उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन बसिरहिन्। आफूमाथिको यो बेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिबाय उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा तेर्स्याई निहुरिइरहिन्।
मैले उनलाई अभिवादन गरें र सोधें, “वहिनी, यो समाधि कसको हो ?”
“मेरो छोरो को ।” उनले अलिक रुखो शैलीमा जवाफ दिइन् ।
“के ऊ उमेरदार जवान थियो ?”
“होइन, वाह्र वर्षको थियो ।”
लामो निश्वास छाड्दै उनले आफ्नो कपाललाई निधारवाट हटाइन् । प्रचण्ड धूप वर्षिरहेकोले दिन अत्यन्त गर्मी थियो । मूर्दाहरुको त्यस नगरीका लासघरहरुमा पलाएका धेरथोर घाँसहरु पनि चर्को घाम र धूलोका कारण ओइलाएका देखिन्थे । समाधि स्थानको वरिपरि उभिएका धुलाम्य रुखहरु हलचलविहीन चुपचाप उभिएका थिए, मानौं उनीहरुलाई पनि मृत्युले आफ्नो शिकार बनाइसकेको होस् ।
केटाको समाधितर्फ टाउकोले इशारा गर्दै मैले सोधें, “उसको देहान्त भयो कसरी ?”
“घोडाका टापहरुले कुचल्नाले ।” शव्दहरु गन्दै र छान्दै उनले जवाफ फर्काइन् र लगत्तै समाधिलाई स्पर्श गर्न आफ्ना खस्रा हत्केलाहरु बढाइन् ।
“कसरी त्यस्तो हुनपुग्यो?” मलाई थाहा थियो मैले अभद्रता देखाइरहेंको थिएँ । तर उनको मौनता, एकाग्रता र बेवास्ताले मलाई उत्तेजित पारिरहेका थिए । मभित्र उनको आँखामा आँशु देख्न मिलोस् भन्ने सनक चढेको थियो । निश्चय पनि उनको उदासिनता अस्वभाविक थियो तर मलाई लागिरह्यो, उनी त्यसप्रति बिल्कुल अनभिज्ञ छिन् ।
मेरो सोधाइको कारण उनले आफ्ना आँखाहरु उठाइ एकसरो मलाई माथिदेखि तलसम्म हेरिन्, एकपटक लामो श्वास फेरिन र सानो स्वरमा आफ्नो कथा बताउन थालिन् ।
“घट्ना यसरी घट्यो । यसको बाबु आर्थिक हिनामिनाको कारण डेढ वर्षका लागि जेल चलान भएको थियो । यसविचमा हाम्रो सम्पूर्ण वचत पुँजी खर्च भैसकेकाले दैनिक गुजारा चलाउन सास्ती भइरहेको थियो । त्यो मान्छे जेल बसुञ्जेल हामी घाँस बालेर खाना पकाउँथ्यौं किनकि त्यहाँ पठाइनु अगाडि उसले एक गाडी घाँस ल्याएर छोडेको थियो, जसलाई मैले सुकाएकी थिएँ । घाँस बाल्दा एकदमै नमीठो धूँवा त निस्कन्थ्यो नै, त्यसले खानाको स्वाद समेत बिगारिदिन्थ्यो । यो मेरो छोरो, जसको नाम कोल्यूशा हो, ती दिनहरुमा पाठशाला जाने गर्थ्यो । पढाइमा ऊ निकै तेज थियो अनि मितव्ययी पनि । पाठशालावाट फर्कंदा उसले वरपर भेटिएका हाँगाविगा र दाउराहरु वटुली ल्याउँथ्यो । ठण्डीयाम पछि वसन्तमास हिउँ पग्लन सुरु गरिसक्दा समेत उसँग एकजोर पुरानो कमसल जुत्ता मात्रै थियो जसलाई उतार्दा चिसोका कारण उसको खुट्टा कठ्याङ्ग्रिएको र रातो भएको देख्न सकिन्थ्यो ।”
“हामी यति साह्रो विपन्न भएका थियौं कि उसको लागि एकजोर जुत्ता किन्न समेत नसक्ने हालतमा थियौं तर यस्तैमा एकदिन ती मानिसहरुले यसको बाबुलाई जेलबाट छोड्दै घरमा ल्याएर राखिदिए । जेलमा उसलाई मुटुको रोगले समाएको थियो । ऊ ओछ्यानमा पल्टियो र मलाई हेरिरह्यो । उसको अनुहारमा कुटील मुस्कुराहट थियो । मैले पनि उसलाई हेरें र मनमनै सोचें – तैंले नै मेरो यो हालत बनाइस् । अब मैले तेरो पेट कसरी भर्ने ? तलाईं फोहोर मिल्काइने ठाउँमा लगि मिल्क्याइदिउँ ! हो, म यही गर्न चाहन्छु ।”
“तर कोल्यूशाले उसलाई देख्दा भने प्रताडीत भावमा आँखाभरी आँशु पार्दै मलाई सोध्यो–आमा, उहाँको हालत किन यस्तो भएको ?”
“मैले भने–उहाँले आफ्नो जीवन बाँचिसक्नु भएको छ ।”
“त्यस दिनपश्चात हाम्रो हालत झनै बिग्रदै गयो । म दिनरात मिहिनेत गर्थें तर आफ्ना रगत सुकाउँदा पनि वीस कोपेकभन्दा ज्यादा जुट्दैनथ्यो । अभ, भनौँ, त्यत्ति पनि भाग्यमानी दिनहरुमा कमाउन सक्थें । यो हालत मृत्युभन्दा पनि खराब थियो र म प्रायः आफ्नो जीवन खत्तम गरिदिन चाहिरहन्थें ।”
“यो सवै देख्दा कोल्यूशा चिन्तित भई यतउता हिँड्दथ्यो । एकदिन जब मलाई लाग्यो कि यी सबै कुरा मेरो सहन शक्ति भन्दा बाहिरका हुन्, मैले भनें, ‘आगो लागोस् यो मेरो जिन्दगीमा । म किन मर्दिनँ ? या फेरि तिमीहरु मध्ये कसैको ज्यान किन जाँदैन ? ‘ निशन्देह मेरो इशारा कोल्यूशा र उसको रोगी बाबुप्रति लक्षित थियो ।”
“उसको बाबुले टाउको हल्लाउँदै केवल यत्ति भन्यो कि ऊ छिट्टै मर्नेछ । मात्रै केही दिनको धैर्यता आवश्यक हुनसक्छ । तर कोल्यूशाले भने लामो समयसम्म मेरो मुहारमा हेरिरह्यो र केहि क्षण पश्चात ऊ घरवाट बाहिर निस्कियो । ऊ बाहिर जानासाथ मलाई आफ्ना शव्दहरुप्रति ग्लानि हुन थालिसकेको थियो तर अब केहि सुध्रनेवाला भने थिएन, किनकि धनुवाट काँड छुटिसकेको थियो ।”
“त्यसको एक घण्टा पनि नबित्दै एक घोडसवार सिपाही आएर सोध्यो, ‘के तपाईं गौसपोजा शिशीनिना हो ? ‘ यो सुन्दा मेरो हृदय काम्यो । उसले अगाडि भन्यो – तिमीलाई अस्पतालमा बोलाइएको छ । व्यापारी एखोनिनको घोडाले तिम्रो छोरोलाई कुल्चेर घाइते वनायो ।”
“तुरुन्तै म गाडीमा चढी अस्पतालतर्फ हानिएँ । मलाई लागिरह्यो गाडीको सिटमा कसैले बलिरहेका राताराता कोइलाहरु बिछ्याएको छ । म आफैँलाई सराप्दै थिएँ–हे पापिनी, तैँले यो के गरिस् यस्तो !”
“अस्पतालमा कोल्यूशालाई बिछ्यौनामा राखिएको थियो र उसका शरीरभरी पट्टी बाँधिएका थिए । ऊ मलाई हेर्दै मुस्कुरायो तर उसका आँखाबाट आँशु वग्न थाले ।’ अति सानो आवाज निकाल्दै उसले भन्यो–आमा, मलाई माफ गर्नुस् । प्रहरीका मानिसहरुले मेरो पैसा लिएका छन् ।”
“तिमी कुन पैसाको कुरा गरिरहेछौ, कोल्यूशा ? – मैले सोधें ।”
“त्यो .., त्यो पैसा…, अरे जुन एखोनिन् र अरु मानिसहरुले मलाई दिएका थिए ।”
“उनीहरुले तिमीलाई पैसा किन दिए ? – मेरो प्रश्न । ”
“उसले भन्यो – यसकारण कि…”
“उसले विस्तारै कोल्टे फे¥यो । उसका आँखा ठूला हुँदै गईरहेको मैले देखें ।”
“कोल्यूशा”, मैले भनें, “यस्तो कसरी भयो कि घोडाहरू आईरहेको तिमीले देखेनौँ ?”
“उसले प्रष्टसँग भन्यो, – आमा, मैले घोडाहरू आइरहेको प्रष्टसँग देखेको थिएँ । तर मलाई लाग्यो, यदि घोडाहरूले मलाई कुल्चँदै दौडिए भने मैले अझै धेरै पैसा पाउनेछु । आखिर उनीहरुले दिए पनि ।”
“यी उसका शव्दहरू थिए । अब भने मैले सवै कुरा बुझीसकेकी थिएँ, सबै कुरा, त्यस भावुक दयालु केटोले यी सबै किन ग¥यो । उफ्, अब केहि पनि बद्लिनेवाला थिएन् ।”
“भोलिपल्ट विहानै ऊ मर्यो । अन्तिम श्वास लिँदासम्म पनि ऊ चेतनामै थियो र उसले पटक पटक भनिरह्यो, बुबाको लागि यो किनिदिनु, अनि आफ्नो लागि त्यो…, मानौं उसँग धेरै पैसा होउन् । र उसँग थिए पनि । यथार्थमा उसले आफ्नो जिवनसँग खेलेर सड्चालिस रुबल कमाएको थियो ।”
“म एखोनिनकोमा गएँ तर उसले केवल पाँच रुबल दिंदै चर्को स्वरमा गाली गर्दै भन्यो, ‘केटोले आफैलाई घोडाहरु बीच हुर्यायो जुन धेरै मानिसहरुले देखेका छन् । त्यसको बदलामा के तँ मसँग भीख माग्न आएकी ? ‘ म त्यहींबाट फर्कें तर कहिल्यै घर गइनँ । भाइ, यही हो मेरो कथा ।”
समाधिस्थलभर नमीठो सन्नाटा अनि मौनता छाएको थियो । कोल्यूशाको समाधि परिपरिका रोगी घाँस र रुखहरु, माटोका ढिस्का अनि समाधि छेउ बसिरहेकी चरम दुःखी नारी–यो परिवेशमा म मृत्यु र मानवीय दुःखबारे सोच्न थालें ।
तर आकाश सफा थियो र धर्तीउपर निरन्तर ताप र गर्मीको वर्षा गरिरहेको थियो ।
मैले आफ्नो खल्तीवाट केहि सिक्काहरु निकाल्दै उनीतर्फ बढाएँ, जो जिन्दगीले ठग्दा पनि जिवनसँग सिंघौरी गरिरहेकी थिइन् ।
उनले टाउको हल्लाउँदै रोकिइ रोकिइकन भनिन्, “भाइ, किन बेकार आफूलाई हैरानी दिलाउनुहुन्छ ? आजको लागि मेरो लागि जिउन मसँग पर्याप्त छ अनि मलाई अधिक पैसाको कुनै जरुरी हुँदैन । म यो संसारमा एक्ली छु, नितान्त एक्ली ।”
उनले एकपटक फेरि लामो श्वास लिइन अनि मुहारभर फिँजिएको बेदनाका रेखाहरू बीच आफ्ना पातला ओठहरु बन्द गरिन् ।
अनुवादक : देव ‘अञ्जान’ शाह
