिनुपर्छ ।
— हामी हुँदाहुँदै तैँले चिन्तै नगर् न ।
यहाँ सयौँको बिहे हुन्छ । म पनि कयौँको जन्त गएको छु । तर यति बोझ भए, कसले बिहे गर्थ्यो होला र ? यति धेरै रीतिथिति र संस्कारका कुरा पूरा गरेपछि त बिहे भैहाल्छ नि । तर यी सबै पुरा गर्न नै धौ धौ छ ।
हुन त बिहे गर्न उक्साउने भनेकै घरपरिवार हुन् । आफन्त हुन् । बाआमाको बुहारीको रहर,भाइबैनीको भाउजूको रहर, आफ्नो नि घरबारको रहर भएपछि त हो नि बिहे गर्न हौसिने । ओहो ! दाह्री त हलक्कै आइसकेछ । दाह्री नै त हो नि बैँसको सङ्केत । दाह्री फुल्नु नै त हो बैँस फुल्नु । बैँस फुलेपछि त बिहे गर्ने उमेर ढल्किन्छ । झस्किन्छु । ब्लेडले दाह्री खौरिन्छु । कति सोची मात्रै राख्ने ? म उनलाई फोन गर्छु । केही समय कुरा गर्छु । फोन राख्छु । यसरी जसले बिहे गर्न उक्साउँछन् उनीहरूलाई नै नबोलाई बिहे गर्नुको औचित्यमाथि प्रश्न चिह्न तेर्सिन्छ । म प्रश्नैप्रश्नमा रन्थनिन्छु ।
बिहानी भालेको डाँकसँगै म आफ्नो कोठाबाट बाहिरिन्छु । कोठामा एक्लै भएका कारण कसैले थाहा पाएनन् होला । अन्य परिवारका सदस्यहरू निद्रामै मस्त छन् । जिन्दगी कसरी बित्छ, थाहा छैन । तैपनि ससानो झोला लिएर झर्छु कलङ्की हुँदै थानकोटको ओरालो क्रमशः । साथमा हेर्छु मन्दिरा मेरै जिउमा अडेस लागेर निदाए झैँ छिन् ।
यसरी बिहे गरियो । बिनाजग्गे । बिनाजन्ती । बिनापुरेत । बिनापरम्परा । बिनाआफन्त । बिनापरिवार । बिनाछरछिमेकी । बिनासाहत्य । बिनाजनवाद । अझ भनुम् न बिनातयारी … … … ।
– मसान उपासक
बकैया –४, मकवानपुर
