युवा पुस्ताका कवि प्रचण्ड भाष्करको असामयिक निधन भएको छ । घाँटीको क्यान्सरसँग जुध्दै गरेका कञ्चनपुरका उदियमान कवि भाष्करले २९ वर्षको उमेरमा संसार त्याग गर्नु भएको हो ।
बैतडीमा जन्मिनु भएका उहाँले छोटा र शक्तिशाली कवितामार्फत् पहिचान बनाउनु भएको थियो । उहाँले दम्भको उचाईँ, नेपाली, जङ्गबहादुर, प्रे, शङ्का, चोर खल्ती लगायतका दर्जनौं फूटकर कविताहरू लेख्नु भएको छ । डोट्याली र नेपाली भाषाका साथसाथै हिन्दी भाषामा समेत कविता लेखन र वाचन गर्नुहुने उहाँको भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा घाँटीको क्यान्सरसँग जुध्दाजुध्दै शुक्रबार राती २:४० मा निधन भएको हो ।
नवसाहित्य डट कम परिवार मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजन, आफ्नाआफन्त र साहित्यप्रेमीहरूमा धैर्यधारणको कामना गर्दछौं ।
सम्झनामा उहाँका १३ शक्तिशाली कविताहरू प्रस्तुत गरेका छौं ।
१
उनी
°°°
व्याकरणले “उनी”लाई
कहिले आदर गर्यो
कहिले तृतीय पुरुषसँग जोड्यो
र दिँदै हिँड्यो सर्वनामको उपमा
प्रेममा परेर व्याकरण बिर्सेको “मैले”
“उनी”लाई सदैव विशेषणको रूपमा मात्र देखेँ ।
२
चुनाव
°°°
मान्छे घर,जग्गा बेच्दा
बडो सचेत भएर लगाउँछ
कागजातमा दायाँ बायाँ औँठाछाप
तर, उही मान्छे दायाँ बायाँ केही नसोची
बेचिदिन्छ एउटै औँठोमा आफ्नो स्वतन्त्रता ।
३
परिस्थिति
°°°
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि प्रचण्ड भाष्कर
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको ।
४
प्राथमिकता
°°°
डाँफेको खोजीमा
निस्केको हिमाल
अल्झियो सरकारको नृत्यमा !
५
नियत
°°°
बाँध्न छोडेर
देशको घाउमा पट्टी
सरकार बाँधीरहेछ
पट्टी देशको आँखामा !
६
गल्ती
°°°
हिजो सम्म त्यागेर गुलियो
जो बाँचिरहेथ्यो मधुमेहबाट
त्यही मान्छे मरिरहेछ आज
चाखेर नेताको मिठो जिब्रो !
७
जिज्ञासा
°°°
सरकारसँग छैनन्
जनताका प्रश्नका उत्तरहरू
जनतासँग छैनन्
सरकारका उत्तरका प्रश्नहरू
मेरो देश अब कसरी उत्तीर्ण होला ?!
८
प्रवृति
°°°
हिजो जसले बेचे
मदिराको लागि बुढी औँला
तिनी आज लेखिरहेछन्
बचेका औँलाले दानापानी ।
९
परिस्थिति
°°°
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि हो
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको ।
१०
शङ्का
°°°
कतै नभएर पनि
हुनु भन्दा
खतरनाक हुँदोरहेछ
कतै भएर पनि नहुनु
यतिबेला म खतरामा छु ।
११
गुनासो
°°°
एउटा छोरो जो कहिल्यै
शहरबाट गाउँ फर्केन
एउटा छोरो जो कहिल्यै
गाउँबाट शहर छिरेन
खै किन हो बुवा दुवैसँग रिसाएका छन् ?!
१२
जिम्मेवारी
°°°
बुवाले सिकाइरहे
व्रतको महत्व
आमाले सिकाइरहनुभयो
खानाको माहात्म्य ।
१३
डर
°°°
निषेध गरेको छु
आफूलाई
मायाको जङ्गलमा पस्न
आफ्नो जलिरहेको हृदय बोकेर ।
°°°
