असोज २७ मकवानपुर । बालजागृति इङ्ग्लिस सेकेण्डरी स्कूल, हेटौँडा २ का विद्यार्थीले शनिबार विविध प्रदर्शनी गरेका छन् । पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान, वातावरण विषयका विषयगत प्रस्तुती गरेका हुन् । विद्यालय परिसरमा भएको प्रदर्शनीमा विद्यार्थीहरूले कूल १ सय ६२ स्टलमा विभिन्न विषयका विषयवस्तुका साथै परम्परागत खाद्य परिकार र पोषाक, नवीनतम प्रविधिको हाइड्रोपनिक्स, परम्परागत हातहतियार, बाजागाजा, दुना, टपरी, बत्ति कात्ने कला जस्ता जीवनोपयोगी सीप तथा कला सबैको नजरमा परेको थियो । प्रदर्शनीमा विद्यार्थीले सौर्य उर्जा र सिचाई जस्ता प्रविधिको प्रदर्शनी गरेका थिए । यस्तै अमेरिकी दूतावासको सहयोगमा अंग्रेजी भाषा अध्ययनसम्बन्धी स्टल पनि राखिएको थियो ।
विद्यालयका प्रिन्सीपल विनोद सुवेदीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको पनि आतिथ्य रहेको थियो । वडाध्यक्ष महर्जनले ड्रोन उडाएर र रिमोटबाट रोबोट चलाउँदै प्रदर्शनी उद्घाटन गर्नुभएको थियो । प्रदर्शनी अवलोकनका लागि विद्यार्थीहरूका अभिभावक, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बालजागृति स्कूलले विद्यार्थीमा अतिरिक्त सीप विकासका लागि विभिन्न कार्यहरू गर्दै आइरहेको छ । केही दिनअघि किताब प्रदर्शनी गरेको यस विद्यालयले बडा दसैंअघि एक सातादेखि विद्यार्थीमा अन्तर्निहित विभिन्न सिप र कला प्रस्तुतीको कार्यक्रम समेत गर्दै आएको छ । सोमबार एकल नृत्य कार्यक्रम आयोजना गरी विद्यार्थीलाई पर्व विदा दिने तयारी भइरहेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ ।