बाह्रखरी उत्कृष्ट कथा २०७९ भित्र एउटा कथा छ- ‘विरुपाक्ष’ । जुन कथा जनक कार्कीले लेख्नु भएको हो । यस कथामा विशेषगरी बलात्कार र त्यसबाट सिर्जित आत्महत्यालाई मुख्य विषय बनाइएको छ । बलात्कार भन्नेबित्तिकै कुनै नारीको इच्छा विपरित जबर्जस्ति गर्नु हो । जहाँ इच्छा विपरित र जबर्जस्ति हुन्छ, त्यहाँ एउटा पक्ष आफ्नो स्वार्थ सिद्ध हुँदा खुशी त होला । तर अर्को पक्ष भने पीडाले जलिरहेको हुन्छ । दु:खले दुखिरहेको हुन्छ। आर्तनादले छट्पटिरहेको हुन्छ ।
यस कथामा श्रीमानद्वारा बलात्कृत नारीको कथा छ । आठ वर्षकी अबोध बालिकालाई पापीहरुले पिएको पीडा छ। हजुरबुबाद्वारा बलात्कार हुन पुगेकी चेलीको चीत्कार छ । मोडल, वृद्ध रोगी महिला र बोल्न नसक्ने नारीको रोदन छ। परिवेश फरक-फरक छ । जात फरक-फरक छ। धर्म फरक-फरक छ। दुखाउँने पात्रहरु फरक-फरक छ्न् । तर दुख्नेहरुको दुखाई एउटै छ । जसलाई एउटै छट्पटाई छ । जलाई, छट्पटाई र दुखाई एउटै हुनेहरुको भावना मिल्छ । मन मिल्छ । बिचार मिल्छ । उनीहरुको नि भावना, मन र बिचार मिलेको छ र एउटै समुहमा छ्न् । वैतरणी नदी किनारमा उभिएका छन् । (बलात्कारका कारण उनीहरुको मृत्यु भैसकेको हुन्छ ।) प्रेतआत्मा उनीहरुलाई वैतरणी नदी पार गर्नुपर्ने बताउँछ ।
जहाँ पानी होइन, आगो बगेको हुन्छ । (असल कर्म गर्नेहरुले सिधै स्वर्गमा जान पाउँछन् भने पापीहरुले त्यो नदीमा पौडिनुपर्ने हुन्छ ।) तर उनीहरु मान्दैनन् । अरुको पापको सजाय हामीले किन भोग्ने ? उनीहरुको अडान छ र चित्रगुप्तलाई भेटेर आफ्ना कुराहरु सुनाउँन पाउँनुपर्ने माग छ । प्रेतआत्मा बारबार जिद्दी गर्छ । गरुड आउँछ कर गर्छ । तर उनीहरु आफ्नो अडानबाट टसमस हुँदैनन् । अन्तत: प्रेतआत्माले हार खान्छ र डुङ्गामा राखेर नौका बिहार गराउँछ ।
त्यहि यात्राको क्रममा उनीहरुले देख्छ्न्, धर्मगुरु छट्पटाइरहेको । शिक्षकलाई अखाद्य पदार्थ खुवाएइरहेको । नेता,अभिनेता र व्यापारीलाई तेलमा हालेर डिप फ्राई गरिरहेको । भन्नुको मतलब समाजका गन्यमान्य व्यक्ती र धर्मगुरुले पनि अदृश्य रुपमा पाप गरिरहेका छ्न् । अनैतिक कर्म गरिरहेका छ्न् । नकाम गरिरहेका छन् । मनमा पाप बोकेर बाहिर राम्रो बनेर समाजका आँखामा छारो हाल्न सफल भएपनी त्यहाँ त्यो छुट हुन्न भन्ने हो । अन्तत महिलाहरुको समुहलाई चित्रगुप्तको सचिवालयमा पुर्याइन्छ । त्यहाँ सभाको चाँजोपाँजो मिलाइन्छ। स्वर्गका अप्सराहरुलाई पनि बोलाइन्छ। मर्त्यलोकबाट अकालमै मरेर त्यहाँ पुगेका नारीहरुको कुरा पालैपालो सुनिन्छ । कारण फरक भएपनी पीडा एउटै हुन्छ। त्यसपछी महिलाहरुको सभा भएकाले स्वर्गका अप्सराहरुको प्रतिनिधित्व गर्दै रम्भालाई बोल्न भनिन्छ। रम्भाको बोलीपश्चात् यो थाहा हुन्छ कि नारी स्वर्गका हुन् या मर्त्यलोककी जहाँकी भएपनी एक जोर स्त्री अङ्ग भएकै कारण यौन हिंसामा पर्दा रहेछ्न् । सभा निष्कर्षमा पुग्छ, स्वर्गको संविधान फेर्ने । नारीमैत्री संविधान बनाउँने । विनाअपराध अकालमा ज्यान गुमाउँन बाध्य भएकालाई मर्त्यलोकमै फिर्ता पठाएर पापिष्ट बलात्कारीहरुको विरुद्ध न्यायको लडाइँ लड्न आग्रह गर्ने ।
यतिमै कथा सकिएको छैन । त्यसपछी शिव, विष्णु र कामदेवको वार्तालाप भएको छ । मर्त्यलोकमा अत्यधिक अत्याचार, शोषण, दमन र कामवासना बढ्दै गएकोमा शिव चिन्तित भएका छ्न् । कामदेव मान्छेहरु आफ्नो नियन्त्रणभन्दा बाहिर गएकोमा लाचारी प्रकट गर्छन् । यी सबै नियन्त्रणको लागि विष्णुले कल्की अवतारको सुरुवात गर्छन् । जुनजुन अवतार आए ती सबैमा पुरुष नै प्रमुख भएर आए । तर कल्की अवतारमा भने महिलालाई ल्याइएको छ। भन्नुको मतलब महिलाको समस्या, पीडा र दुखाईलाई जति नजिकवाट महिलाले बुझ्न सक्छ्न्, पुरुषले त्यति बुझ्न सक्दैनन् भन्ने हो ।
कथाको अन्त्यमा बलात्कार भएर झुन्डिएर मर्न लागेकी एउटी युवतीको प्रसँग छ । जो झुन्डिनै लागेकी हुन्छे । ठिक त्यही बेला अगाडि एउटा सुन्दर फूल फुलिरहेको देख्छे । त्यो फूलबाट एउटा अनौठो किसिमको सुगन्ध आउँछ । जसको सुगन्धले ऊभित्र सकारात्मक उर्जा सिर्जना गर्छ । र ऊ विर्य लत्पतिएको पछ्यौरीमाथि फूल राखेर मनमा एउटा प्रतिज्ञा बोकेर फर्किन्छे । त्यो प्रतिज्ञा हुन्छ, मरेर बलात्कारी पापीहरुलाई उन्मुक्ति दिने होइन । बाँचेर सजायको कठघरामा उभ्याउँने हो ।
कथाकारले युवतीलाई फूलसँग तुलना गर्नुभएको छ । फूल र नारी उस्तै उस्तै हुन् । फूलको सुन्दरता हेर्ने हो । फूल टिप्ने होइन । च्यात्ने होइन । नास्ने होइन । मास्ने होइन । त्यसैगरी नारीलाई गिद्दे नजर लगाउँने होइन । लुछ्न खोज्ने होइन । चुस्न खोज्ने होइन । नारीलाई त माया गर्ने हो । प्रेम गर्ने हो। आदर गर्ने हो । सम्मान गर्ने हो ।
कथाको एक प्रसँगमा कालीकामाताले भनेकी छ्न्- “सामाजिक मर्यादाका लागि मौन बस्नु नै अपराधलाई मलजल गर्नु हो।” यस कथा र कथाकारले भन्न खोजेको मुख्य कुरा पनि विनागल्ती, विनाअपराध बलात्कारका कारण अकालमै ज्यान फाल्ने होइन। त्यस्ता कुरुप र विकृत मानसिकता बोकेका मान्छेहरुका विरुद्ध आवाज बुलन्द पार्दै दोषीलाई कानुनी कठघरामा उभ्याएर सभ्य र सु-संस्कृत समाजको निर्माण गर्ने हो ।
यो कथा यथार्थको धरातलमा टेकेर स्वैर कल्पनाको उडान भरेको जस्तो पनि लाग्न सक्छ कताकती । तर कथाकारको उच्च कल्पनाशीलता, समसामयिक विषयको उठान, सरल भाषाशैली, छोटा वाक्य गठन र सलल बगेको कथा गज्जब लाग्छ ।
– रविन्द्र बुढाथोकी, रामेछाप । (budhathokirabindra0@gmail.com)
