एउटा नीलो ट्रक गुड्दै आएर मिलान सहरको लोरेला चोकमा रोकियो । ट्रकबाट सर्वशक्तिमान तानाशाह मुसोलिनी सहितका १६ वटा लाशहरु झिकेर चोकमा मिल्काए । यो त्यही चोक थियो जहाँ ८ महिनाअघि उसले आफ्ना १५ जना विरोधीहरुको लाश यसैगरी मिल्काउन लगाएको थियो ।
हजारौं नागरिकहरू खुशी र उत्तेजनाले कराउँदै चोकमा उफ्रिरहेका थिए । एउटी महिलाले मृत मुसोलिनीको शवमा पिसाब फेरिदिई । एउटा पुरुषले मरेको मुसो ल्याएर शवको मुखमा हालिदिंदै भन्यो, “लौ भाषण दे, अब यो मुखबाट !”
असीम घृणाले बौलाएका थिए नागरिकहरु । उनीहरूले लाशलाई उँधोमुन्टो पारेर झुण्ड्याइदिए । मृत मुसोलिनीको अनुहार रगतले लतपतिएको थियो र आँखाको छेउमा गोली लागेको प्वाल देखिन्थ्यो । दोपहरको २ बजेतिर अमेरिकी सैनिकहरु आए, उनीहरूले लाशहरु उठाए अनि नजिकैको चिहानमा लगेर दफनाइदिए ।
मुसोलिनी फासीवादको जनक थियो । फासी अर्थात् फर्सा (बञ्चरो) प्राचीन रोमनको पवित्र हतियार थियो भने मुसोलिनीका दुईवटा शक्तिशाली हतियार थिए, कन्सेन्ट र फोर्स ।
कन्सेन्ट अर्थात् सहमति । भाषण सुनेर जनताले लिडरप्रति कन्सेन्ट दिन्छन् । देशभक्ति, राष्ट्रवाद, प्राचीन गौरवजस्ता भाषण सुनाएर पोलिटिकल लिडरले जनतालाई समाजमा एकअर्काप्रति घृणा, छिमेकी देशप्रति घृणा, कुनै खास तह र तप्काका मान्छेसँग घृणा, कुनै धर्म संस्कृतिप्रति घृणा गर्न सिकाउँछ ।
कालो धन थुपार्ने भ्रष्टहरु, नाफाखोरी गर्ने ब्यापारीहरु, काम ठग्ने मजदुरहरु, देशका बोझजस्ता कमजोर मान्छेहरू सबैसँग घृणा, चारैतिर घृणा ।
घृणा बढेर खपिनसक्नु बन्छ । जनताले घृणित पात्रलाई सजायको माग गर्न थाल्छन् । आफूले घृणा गर्ने मान्छेले पीडा पाउँदा मान्छे प्रसन्न हुन थाल्छ । यसरी घृणा र बदलाको भाव बढ्दै गएपछि फासिज्म मौलाउँछ । अन्धभक्तहरुको भीडको समर्थन पाएर फासीवाद अझ उग्र बन्छ । यसका समर्थक अझ बढ्दै जान थाल्छन् । समाजका हर तह र तप्कामा फासिस्टहरु हाबी हुन्छन् । त्यसपछि सुरु हुन्छ, फोर्स ।
फोर्सले विरोधी आबाज कुल्चन्छ । भाडाका गुण्डा र पुलिसको बर्बरता आरम्भ हुन्छ । समाजमा दुई थरी मान्छे मात्रै बाँकी रहन्छन्, आतंककारी र आतंकित ।
समयको साथसाथै आतंककारी र आतंकित फेरिन्छन् । हिंजो आतंकित हुने समूहको आज आतंककारी बन्छ । उसले पनि आफू शक्तिशाली बनेपछि फासीवाद नै अपनाउँछ । मुलुकमा चेन्ज केही हुँदैन केबल पालो फेरिन्छ । हिंजोको फासिस्टको अन्त्य हुन्छ र अर्को फासिस्टले शासन सत्ता हत्याउँछ ।
मुसोलिनीले २२ वर्ष राज गर्‍यो । सबैले उसको जयजयकार गर्थे । फासीवादको समर्थनमा थुप्रै बलिदान भए । यतिका वर्षसम्म जनताले गरेको कष्ट, त्याग, बलिदान आखिर यत्तिकै खेर गयो । जाति, धर्म र इतिहासको फोकटिया गौरबगाथाले बेकारमा पिंढीको नाश मात्रै गर्‍यो ।
सन् १९४८ मा इटलीमा चुनाव भयो । त्यसमा फासिस्ट पार्टीले केबल २% भोट पायो । पार्टी समाप्त भयो । त्यसका समर्थक र पदाधिकारी लुकेर बसे ।
इटलीमा फासिज्म समाप्त भए पनि संसारका कतिपय मुलुकमा आज पनि छ । फासिज्मको पिता मुसोलिनी मर्‍यो तर फासीवाद मरेको छैन ।
उसको कन्सेन्ट र फोर्स ज्युँदै छ ।
हाम्रो समाजमा हेरुँ, अझै पनि मानिसहरू भीडको समर्थन गर्दछन् । ट्रोल गर्ने प्रथा अझै बढिरहेको छ । समाजमा भाडाका गुण्डाको बिगबिगी छ । शक्तिशालीको अन्धभक्त बन्ने परम्पराले प्रस्रय पाएको छ ।
मान्छेको मनमा घृणाको रक्तबीज जिउँदै छ । मान्छेको घृणामा फासिज्म जिउँदै छ । हाम्रो समाज वरिपरिको घृणाले फासिज्म अझै संगठित हुन थालेको छ । यस्तो अवस्थामा फाइदा उठाउने फासीवादीहरु हाम्रो छेउमा, यहाँको मिडियामा, शासन सत्तामा जीवित छन् । इटलीमा मरे पनि हामीकहाँ मुसोलिनी जिउँदै छ ।
वत्सराज कोइराला, नवलपुर