स्कुल पढ्दा…. ए स्कुल हैन हैन विद्यालय पढ्दाको कुरा हो । लास्ट बेञ्च… ए हैन हैन अन्तिम बेञ्चको कुरा पो हो । जेहोस् अन्तिम बेञ्चमा बस्न होडबाजी नै हुन्थ्यो । बेञ्चलाई मेच वा टाँड भनौँ त ? आ भो नभनौँ । जेहोस् तपाईँलाई पनि अन्तिम बेञ्चमा बस्दा यस्तै हुन्थ्यो ?
त्यही समयका केही रोचक कुराहरू पढौं है त ।
पहिलो रोचक कुरा
हाम्रो समयमा हामी सकेसम्म नेपाली नै बोल्थ्यौं । अहिले जस्तो ‘कन्भरसेसनमा’ ‘ईङ्लिश’ ‘मिक्स’ हुँदैनथ्यो । कहिलेकाहीँ म बालबच्चाहरूसँग नेपाली मात्रै बोल्ने र अंग्रेजी बोलियो भने जरिवाना लाग्ने खेल खेल्छु । उनीहरू अली बढी नै ‘फाइन’ तिर्छन्, म केही कम जरिवाना तिर्छु । उनीहरू धेरै तिर्नुपर्नाले रिसाउँछन् र भन्छन् ‘यु आर लायर’ । जसलाई हामी एउटै शब्दमा भन्थ्यौँ- ढँटुवा । आजकाल ठ्याक्कै केही भनिहाल्नुपर्यो भने तपाईँलाई नेपालीभन्दा अंग्रेजी शब्दले ज्यादा भाव दिएको भान हुँदैन ? अँ यस्तै हुन थालेको छ । एक दुइ तीन झारो भाँचो हुँदै हराएको डन्डी बियो वारीपारी कतै भेटिएनन् । खोलेपाङ्ग्रो, खट्टे हराएजस्तै अन्तिम बेञ्चका किस्साहरू हराउने त होइनन् । कहिलेकाहीँ लाग्छ- यस्तै भैरह्यो भने आउँदो पुस्ताले गुन्द्रुकमा आइरन लाएर बस्दो हो ।
दोस्रो रोचक कुरा
अन्तिम बेञ्चमा देशका कुरा हुन्थे, विदेशका कुरा हुन्थे । कसका छोरा र कसकी छोरीको के सम्बन्ध छ, त्यो सबै थाहा हुन्थ्यो । कसले कसलाई चिठी लेखेर पठाएकोदेखि बाउचाहीँले भेटेर गोर्खेलौरी भेटेकोसम्मका कुरा हुन्थे । सजाय पनि सिन्किना खाने युगमा जन्मेकाले गोर्खेलौरी बुझे कि बुझेनन् कुन्नि ? त्यसबारे पछि लेखौंला । कलामले भन्नु भएकै छ- कक्षाको अन्तिम बेञ्चमा राष्ट्रका सर्वोत्तम दिमाग भेटिन सक्छन् । कुन्नि सर्वोत्तम त हो कि होइन तर अघिल्ला बेञ्चमा पढैया, लेखैया, घोकन्ते, रटन्ते, सुगाहरू, मैनाहरू, लिथो मेसिन (आजकालका फोटोकपि मेसिन भनौँ न) हरू भेटिन्थे ।
तेस्रो रोचक कुरा
अन्तिम बेञ्चमा खुबै सवाल-जवाफ चल्छ । किन पनि चल्छ भने आजकाल जस्तो प्रत्येक दिन फरक फरक बेञ्चमा बस्नका लागि शिक्षकले दिनदिनै पालो लगाइदिएका हुँदैनथे । त्यहाँ यस्ता यस्ता प्रश्नहरू निस्कन्थेः
१. नेपालमा सियो बन्छ कि बन्दैन ?
अहिले मात्रै थाहा पाइयो । नेपालमा सियो उद्योग दर्ता भएको छ । तर हाम्रा बालबालिकाले हाम्रा समयका प्रश्न सोध्नै जानेनन् । प्रश्नै नजानेकासँग उत्तर हुने कुरा पनि त भएन । हामी सरकारी उद्योगजस्तो उत्पादन क्षमता हुँदाहुँदै पनि केही वर्षमैं बेकामे पो भयौं कि भन्ने शङ्काले नछोएको भने होइन ।
२. नेपालमा सियो उत्पादनका लागि कस्ता उद्योग दर्ता भएका छन् ?
औषधिजन्य प्रयोजनमा उपयोग हुने सियो र जुत्ता सिलाउने सियो उद्योग । यो आजकै प्रश्न हो आजकै उत्तर हो । त्यो समयमा जवाफ नभेट्ने मैँजस्ता हरिलठ्ठकलाई चित्त बुझाउने उत्तर यता छ ।
३. नेपालले वर्षमा कति सियो विदेशबाट किन्छ ?
नेपालमा लगभग २३ हजार किलो (सिरिञ्ज) विदेशबाट आयात हुन्छ । नेपाल सरकारको तथ्याङ्कमा यस्तै भेटिन्छ ।
४. नेपालमा लुगा सिउने सियो बन्छ ? बन्यो भने पनि प्वाल पार्न भारत लाने कुरा के हो ?
यो असली प्रश्न हो । हाम्रो समयमा यही प्रश्नको उत्तर नजान्दा नजान्दै धेरै कक्षा पास हुँदै हुँदै गएका हौं । तर पनि अन्तिम बेञ्चमा बस्ने मौका भने पाइएकै हो । बरू अहिले पनि उत्तरचाहीँ उस्तै रहेछ । अर्थात् नेपालमा लुगा सिउने सियो बन्दैन । अन्य देशबाट आयात हुन्छ ।
५. अब हामीलाई के चाहिएको छ ?
नेपालमा सिमेन्ट बन्छ-विदेश निर्यात हुन्छ । नेपालमा जुट बन्छ- विदेश निर्यात हुन्छ । नेपालमा १६ लाखसम्मको घडी बनेर विदेश निर्यात हुन्छ । हामीले सानैदेखि सुन्दै आएको नेपालमा सियो बन्दैन । बन्यो भने पनि प्वाल पार्न अन्तै लानुपर्छ । अँ नेपालमा जे सुकै बनोस् तर कसैले त सियो बनाएर प्वाल पनि पारे हुने नि । एउटा जुनी उत्तर थाहै नपाई मरिने भइयो भन्ने पीरले सताउने गरेको छ आजकाल ।
तर जे होस्, सियोको सवाल ‘अण्डा पहिले कि कुखुरा’ पछि दोस्रो अप्ठेरो सवाल हो ।
पढ्दापढ्दै चार मिनेट नाश भयो भन्दैमा ‘मान्छे डाइपर लगाएर चन्द्रमा पुगेर आइसक्यो तँ कोपराको आविष्कार हेरेर दङ्ग पर्दै गर्’ भनेर नसराप्नु न है । जदौ ।
लास्ट बेञ्चर्सका तीन रोचक कुरा
संप्रस पौडेल