- के कामले आउनु भयो हजुर बा ?
- नागरिकता बनाउन ।
- कसको ?
- आफ्नै ।
- बुढेसकालमा किन चाहियो र ?
- वृद्ध भत्ता खान ।
- खै ! जन्म दर्ता दिनुस्।
- वडाले दर्ता गर्नै मानेन ।
- किन ?
- आमाबाको विवाह दर्ता छैन रे ।
- दर्ता गराइदिनुस् न त ।
- त्यो पनि भएन ।
- किन ?
- नागरिकताबिना विवाह दर्ता नहुँदो रहेछ।
- नागतिकता लिएर जानुस् न त।
- छैन ।
- किन ?
- बा नागरिकता नबनाई मर्नुभएछ।
- बाको मृत्यु दर्ता त होला नि ?
- छैन ।
- किन छैन ?
- वडाले मृत्यु दर्ता गर्नै मानेन ।
- किन ?
- मेरा बाको मृत्यु हुनै सक्दैन रे।
- किन हुन सक्दैन रे त ?
- मेरा बाको पनि जन्म दर्ता छैन रे । वडा अध्यक्षले नजन्मिएको मान्छे मर्नै सक्दैन भन्नुभयो ।
- ओहो ! हजुरबा ! साह्रै गाह्रो पो भयो त ।
- उसो भए बन्दैन त हाकिम साब ।
- हेरौँ, कानुनले के भन्छ ? म प्रयास गर्छु । तपाईँ कोठा नम्बर १ मा जानुस् ।
[ टिनिनिनी : गोल्डेन जिरा, मिलाएर पकाउनुस् ] - हाकिम साबले पठाउनु भएको ।
- अँ मैले बुझेँ । ५०० रुपियाँ दस्तुर बुझाउनुस् ।
- लिनुस् सर ।
- ल ठिक छ अब २ नम्बर कोठामा जानुस् ।
- दस्तुर बुझाएको बिल पाइँदैन सर ।
- बिल त पाइन्थ्यो नि हजुर तर कसको नाममा काट्ने ? अहिलेसम्म तपाईँको बा पनि जन्मनुभएको छैन । तपाईँ बुढो मान्छे भनेर खुसुक्क सिफारिस गर्दिएको छु । चुपचाप गोजीमा राख्नुस् ।
[ टिनिनिनी : गोल्डेन जिरा] - १ नम्बर कोठाको सरले पठाउनुभएको ।
- ए मैले बुझेँ ।
- बा खोइ त ?
- पोहोर बित्नु भो ।
- अलिकति खर्च बढ्ने भो है ।
- भन्नाले ।
- सुन्नुस् :
बा जन्माएको ५००
बाको नागरिकता बनाएको ५००
बाको विवाह दर्ताको ५००
बाको मृत्यु दर्ताको ५००
ट्याक्कटुक्क मिलाउँदा रु ३००० - लिनुस् सर पैसो ।
- ल अब यो तपाईँको बाको जन्मदर्ता, नागरिकता, विवाह दर्ता अनि मृत्यु दर्ता ।
अब ३ नम्बर कोठामा जानुस् । - बिल पाइँदैन ?
- कसको नाममा दिने र हौ ? बा मरिसक्नुभयो, तपाईँ जन्मनु नै भएको छैन ।
[ टिनिनिनी : गोल्डेन जिरा ] - नमस्ते सर !
२ नम्बर कोठाको सरले पठाउनुभएको । - ए मैले बुझेँ, बा आमा दुवैलाई ल्याउनुपर्ने थियोे । कागजपत्र मात्रै ल्याउनुभएछ। हाकिम साबले मिलाएर गर्दिनू भन्नुभएको छ । एकैछिनलाई तपाईँको बा त मै बनिदिउँला। ऊ तिनी खरदारनी भाउजू अलिक महङ्गी छिन् खुसुक्क ५०० दिनुस् । अनि तिनी आमा, म बा बनेरै भए पनि तपाईँको जन्म दर्ता गराइदिउँला नि ।
- लौ न हजुर !
- ल बधाई छ तपाईँको जन्म दर्ता भयो ।अब कोठा नम्बर ५ मा जानुस् ।
[ टिनिनिनी : गोल्डेन जिरा, भात पाकिसक्यो।] - नमस्ते सर !
- बा आमाको नागतिकता र तपाईँको जन्म दर्ता ल्याउनुभयो त ?
- सबै कागजपत्र ल्याएको छु सर ।
- तल लेखा शाखामा गएर दस्तुर तिरेर आउनुस् । म तपाईँको नागरिकताको फाइल अगाडि बढाइदिन्छु ।
-नमस्कार वडा अध्यक्षज्यू ! - घरिघरि किन आको भन्या ? तपाईँको काम हुँदैन, कागज पत्र नै पुग्दैन ।
-अब सबै पुग्छ हजुर ! - कसरी ?
- आज :
बिहान ११ बजे बा जन्माएँ ।
१२ बजे बाले नागरिकता लिनु भो ।
२ बजे बाले विवाह गर्नु भो ।
२:४५ मा म जन्मेँ ।
२:३० मा बा फेरि मर्नु भो ।
३:३० मा मेरो नागरिकता बन्यो ।
र
५ नबज्दै यहाँ आइपुगेको छु । - ए ल ल मैले सबै बुझेँ । बस्दै गर्नुस् । तपाईंको वृद्ध भत्ता कार्ड बनाइहाल्न पठाउँछु । हाम्रो काम नै जनताको सेवा गर्ने न हो ।
- अध्यक्षज्यू ! सानो बिन्ती बिसाम् ।
- भन्नुस् न।
- बुढो ज्यान, धम्की उस्तै छ । ७५ पुगेँ, ज्योतिषीले ८० कट्दैन भनेका छ्न् । आको बेला मृत्यु दर्ता नि गरेर जाउँ कि भनेको । सरकारी काम साह्रै झन्झटिलो रहेछ । मलाई फ्याट्टै केही भैहालेमा छोरालाई किन दु:ख दिनु ?
- तपाईँ जिउँदै हुनुहुन्छ, मृत्यु दर्ता कसरी हुन्छ ?
- सित्तैमा गर्नु भन्या होइन क्यारे । दिनभरिमा प्रक्रिया बुझेर आएको छु । दस्तुर तिरिहाल्छु । मिलाईदिनुस् न हजुर ।बाचुन्जेल भोट पनि हालम्ला केरै ।
- अनि तपाईँ कति वर्षमा मर्ने त ?
- उमेरको त के ठेगान भो र ? तपैँहरूको सरकारी कागजले आजै जन्माएर आजै ७५ को बनायो ।
- ल बुढा ठ्याक्कै ८५ साल मङ्सिर ४ गते स्थानीय चुनाव सकिन्छ । अर्को पाँच वर्षसम्म तिमी बाँच्दैनौ होला । यसैले ८५ मङ्सिर ५ को मितिमा तिम्रो मृत्यु दर्ता गर्दिएँ । मर्नु नि फेरि, धोका दिने होइन ।
- बाँच्न नजानेकाले मर्दा के धोका दिनु र हजुर ।
- ए पख्नोस् त, कता हिँड्नुभएको ?
-काम सकियो क्यारे ! अब घर जान थालेको । - हतार नगर्नुस् न, कामै बाँकी नै छ ।
- अझै के बाँकी छ र अध्यक्षज्यू ?
- लु ! सरकारी डड्डाअनुसार तपाईँ आजसम्म जन्मिँदै नजन्मिई यत्रो वर्ष बाँच्नुभयो। तपाईँले राज्यलाई हर्जाना तिर्नुपर्छ ।
- कति जति लाग्ला हजुर ?
- तपाईँ आफ्नै मान्छे, धेरै किन लिनु ? त्यो कार्ड छोडेर जानुस्, वृद्धभत्ताको पहिलो किस्ताबाट तानतुन पारेर मिलाइदिउँला नि ।
एस. के. निधन, मकवानपुर ।
