मकवानपुर जिल्लाको टेकर सिस्नेरीमा (२०१५ साल) जन्मिनु भएका गोविन्द गिरी प्रेरणा हेटौंडाबाट काठमाडौं हुँदै हाल अमेरिका निवासी हुनुहुन्छ ।
साँढे चार दशकदेखि प्रकाशनका काम गर्दै आइरहनु भएका बहुविधाका स्रष्टा गिरीका आधा दर्जन बढी कथा सङ्ग्रह, उत्तिकै संख्यामा उपन्यास र कविता संग्रह प्रकाशन भैसकेको छ । समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा तथा हास्यव्यङ्ग्य संग्रहहरू समेत प्रकाशन गर्नु भएका उहाँले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार आदि प्राप्त गरिसक्नु भएको छ ।
सुरूवातीमा उहाँले हेटौंडा छँदै सयौं पुस्तक पढिसक्नु भएका उहाँले फुटकर रचनाहरूबाट आफ्नो साहित्य लेखन यात्रा आरम्भ गर्नुभयो । काठमाडौं पुगेपछि त्यहाँको साहित्यिक माहौलले यथेष्ट रचनाहरू गर्नु भएको बताउनु हुन्छ । काठमाडौं रहँदा नै उहाँको पहिलो रचना ‘किनारा’ (२०३४) बाट सुरू हुँदै थुप्रै कथा, कविता र गीतहरू हामीमाझ आइसकेको छ ।
गायक कुमार सानु, शिशिर योगी, अन्जु पन्त, स्वरूपराज आचार्य आदिको स्वरमा रहेको गोविन्द गिरी प्रेरणाले लेख्नु भएको ‘एउटा गुनासो’ र ‘फूलमाथि शीतको थोपा’ एल्बमका गीतहरू निम्नानुसार छन्ः* एउटा गुनासो
* नौ डाँडा काटेपछि
* नजानु थियो गई गयौ
* आफैंलाई हराएर
* तिमीलाई सम्झिँदै
* फूलमाथि शितको थोपा
* तिम्रो ओठको पानामा मैले
* एउटै मन छ एउटै छ मुटु
* फेरि एउटा आँधी आई
* कैयौं रहर यस्ता हुन्छन्
* हल्का हावा चल्दा पनि
* लुटिएको छु म आफैंबाट
* झुल्के घाममा होस् कि
उहाँका विभिन्न कविता सङ्ग्रहका केही चर्चित कविताहरू निम्नानुसार रहेका छन्ः
* बत्ति निभेको साँझ
* फूलहरू केही त बोल
* राजमार्गका सुन्दरीहरू
* फर्किहाल्छु देश
* घाउहरूको मौन जुलुस
* प्रेमपत्र
कथा, उपन्यास, निबन्ध, कविता लेखनका साथै पत्रपत्रिका सम्पादन र प्रकाशनमा सक्रिय उहाँले ‘उत्खनन’, ‘लिभिङ टुगेदर’, ‘अन्तिम खाडल’, ‘गन्तव्य गणबहाल’, ‘छड्के तिलहरी’, ‘गुडबाई अमेरिका’, ‘दुई दशकका चिन्तनहरू’, ‘अन्तराल’, ‘घोराही शून्य किलोमिटर’, ‘टुप्लुक्क टोकियो’, ‘यात्रा अनन्त’ लेख्नु भएको छ । पहिलो मदन पुरस्कार विजेता पारिजातका बारेमा व्यापक अध्ययन गरी पारिजातसँगको व्यक्तिगत भेटदेखि अन्तरङ्ग विषय समेत अध्ययन गरी तिनै विषयवस्तु उल्लेखित हालसालै ‘सुश्री पारिजात’ पुस्तक उहाँको नवीन कृति हो ।
नेपाली, अंग्रेजी, हिन्दी, उर्दु र जापानी भाषामा दख्खल उहाँ विश्वपरिक्रमा साहित्यिक अनलाइनको प्रधान सम्पादक हुनुहुन्छ । जीवनका अधिकांश समय लेखनमा सक्रिय उहाँले झण्डै दुई दशकदेखि अमेरिका बस्दाको समयमा १० वर्ष छापा तथा अनलाइन साहित्यमा सम्पादन तथा प्रकाशनमा समय बिताउनु भएको छ ।
नवसाहित्य अनलाइन उहाँको सक्रिय लेखन जीवनको कामना गर्दछौं ।
