“सर्जकहरू सूचनाको महामारीबाट जोगिन आवश्यक छ”
०००
साहित्य सङ्गम मकवानपुरले यही मङ्सिर ९ गते शनिबार नियमित साहित्य सन्ध्याका क्रममा विगतको निरन्तरतास्वरूप वाचित रचनाहरूको समीक्षक घनश्याम घिमिरेमार्फत् समीक्षात्मक टिप्पणी गराएको थियो । उहाँका विचारहरूलाई यसरी प्रस्तुत गरिन्छ-
हरेक रचनाहरूको मेरो मस्तिष्कले भ्याएसम्म सकारात्मक र नकारात्मक पाटोले उद्दिन्न पाएको भए तपाईँहरूको सिर्जनाप्रति न्याय हुन्थ्यो तर अहिलेको परिस्थितिमा सकिएन ।
०००
कार्यक्रममा १५ वटा रचनाहरु वाचित भएका छन् । संक्षिप्त परिचय दिएर समग्रमा केही बोल्ने प्रयास गर्छु ।
अग्रज स्रष्टा जनार्दन खनालदेखि लिएर नव सर्जक कृष्मा लौडारीसम्मका सिर्जनाहरू हामीले सुन्यौं । केशव समर्पण र सुबास सजलका मुक्तक अनि समीर पाख्रिनका लघुकथाले यो प्रस्तुतिलाई विविधतामय बनायो ।
०००
अग्रज स्रष्टा जनार्दन खनालको सिर्जनामाथि संक्षिप्त टिप्पणी
सुरुवातमा अग्रज स्रष्टा जनार्दन खनालले आफ्नो भर्खरै प्रकाशित यात्रा काव्यको गोसाइकुण्ड यात्रा विवरण अंशभित्र रहेको केही कविता काव्यका श्लोकहरु हामीलाई सुनाउनुभयो । जसमा मकवानपुरको सिस्नेरी खण्डबाट बसाइ सरेर मकवानपुर क्षेत्रमा आइपुगेका पौडेल थरका साथीसँगै गोसाईकुण्ड क्षेत्रको भ्रमण गरेको प्रसंग विषयका रूपमा प्रस्तुत भएको थियो । यस सिर्जनाले जीवन यात्राका क्रममा मानिसले कुनै न कुनै रुपले साथी खोज्दो रहेछ भन्ने लक्ष्यार्थलाई अभिव्यक्त गरेको थियो ।
०००
नव स्रष्टा कृष्मा लौडारीको सिर्जनामाथि संक्षिप्त टिप्पणी
दोस्रो सिर्जनाको रूपमा कृष्मा लौडारी बहिनीले हामी नेपाली शीर्षकको कविता सुनाउनुभयो । जसले हामी नेपाली भएको प्रति त गर्व बोध गर्छौं तर नेपाली हुँदै गर्दाखेरि कति धेरै विसङ्गतिहरू पालेर बसिरहेका छौँ भन्ने कुरालाई बडा सटिक र सङ्क्षिप्त ढङ्गले अभिव्यक्त गर्नुभयो ।
लघुकथाकार समीर पाख्रिनको लघुकथामाथि संक्षिप्त टिप्पणी
तेस्रो सिर्जनाका रूपमा समीर पाख्रिनले लघुकथा वाचन गर्नुभयो । सिसावाला घर शीर्षकको लघुकथामा आजको हामी नेपाली जनजीवनको वास्तविकतालाई व्यङ्ग्यात्मक र अलिअलि प्रतिकात्मक ढङ्गले अभिव्यक्त गर्नुभयो । जसमा आफ्नो घर खेत नै बन्धकी राखेर ठूलो सपना देखेर आफ्ना सन्तानहरुलाई विदेश पठाइरहेका बुबा आमाहरुको सपना त फगत सिसाको घर जस्तो मात्र रहेछ भन्ने कुरालाई बडो मार्मिक, सरल र सुबोध्य ढङ्गले अभिव्यक्त गर्नुभयो ।
कवि स्वस्तिका दाहालको कवितामाथि संक्षिप्त टिप्पणी
चौथो प्रस्तुतिमा बहिनी स्वस्तिका दाहाल जसले मिठो स्वरका साथै शास्त्रीय लयमा प्रेमपरक विषयवस्तुका साथ शृङ्गारिक कविता अभिव्यक्त गर्नुभयो । जसले आफ्नो सपनाको राजासँगसँगै सुखद जीवनको यात्रा अगाडी बढाउन सकियोस् भन्ने भावलाई अभिव्यक्त गर्नु भएको थियो ।
मुक्तककार केशव समर्पणको मुक्तकमाथि संक्षिप्त टिप्पणी
पाँचौं सर्जकको रूपमा केशव समर्पण दुईवटा मुक्तकका साथ आउनुभयो । मैले विशेष भन्नैपर्छ- मुक्तक लेखनका दृष्टिकोणले केशव समर्पण पछिल्लो चरणमा अलि बढि नोटिस गर्न थालेकामध्ये उत्कृष्ट मुक्तककार हुन् । त्यसैको कसीमा दुईवटा मुक्तक आए । पहिलो मुक्तकमा हामीले जीवनलाई यथार्थपरक ढङ्गले बाँच्ने हो भने दुखभित्र सुख महसुस गर्नुपर्छ भन्ने भाव र दोस्रो मुक्तकमा जीवनको अर्को वास्तविक पाटो श्रृङ्गारिकता, प्रेम र आकर्षणलाई बडो रोमाञ्चक ढङ्गले अभिव्यक्त गर्ने प्रयास भएको थियो ।
मुक्तककार सुबास सजलको मुक्तकमाथि संक्षिप्त टिप्पणी
छैठौं स्रष्टाको रूपमा सुबास सजलले जसमा पहिलो मुक्तकमा उपयुक्तताको महत्व सानो कुराले पनि ठूलो महत्व कसरी प्रस्तुत गरिरहेको हुन्छ भन्ने किसिमका कुरालाई किसान लगायतको प्रसङ्ग मार्फत व्यक्त गर्नु भएको थियो । दोश्रो मुक्तकमा आफू बा भइसकेपछि बा हुनुका पीडा अप्ठ्यारा बाध्यता र विवशता, ढाकरे/भरियाले बोक्ने ढाकर जत्तिकै गरूङ्गो हुँदोरहेछ भन्ने किसिमको आत्मबोध सायद आफ्नै बा बनेर लेख्नु भाको मुक्तक हुनुपर्छ । जुन स्वाभाविक लाग्थ्यो ।
हास्यव्यङ्ग्य सर्जक संप्रस पौडेलको सिर्जनामाथि संक्षिप्त टिप्पणी
सातौँ सर्जकको रुपमा संप्रस पौडेल हुनुहुन्छ । पछिल्लो चरणमा विशेष गरी मकवानपुर क्षेत्रमा हास्यव्यङ्ग्यात्मक लेखनले पनि एउटा गति लिइरहेको छ । त्यसरी गति लिनुमा केही सर्जकहरूको हास्यव्यङ्ग्यप्रतिको लगाव, आकर्षण र निरन्तरता नै हो । अरुले जेसुकै भनिरहुन्, लेखिरहन्छु किन यो मेरो ‘प्यासन’ हो भन्ने किसिमले लेखिरहनुभएको कारणले पनि हुन सक्छ । जसको एउटा राम्रो उदाहरण अहिले मकवानपुर क्षेत्रमा लागिरहेको सम्पर्क पौडेल हो र उहाँले त्यही शृङ्खला यतै कडीलाई जोड्ने क्रममा महामूर्ख शिक्षकको हास्यव्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभयो । जसले विद्वता प्रतिको व्यङ्ग्यात्मक अभिव्यक्ति र जीवनमा सैद्धान्तिक ज्ञानभन्दा पनि बढी व्यवहारिक ज्ञान खाँचो पर्छ वा सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञानबीचको खाडल नेपाली परिवेशमा कस्तो छ भन्ने किसिमको अभिव्यक्ति कविताको विषयवस्तु बनाउँदै हुनुहुन्थ्यो । आरसी सरको हालसालैको फेसबुक स्टाटसलाई सम्झिरहेको थिएँ ।
कवि भावना सापकोटाको कवितामाथि संक्षिप्त टिप्पणी
आठौं सर्जकको रूपमा भावना सापकोटा जसले अँध्यारोका विरूद्ध उज्यालोको आवाज पोखिरहनु भएको थियो । कवितामार्फत अज्ञानताका बिरूद्ध ज्ञानको आवाज पोखिरहनुभएको थियो । अध्यारो जसले सत्य पहिचान गर्न अवरोध भइरहेको हुन्छ । अँध्यारो जसले जिन्दगीको गन्तव्य पहिल्याउन अवरोध गरिरहेको हुन्छ । जबरदस्त उज्यालोलाई छेक्ने दुस्प्रयास गरिरहेको हुन्छ तर त्यो अन्ततः असफल भएरै छोड्छ भन्ने किसिमको आशावादी जीवनदृष्टि कोणसहितको कविता उहाँले प्रस्तुत गर्नुभयो ।
छन्द कवि पुरूषोत्तम आचार्यको कवितामाथि संक्षिप्त टिप्पणी
नवौं स्रष्टाको रुपमा पुरुषोत्तम आचार्य रहनु भयो । पुरुषोत्तम आचार्यको बारेमा मैले औपचारिक कार्यक्रमहरुमा धेरै बोलिसकेको छु । उहाँले अलि अगाडि नै लेखेको कविता भने त्यो कुरालाई बढी ‘फोकस’ गर्नु भएको छ । त्यो कविता जसमा रुपान्तरण र उज्यालो प्रतिको चाहना स्वदेश प्रेम, समृद्धि, पहिचान, अस्तित्वप्रतिको चाहना र समग्रमा प्रगतिवादी चिन्तनभित्र आदर्शवादी विचारको पृष्ठपोषण गरेको कविताका रूपमा मैले उक्त कवितालाई पहिचान गरेँ ।
कवि निमेष निखिलको कवितामाथि संक्षिप्त टिप्पणी
दशौं कविको रूपमा निमेष सरले मन्तव्यका साथमा भारतका चर्चित लेखक उदय प्रकाशको ‘मर्नु’ शीर्षकको संक्षिप्त तर अत्यन्त चोटिलो कविता प्रस्तुत गर्नुभयो । जसले हामीलाई ‘मर्नु’ बाट बच्नुपर्छ भन्ने किसिमको आत्मबोध गरायो भन्ने लाग्छ ।
प्राज्ञ नन्दु उप्रेतीको कवितामाथि संक्षिप्त टिप्पणी
अर्का अतिथि वक्ताको रुपमा नन्दु उप्रेती सर आउनुभयो । जसले वाचित भएका सिर्जनाको बारेमा छोटो मिठो ढङ्गले आफ्नो समीक्षात्मक टिप्पणी राख्नुभयो । साथसाथै ‘के थियो तिम्रो नाम’ शीर्षकको कविता अभिव्यक्त गर्नुभयो । जसमा राष्ट्र निर्माणका क्रममा लाखौँ नेपाली सन्ततिहरूको योगदान रह्यो । तर योगदान रहेका लाखौंमध्ये केहीको मात्र नाम रह्यो । अरु धेरै छेलिएर किनाराकृत भएर उनीहरुको पहिचान धुलामेट भइरहेको वास्तविकतालाई त्यो अस्तित्वविहीन भएका हाम्रा क्रान्ति योद्धाहरूको अस्तित्वको उत्खनन गर्ने प्रयास आफ्नो कवितामार्फत् गर्नुभयो ।
(उप्रेती युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव हुनुहुन्छ ।)
अर्थक्षेत्रका जानकार सुदर्शन अधिकारीको कवितामाथि संक्षिप्त टिप्पणी
पछिल्लो श्रृंखलामा सुदर्शन अधिकारी सर, जसले चाहिँ ‘किन?’ शीर्षकको कवितामा अभिव्यक्त गर्नुभयो । आजको समस्या नेपाली समाजको आजको विसङ्गति र आजका अप्ठ्याराहरुमा ‘किन’ मार्फत् प्रश्न गर्दै उहाँले ती समस्याहरूप्रति व्यङ्ग्य उठान गर्नुभयो भन्ने मेरो बुझाइ रहेको छ ।
त्यसैगरी अर्का सर्जक राजकुमार चौधरीले ‘क्रान्ति सम्भव छ’ भन्ने शीर्षकको कवितात्मक अभिव्यक्ति प्रस्तुत गर्नुभयो । समग्रमा आजको राजनीतिक विकृति नेतृत्वको असफल नेतृत्व शैलीप्रतिको जनआक्रोशलाई आफ्नो लेखाइमा लिपिबद्ध गर्नुभएको थियो ।
कवि विपीन पाठकको कवितामाथि संक्षिप्त टिप्पणी
चितवनबाट विपीन पाठकको ‘चिप्ला मान्छे’ कविताले विचारविहिन आवाज, स्वार्थले भरिएको आवाज निकै घातक हुन्छ भन्ने निष्कर्षात्मक अभिव्यक्तिसहितको कविता प्रस्तुत गर्नु भयो ।
सर्जक भवानी तिमल्सिनाको कवितामाथि संक्षिप्त टिप्पणी
कार्यक्रम सञ्चालिका भवानी तिमल्सिनाले आफ्नो माटो, संस्कृति, प्रकृति देश आपसी प्रेम सद्भाव र एकताको गीत बनाएर कविताको प्रस्तुत गर्नुभयो ।
अन्त्यमा,
तीनवटा साहित्यिक विधाहरु कविता मुक्तक र लघुकथा आजको यो समयमा समेटिए । उमेरगत दृष्टिकोणले अग्रज स्रष्टादेखि नवस्रष्टाहरू पनि यहाँ समावेश हुनु भयो । अनि सिर्जनाकोस्तरका दृष्टिकोणको कुरा गर्दा बलशाली कवितादेखि अझै धेरै परिष्कार र परिमार्जन गरेर साँच्चिकै कविता पाउनुपर्ने खालका अभिव्यक्तिहरू पनि यहाँ प्रस्तुत भए भन्ने मेरो बुझाइ रहेको छ ।
समग्रमा मलाई यी सिर्जनाहरू पढिरहँदा र पछिल्लो चरणमा केही सिर्जनाहरु पढिरहँदा के लागिरहेको छ भने अहिले हाम्रोमा मानसिकता एउटा समस्याबाट निकै आक्रान्त छ । त्यो समस्या भनेको सूचनाको भारी हो । तपाईं हामी पटक-पटक सूचनाबाट लखेटिएका छौं । हाम्रो मस्तिष्कले, हाम्रो चेतनाले र हामीले सूचनालाई राम्ररी पर्गेल्न सकेनौं भने त्यसैले नै हामीलाई खाल्डोमा पुर्याइदिने रहेछ । कुन सूचना सूचना हो ? कुन सूचना विष हो छुट्ट्याउन निकै ठूलो कुरा हो । सामान्य मानिसदेखि लिएर स्रष्टाको दायित्व त अझ बढेर गएको छ । सूचना प्रविधिको जति धेरै सहजता छ, त्यो सहजताभित्र सूचनाका नाममा विचारका कलुष, विचारका फोहोरहरु, विचारका विषहरु हाम्रो मस्तिष्कमा भरिने सम्भावना अति धेरै हुँदोरहेछ । अब त्यसलाई सैद्धान्तिक भाषामा सूचनाको भारी भन्छन् । भारी कुन अर्थमा भनिएको भन्ने भारी बोक्दैमा काम गरेको हुँदैन । भारी त बोक्नु तर केको भारी बोकेको भन्नेमा भरपर्दो रहेछ । मैले निकै ठूलो काम गरेको छु भनेर अब ढुंगा बोकेर हामी उकालो ओरालो गर्यौं भने त्यसले के उपलब्धि दिने हो ? त्यस आधारमा कामको मूल्याङ्कन हुनुपर्छ । त्यसैले मैले जानेको छु, मैले पढेको छु, मैले धेरै कुरा लिएको छु भन्यो तर लिनचाहीँ के लियौं त्यसमा भर पर्ने रहेछ ।
सूचना प्रविधिले रातारात नायकलाई खलनायक र खलनायकलाई नायक बनाएको छ
त्यसकारण आजको बौद्धिक चुनौती भनेको सूचनालाई सही किसिमले पर्गेल्न सकिन्छ कि सकिँदैन भन्ने हो । विचारलाई सही किसिमले प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने हो । हिजो एउटा व्यक्तिमा नायकत्व सृजना हुनको लागि धेरै कुराको तपस्या चाहिन्थ्यो । धेरै कुराको योगदान चाहिन्थ्यो । तर आज समयले सूचनाले प्रविधिले रातारात एकजनालाई नायक बनाएको छ र रातारात त्यसलाई खलनायक पनि बनाइदिएको छ । अनि त्यो १ दिनमा नायक भएको व्यक्ति भोलिपल्ट खलनायक हुन सक्यो भने हिजो ऊ नायक थियो कि थिएन त भन्ने प्रश्न उठ्छ ।
सर्जकहरू सूचनाको महामारीबाट जोगिन आवश्यक छ
माथिको कुरामा किन जोड रहेको छ भने अब हाम्रा सिर्जनाहरु, सिर्जनामार्फत् अभिव्यक्त हुने विचारहरू, चिन्तनहरू त्यो सूचनाको भार पर्गेल्न सकेर आएको हुनुपर्छ । त्यही सतही आक्रोश, सतही विचारलाई ती सूचना सञ्जालहरुमा आएका ब्यानर न्युज पनि क्लिक नगरी वा भित्र नहेरिकन बाहिर आएका कुराहरुलाई हामीले पत्याएर आफ्नो परिपक्व विचार बनायौं र त्यसैलाई सिर्जना बनायौं भने भोलि ती आफूले रचना गरेका सिर्जनालाई आफैँलाई डस्न थाल्नेछ । त्यसकारण अरु व्यक्तिहरु त कुरा छोडौं, हामी सर्जकहरु त्यो सूचनाको भारबाट जोगिन आवश्यक छ । सूचनाको आक्रमणबाट, सूचनाको महामारीबाट जोगिन आवश्यक छ । अहिलेको समय भनेको सूचनाको महामारीको समय हो ।
