कार्तिक १२ आइतबार,
मकवानपुर । लेखक श्रीराम पाण्डेको नवीन पुस्तक ‘बन्दीगृहमा समय’ बजारमा आइपुगेको छ । २०७१ सालमा लेखिएका कविताहरू सङ्ग्रहित यस यस पुस्तकमा कूल ४९ कविताहरू समावेश भएका छन् । रु. ३३३ मूल्य रहेको पुस्तक सुमित्रा पाण्डेद्वारा प्रकाशन गरिएको लेखकले जानकारी दिनु भएको छ ।
कविता, कथा, समीक्षा लेखनमा सक्रिय उहाँले लामो समय शिक्षण पेशामा बिताउनु भएको छ । यसअघि ‘मातृस्मरण’ (शोकस्मृतिकाव्य, २०७६) र ‘दोछायाँ’ (संस्मरणहरू, २०७८) पुस्तकहरू पाठकमाझ ल्याउनु भएको छ । पाठकको सहजताका लागि यस पुस्तक किताबघर, हेटौँडामा आइसकेको सञ्चालक छवि अनित्यले बताउनुभयो ।
पाण्डे तथा उहाँको रचना बारे साहित्य सर्जक पोल्लास सिन्धुलीय लेख्नुहुन्छ- ५ दशक साहित्यिक लेखनमा यथेष्ट श्रम-पसिना बगाउने कुनै अब्बल कोटिको स्रष्टाको साहित्यिक हैसियत यतिबेला के हुनुपर्ने हो ? बहुज्ञ सर्जक श्रीराम पाण्डेलाई नजिकबाट नियाल्ने हो भने यसको आमजबाफ बिलकुलै फरक देखा पर्छ । झारेझुरे नै लेखे पनि यति लामो समय निरन्तर साहित्यमा समर्पित जुनसुकै स्रष्टाको नाम सहजै वरिष्ठको हारमा देखिन्छ भने यो नाम किन सीमित घेराभित्र बन्दी हुँदै आयो ?”