मङ्सिर २, शनिबार मकवानपुर ।
गजल मञ्च मकवानपुरले २०८ औँ गजल यात्रा सम्पन्न गरेको छ । केशव समर्पणको सभाध्यक्षतामा सुरू भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजल सर्जकहरू दीपक गौतम, सुवास सजल, पुरूषोत्तम आचार्य, सानु खनाल, सर्जु भण्डारी, वैकुन्ठ लामिछाने, सुनिल गौतमले गजल वाचन गर्नुभयो ।
गजल लेखिरहेका सर्जकहरूलाई राहत इन्दोरी, जावेद अख्तर, दुष्यन्त कुमार, साहिर लुधियानवी आदिका गजल सुन्न आग्रह गर्दै प्रमुख अतिथि निमेष निखिलले आम मान्छेमा गजल श्रवणीय हुनमा गायक जगजीत सिंहको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
नेपालमा मोतिराम भट्टले श्रृङ्गार र भक्ती भावका गजल लेखनमा जोड दिनुभएकोदेखि निखिलले सुक्तिसिन्धुसम्मको विवादित प्रसङ्ग समेत उठान गर्नुभयो भने ज्ञानुवाकर पौडेल, ललिजन रावल तथा नेपाली र हिन्दी गजलको तुलना गर्दै लेखिएका पुस्तक र गजलमा विद्यावारिधि गर्नु भएका डा. घनश्याम न्यौपाने परिश्रमीका गजलहरू अध्ययन गर्न तथा उहाँहरूले भनेझैं गजल शास्त्रीय र प्राविधिक विधा भएकाले यसको व्यापक अध्ययन गरेर गहकिला रचना गर्न सुझाव दिनुभयो ।
मञ्चका अध्यक्ष केशव समर्पणले नव सर्जककेन्द्रित गजल लेखनका कार्यशाला लिएर विभिन्न विद्यालयमा जाने गरेको बताउनुभयो । गजल लेखनमा प्राविधिक तौरतरिकासँगसँगै भाव, कलालगायतका विषयवस्तु जोडिँदै जाने हुँदा गजल लेखनमा निरूत्साहित नहुन आग्रह गर्दै गजल वाचन समेत गर्नुभयो ।
साहित्यसेवी तथा सर्जकहरू राजकुमार लामिछाने, सुनिल गौतम, सानु खनाल, समीर पाख्रिन, शिवराज शाही, मुक्तिगोविन्द वैद्य आदि उपस्थित साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभएको हो ।
