कात्तिक १, चितवन ।
कवि गणेश श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहको गृह विमोचन गरिएको छ । बुधबार सम्पूर्ण किताबमा आयोजना गरिएको कार्यक्रममा कविहरू एलबी क्षेत्री, केदारनाथ खनाल, उदय अधिकारी, रमेश प्रभात र डाक्टर हेमनाथ घिमिरेले पुस्तक विमोचन गर्नु भएको हो ।
विमोचनपछि बोल्दै समीक्षक रमेश प्रभातले कवि गणेश श्रमण गतिशील व्यक्तित्व भएका लेखक भएको बताउनुभयो । `उनी गतिशील छन्, जस्तो लेख्छन्, त्यस्तै जीवनशैली बाँचेका छन् । ´ प्रभातले भन्नुभयो – `गाउँको परिवेशमा रमाउन जानेका कविले ‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रहमा गाउँको चित्रण गरेका छन् ।´
कविले कवितामार्फत विभिन्न बाहना बनाएर गाउँका मानिसहरू सहर पस्नेक्रम हिजोदेखि आजसम्म निरन्तर रहेको धारणा राखेको समीक्षक प्रभातले बताउनुभयो । `यसले गर्दा गाउँ रित्तो रित्तो भएको छ । यसरी रित्तो भएको गाउँमा विकास कसरी सम्भव हुन्छ ? भनेर कविले खोतल्ने काम गरेका छन् ।´, उहाँले भन्नुभयो ।
त्यसैगरी अर्का समीक्षक उदय अधिकारीले कवि गणेशका कविता सरल र स्पष्ट भएको धारणा राख्नुभयो । `समाज र राजनीतिको सरल चित्रण उनका कवितामा देख्न पाइन्छ । उनले कवितामार्फत यी कुरा प्रष्टरूपमा उल्लेख गरेका छन् ।´, अधिकारीले भन्नुभयो ।
त्यसैगरी कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गणेशका कवितामा समेटिएका विषयवस्तु फराकिलो रूपमा आएको बताउनुभयो । उहाँले गणेशका कविता काव्यिक मात्रै नभएर आख्यानका रूपमा पनि पढ्न सकिने बताउनुभयो । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले गणेशका कविता उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो । `कविले कवितामा मेहनत गरेका छन् । पाठकलाई वास्तविक कविताको स्वाद पस्किन कवि सफल देखिएका छन् ।´, थपलियाले भन्नुभयो ।
कार्यक्रमका सभापति सम्पूर्ण किताबका प्रमुख लेखराम सापकोटाले कवि गणेश श्रमणका कवितामा काव्यिक रस भएको बताउँदै कविता पारखीले यो सङ्ग्रह चाख दिएर पढ्नुका साथै उहाँका कविताहरूले राष्ट्रिय रूपमा चर्चा बटुल्ने पनि सापकोटाले अनुमान र शुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाली कविता र लघुकथाका क्षेत्रमा कृति प्रकाशित गरी लेखकका रूपमा दरिएका गणेश श्रमणको पहिलो प्रकाशित कृति ‘शब्दहरू अविराम यात्रामा’ हो । २०५७ सालमा प्रकाशित यो संयुक्तकवितासङ्ग्रहमा कवि गणेशसँगै सुरेन्द्र अस्तफल, नवराज ढुंगाना, प्रभा बराल, रमेश प्रभात, दीपकप्रसाद गौतम, लक्ष्मी ढकाल बास्तोला, गोपाल पौडेल, प्रकाश थापा र बुद्धिनाथ अधिकारीका पनि कविता छन् ।
त्यसपछि एकल कविताका कृतिहरू ‘शब्दक्रान्ति’ (२०६६) र ‘आगो लिएर गाउँ गाउँमा’ (२०८०) हुन् । त्यस्तै उनको लघुकथाको कृति ‘गुलियो काठमाडौँ’ (२०७५) प्रकाशित छ । फिनिक्स बुक्सले प्रकाशन गरेको उनको नयाँ पुस्तकको मूल्य ४००/- रुपैयाँ छ ।
कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई प्राध्यापक एवम् सञ्चारकर्मी गोविन्द रिमालले सहजीकरण गर्नु भएको थियो ।