साझा प्रकाशनको धड्कन बिस्तारै बिस्तारै गुम्दैछ, यसलाई बचाइरहनु आवश्यक छ ।
स्थापनाको उद्देश्यः भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसहित साझा प्रकाशन स्थापना भएको हो ।
इतिहासः भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १९७० सालमा सरकारी स्तरबाट ‘गोरखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको थियो । पछि वि. सं. १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन २०१६ अन्तर्गत वि. सं. २०२१ मंसिर १७ गते साझा प्रकाशनको नाममा स्थापना भएको हो ।
यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र २ लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो ।
आर्थिक व्यवस्थापनः नेपाल सरकारको ६०% र साहित्यकार, पत्रकार, शिक्षासेवीहरूको ४०% शेयरका साथ खुलेको यस संस्थामा १ हजार ७ सयभन्दा बढी लेखक साहित्यकारको आबद्धता रही आएको छ । सरकारको करोडौं ऋण तिर्न नसकेको साझामा आर्थिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौतिका रूपमा रही आएको छ । सरकारी स्वामित्वका अधिकांश संस्थाहरू धराशायी बन्दै गइरहेकोमा चरम आर्थिक सङ्कटलाई टार्दै अघि बढ्नका लागि सरकारले क्याम्पस तहका पुस्तक छाप्ने व्यवस्थापन गराउनु आवश्यक रही आएको छ । साहित्यिक पुस्तक प्रकाशनलाई निरन्तरता दिनका लागि अहिल्यै यसलाई सरकारको अनुदानको खाँचो छ । त्यति मात्रै नभई लामो समयदेखि कर्मचारीको तलब व्यवस्थापन उचित तवरले भैरहेको छैन । कामका आधारमा कर्मचारीको आवश्यकताबारे पुनर्विचार गर्दै साझालाई स्वायत्त र बलियो संस्थाका रूपमा अघि बढाउन उपयुक्त आर्थिक नीति खाँचो भैसकेको छ ।
सम्पादन हुने कार्यः हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ ।
साझा प्रकाशनको स्थापना भएदेखि नै यसले साहित्यिक कृतिहरूको प्रकाशनका साथै विद्यालयस्तरका पाठ्यपुस्तकहरूको प्रकाशन, उत्पादन र वितरण गर्दै आएको थियो, तर २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तक प्रकाशन-उत्पादनकार्य साझा प्रकाशनले गर्न पाएन । यसपश्चात् विद्यालयस्तरका पाठ्यपुस्तकको निर्माण पाठ्यक्रम विकास केन्द्रले गर्दै आएका छन् भने साझा प्रकाशनले नेपाल अधिराज्यभरि पाठ्यपुस्तकको बिक्रीवितरण गर्दै आएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित प्राथमिक स्तरका पाठ्यपुस्तक साझा प्रकाशनले २०२४ सालदेखि अधिराज्यभरि बिक्रीवितरण गर्दै आएको हो ।
साझा प्रकाशनमा कवि, लेखक, साहित्यकार, कलाकारको बाहुल्य रहेको छ । साझा प्रकाशनले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कारको व्यवस्था गरेको छ ।
समस्या र चुनौतिः नेपाली साहित्यिक पत्रकारितामा गरिमा साहित्यिक मासिक पत्रिकाको उच्च स्थान रही आएको छ । यस पत्रिका २०३९ सालदेखि प्रकाशन गर्दै आइरहेकोमा आर्थिक सङ्कटका कारण २०७४ मा बन्द भएको थियो । यसले २०७९ देखि पुनः निरन्तरता पाएको छ ।
समय समयमा साझा प्रकाशनले गर्ने पुस्तक प्रदर्शनीमा यसले छापेका पूराना पुस्तकहरू पाठकमाझ पुग्ने गरेको छ । पूरानै मूल्यमा बिक्री गरिने हुनाले त्यसबाट आर्थिक रूपले ठूलो फाइदा नपुगेता पनि कबाडीमा बेच्नुभन्दा पाठकको हातसम्म पुग्नु अति आवश्यक हुन्छ भन्ने साझाको बुझाईप्रति जहिल्यै सकारात्मक हुन सकिन्छ । अर्कोतिर साझाका अधिकांश बिक्री केन्द्रहरू बन्द भैसकेका छन् । आर्थिक रूपले धङ्धङी बाँचिरहेको संस्थालाई बलियो बनाउनु आजको चुनौति रही आएको छ ।
यसको आवश्यकताः पुस्तक प्रकाशन र बिक्री वितरणमा प्रशस्त ख्याति कमाएको यस संस्था पछिल्लो पटक राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्दै गइरहेको छ । आर्थिक संकटकै कारण साझा प्रकाशनको देशभरिका शाखाहरु बन्द अवस्थामा पुगेका छन् । धेरै विक्री केन्द्रहरू बन्द भैसकेका छन् । यस्तै केन्द्रीय भवनहरू जीर्णावस्थामा पुगेका छन् । संकटापन्न अवस्थाले गर्दा आफैं बाँच्न धौ धौ परेको साझाले आफ्नो बिँडो थाम्न सकिरहेको छैन ।
निजी क्षेत्रका प्रकाशन गृहहरू नाफामुखि हुनु स्वभाविक नै रहेको छ । यस अवस्थामा साझा प्रकाशन सस्तो मूल्यमा पुस्तक प्रकाशन गर्ने संस्थाका रूपमा परिचित रहिरहनु पर्दछ । यसको टिकाउ अहिलेको सबैभन्दा ठूलो चुनौति रहिआएको पाइन्छ ।
आजकाल बजारमा कडा कभर राखिएका, पुस्तकका मूल विषयवस्तु छापिएका पानाको कूल मूल्यभन्दा आकर्षक ‘कलेवर’ को मूल्य बढी भएका पुस्तकहरू पाइन्छन् । ती पुस्तकहरू खरीद गर्ने रकमले सरकारी लगानी भएको, गुठी संस्थान, गैरनाफामुखि संस्थाहरूले प्रकाशन गर्ने पुस्तकको राम्रै संख्यामा खरीद गर्ने सकिने पाठकहरूको बुझाइ रही आएको पाइन्छ । यसैले यस्ता संस्थाका साथसाथै विश्व साहित्यलाई नेपाली जनमानसमा चिनाइरहने निजी, संस्थागत प्रकाशन गृहहरूसमेत सबैले टिक्ने वातावरण बनिरहनु पर्छ । यसका लागि सरकारले कागज, पुस्तक, प्रकाशन सामग्री आदिबारे लचिलो हुन आवश्यक देखिन्छ । यस्ता कार्य हुन सकेमा नेपाली भाषा, साहित्यको उत्थानमा अझ टेवा पुग्ने विश्वास गर्न सकिन्छ । यस्ता सरकार नियन्त्रित संस्थाहरूप्रति स्रष्टाहरूले आफ्ना पुस्तक प्रकाशनका लागि प्रयोग गरेर पाठकप्रति भरोसा र विश्वास कायम रहिरहन आवश्यक देखिन्छ । उचित व्यवस्थापन हुन सकेमा यस्ता संस्थाहरूले सयौं वर्षपछिसम्म सेवा प्रदान गरिरहने अनुमान गर्न सकिन्छ । गाइने
