मीनबहादुर विष्टबारे थाहा पाउनुअघि पढेको कविता हो – साला पहाडमें क्या है । उनी प्यूठानबाट राजधानी पसेका कवि हुन् भन्ने थाहा पाएपछि झन उनीप्रतिको चासो बढेको थियो । उनका अन्य केहि कविताहरु पढ्ने, सुन्ने मौका मिल्यो । कवि विष्टको कवित्वप्रति बजारमा सुनिने प्रतिक्रिया र टिप्पणीले उत्साह दिन्थ्यो – भनिन्थ्यो विष्ट, भूपी पछिका शक्तिशाली हस्ताक्षर हुन् ।
अहिले बजारमा ‘साला पहाडमें क्या है’ छ । मेरो हातमा छ र केहि दिनदेखि पढिरहेको छु । ६५ थान कविताले सिंगो नेपाली समाजलाई व्यक्त गर्दछ । देशको शिक्षा प्रणाली, राजनीतिक चरित्र, पहाडी जीवनशैलीका निरिह अभ्यास, खोक्रो राष्ट्रबादका विद्रुप चित्रहरु कविताले पारदर्शीरुपमा भन्छन् ।
मैले कविता लेखनलाई एक मुलायम आन्दोलन भन्ने गरेको छु । त्यसको पुष्टिका लागि म यो किताब अघि सार्नेछु । मलाई थाहा छैन, र भन्न सक्दैन के देश यति कुरुप छ ?
अब त एकैछिन भारी विसाउने हे की भरिया दाई
मरे नी नहुने
जति गरे नी नहुने
यो जिन्दगीलाई बिर्सेर एकैछिन
सुस्ताउने पो हो की भरिया दाई
भारी बिसाउने पो हो कि भरिया दाई
पहाडी जनजीवनको अन्तर्यभित्र कुरुप कथाहरु चलमल चलमल गर्छन् – साला पहाडमें क्या है । पहाडमा न पानी अडिन्छ, न जवानी । पहाडबाट झरेको पानी गाउँ फर्किन्छ कि फर्किदैन थाहा छैन, तर उर्जा लिएर पहाड छोडेको जवान फर्किन्छ सक्छ । तर ‘साला पहाडमें क्या है’ भन्ने दृष्टिकोण लिएर फर्किन्छ ।
लासहरुको सगरमाथा – मलाई सबै भन्दा हल्लाउने कविता बन्यो । यो एउटा क्ररता व्यक्त गर्ने कविता रहेछ । यो एउटा कठोरतालाई स्वीकार गर्न बाध्य पार्ने कविता रहेछ ।
र चुलिँदै चुलिँदै गइरहेछ लासहरुको हिमालय
मसानघाट जस्तो देश
लास रुँगेर बसिरहेछु तल उपत्यकामा
अब केहि क्षण हामी हिँड्नेछौ नरकको यात्रामा
सुतेका रौँ उठाउने कविताहरुले मान्छे उठाउछ कि उल्टो मार्छ त्यो पनि थाहा छैन । तर कतै हिम्मत दिने कविताहरु पनि छन् । स्वाबलम्बी जीवनको उद्घोष गर्छन् । बाँच्नका लागि आफै स्वास फेर्न सिकाउछन् ।
मलाई कसैको निगाह चाहिँदैन
निगाहस्वरुप कसैले ओरालिदिएको प्रभात चाहिँदैन
रात ढलेपछि आफै ओर्लिन्छ प्रभात
त्यो आफै ओर्लिने प्रभात भए मलाई पर्याप्त पुग्छ ।
(कवि: नवीन अभिलाषी ‘मौलामा बाँधिएको राँगो’, ‘एकात्म’ र ‘ईश्वरको अस्थिपञ्जर’ कृतिका कृतिकार हुनुहुन्छ ।)
