कार्तिक ३०, बिहीबार
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले साहित्यकार गोविन्द गिरी प्रेरणाका एकल कविता वाचन सम्पन्न गरेको छ ।
मकवानपुरको टेकर, सिस्नेरीमा जन्मिई हेटौंडामा स्कुले जीवन बिताउनु भएका उहाँ काठमाडौं हुँदै हाल अमेरिका निवासी हुनुहुन्छ ।
साँढे चार दशकदेखि प्रकाशनका काम गर्दै आइरहनु भएका बहुविधाका स्रष्टा गिरीका आधा दर्जन बढी कथा सङ्ग्रह, उत्तिकै संख्यामा उपन्यास र कविता संग्रह प्रकाशन भैसकेको छ ।
स्वागतका क्रममा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले उहाँको व्यक्तिगत परिचयका साथै समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा तथा हास्यव्यङ्ग्य संग्रहहरू समेत प्रकाशन गर्नु भएका गिरीले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार आदि प्राप्त गरिसक्नु भएको बताउनु भयो ।
यस्तै सङ्गम अध्यक्ष डीबी बर्तौलाले साहित्यकार गिरीलाई मकवानपुरमा एकल वाचनका क्रममा सुन्न पाउँदा गर्व लागेको बताउनु भयो ।


साहित्यकार गिरीले हेटौंडा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा धेरै रचनाहरू सिर्जनाको अवसर मिलेको बताउनु भयो । कार्यक्रममा उहाँले विभिन्न देशमा रहँदा लेखिएका आमा, छुटेको रेल, फिर्ति टिकटविना लगायतका १० कविताहरू वाचन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विभिन्न देशमा रहेर कविता लेखिरहनु भएका गिरीले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिनु भएको बताउनु भयो ।
कार्यक्रममा साहित्य सर्जकहरू तथा साहित्यसेवीहरू प्रशन्ना चौलागाईँ, रियाज कार्की राजकुमार लामिछाने, देवराज खरेल, सुवास सजल, देव दुलाल, मुक्तिगोविन्द वैद्य, किशन पौडेल, रमेशमोहन अधिकारी, समर्पण न्यौपाने, दीपक गौतम लगायतको उपस्थिति रहेको थियो ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित कार्यक्रमलाई संस्थाका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।