Homeसमाचारसङ्गमद्वारा रचना वाचन, पाठक स्रोतालाई निराश नबनाउन सर्जकलाई आग्रह
सङ्गमद्वारा रचना वाचन, पाठक स्रोतालाई निराश नबनाउन सर्जकलाई आग्रह
मङ्सिर ९, शनिबार मकवानपुर । साहित्य सङ्गम मकवानपुरले ३३७औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ । शनिबार सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त हलमा आयोजित कार्यक्रममा वाचित रचनाहरूका समीक्षा समेत गरिएको हो । सङ्गमका सचिव मनोज पोखरेलको अध्यक्षता र सल्लाहकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले वाचित रचनाहरूको समीक्षा गर्नु भएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव नन्दु उप्रेती अतिथि रहनु भएको कार्यक्रममा समीर पाख्रिनले लघु कथा वाचन गर्नुभयो भने सुवास सजल र केशव समर्पणले मुक्तक वाचन गर्नुभयो । यस्तै कविहरू जनार्दन खनाल, स्वस्तिका दाहाल र पुरूषोत्तम आचार्यले छन्द कविता वाचन गर्नुभयो भने राजकुमार चौधरी, भावना सापकोटा, भवानी तिमल्सिना, सुदर्शन अधिकारी, चितवनका विपिन पाठकले विविध गद्य कविताहरू वाचन गर्दा संप्रस पौडेलले हास्यव्यङ्ग्य कविता वाचन गर्नु भयो ।
अतिथि प्राज्ञ नन्दु उप्रेतीले काठमाडौंका साहित्यिक कार्यक्रमहरूमा युवाहरूको बाहुल्यता कम हुने मूख्य कारण देशभरबाट युवाहरू कमाउने उद्देश्यले, पढ्ने उद्देश्यले र विदेश जाने उद्देश्यले पुग्ने तर हेटौंडामा सिर्जना र श्रवणमा उल्लेख्य सहभागिता देखेर खुशी लागेको बताउनुभयो । उहाँले सर्जकहरूलाई आफूले लेख्ने कवितालाई निरन्तरता दिन र आफ्ना स्रोता पाठकलाई निराश नबनाउन आग्रह गर्नुभयो ।
रचना वाचनपछि समीक्षा गर्ने परम्परालाई जोडेको सङ्गमको आजको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले छोटो समयमा धेरै रचनाबारे बोल्नु पर्ने भएकोले समीक्षा गर्नु कठिन रहेको बताउँदै संक्षिप्तरूपमा समीक्षात्मक टिप्पणी गर्दै लेखकहरूले सूचनाको महामारीबाट जोगिन अनुरोध गर्नुभयो । अतिथि निमेष निखिलले मन्तव्यका साथ अनुवाद कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि तुल्सि घिमिरेले राजनीति तथा समसामयिक घटनाका पक्षमा लेखिएका रचनाहरू छोटो आयुको हुने हुँदा सर्जकले त्यसमा ध्यान दिनुपर्ने मन्तव्यसाथ कविता वाचन गर्नुभयो ।
साहित्य सङ्गमका सचिव तथा सो कार्यक्रमका अध्यक्ष मनोज पोखरेलले सर्जकहरूको उपस्थिति उल्लेख्य रहेको र उत्कृष्ट रचनाहरू वाचन भएको तथा यस कार्यसमिति गठनपश्चात् तेस्रो नियमित सन्ध्याका क्रममा समेत सर्जकका रचनालाई समीक्षाका माध्यमबाट सुधार्नका लागि सहयोग पुग्ने विश्वास गर्दै लघु कथा सुनाउनुभयो । कार्यक्रमलाई सङ्गमका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।