मङ्सिर १६, शनिबार, चितवन ।
एक कार्यक्रमबीच कवि भूपिनको नवीन कृति ‘भूपिनका कविता’ सार्वजनिक गरिएको छ । भूपिनका कविता उत्सव नाम दिइएको सो कार्यक्रममा कृति सार्वजनिकीकरणका साथै, अन्तरक्रिया र वाचन समेत गरिएको हो ।
बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका भूपिन तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय हुनुहुन्छ । भूपिनका उत्कृष्ट कविता ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकहरुले अत्यधिक रुचाएका ५६ कविता समावेश गरी नयाँ संग्रह प्रकाशन गरिएकोले यसलाई जुम्ली कविता संग्रह भनिएको छ ।
एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक (२०५३)’ कविता संग्रह, ‘हजार वर्षको निद्रा (२०६६)’ कविता संग्रह, निबन्ध संग्रह चौबिस रिल (२०६९), ‘सुप्लाको हवाइजहाज (२०७२)’ कविता संग्रह र ‘मैदारो (२०७५)’ उपन्यास प्रकाशित भइसकेका छन् । कविता संग्रह ‘भूपिनका कविता’ उहाँको छैठौं कृति हो । यसै वर्ष निबन्ध संग्रह ‘चौबिस रिल’ को तेस्रो संस्करण र नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा रहेको कवि भूपिनले जानकारी दिनु भएको छ ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष उहाँले हाल अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहनु भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा नारायणगढ चितवन साहित्य परिषद् (चिसाप) को प्रेक्षालयमा आयोजित कार्यक्रममा डा. एकनारायण पौडेलले भूपिनले आफ्ना कविताहरूमा सामान्य र विशिष्ट विषयवस्तुलाई कलात्मकरूपमा उठाउनु भएको र कतिपय शीर्षकहरू व्यङ्ग्यात्मक समेत रहेको बताउनुभयो । उहाँले कवि भूपिन पाठकहरूमाझ नयाँ नाम नभएकोले कवितामा श्रृङ्खला कविता तथा प्रश्नात्मकसहितका निबन्ध शैलीको प्रयोगले पाठकमा फरक स्वाद दिने उल्लेख गर्नुभयो । साथै अर्का वक्ता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक कवि निमेष निखिलले भूपिनका कविताबारे बोल्नु आफैंमा जोखिमपूर्ण कदम रहेको भन्दै समकालिन नेपाली साहित्यमा आफ्ना कविताले नै भूपिनलाई यो उचाइँसम्म ल्याएको एक प्रतिनिधि कविका रूपमा आफूले चिनेको बताउनुभयो । साथै उहाँले कवि भूपिनलाई प्रकृति प्रेमी कविका रूपमा चित्रित गर्नुभयो ।
साहित्य सर्जकहरू श्यामल, एलबी क्षेत्री, तीर्थ श्रेष्ठ, श्रवण मुकारूङ, राजेन्द्र भण्डारी र उदय अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको प्रमुख अतिथि चितवनका अग्रज कवि तथा उपन्यासकार रेशम विहरीले एक अब्बल कविका रूपमा भूपिनलाई पाएको बताउनुभयो ।
अक्षर समूहका संस्थापक सदस्य उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अक्षर समूहका पूर्वअध्यक्ष ईश्वर कँडेलले भूपिन सरल कविता लेख्ने साधारण मानिसहरुको कवि भएको विचार राख्नुभयो ।
प्रकाशन गृह बुकहिलका सञ्चालक भुपेन्द्र खड्काले यस कृति प्रकाशनका सन्दर्भमा भन्नुभयो- कवि भूपिन भूपि शेरचन हिँडेको बाटोमा हिडिरहेको कवि भएको र कविता कोर्न जसले पनि सक्छ तर कवितामा प्रभावशालीपन र बौद्धिकता चाहिन्छ । त्यो दुवै भूपिनका कवितामा छ । उनी अन्य साहित्यकार भन्दा कविता, निबन्ध र उपन्यासमा कलम चलाउने अन्य साहित्यकार भन्दा उपल्लो दर्जाका साहित्यकार हुन् । विद्यालयको पाठ्यक्रममा भूपिनको कविता राखिएको छ । नयाँ पुस्तालाई भूपिनका कविताबारे अझ धेरै बुझाउन नयाँ कृति प्रकाशन गरिएको हो ।
कार्यक्रममा कवि अनिल श्रेष्ठ, गण्डकी साहित्य प्रतिष्ठानका कवि सागर उदास, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भरतपुर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँ, साहित्य संगम मकनावनपुरका अध्यक्ष डीबी बर्तौलाले शुभकामना मन्तव्य राख्नुभयो ।
समालोचक डा. धनेश्वर भट्टराई, समालोचक डा. होमनाथ सापकोटा, गजलकार धनराज गिरी, विश्लेषक प्रेम रिमाल, सर्जकहरू असीम सागर, परि विक्रम आदि हुनुभएको कार्यक्रममा मकवानपुरबाट साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, मुक्तककार सुवास सजल, कविहरू स्वस्तिका बानियाँ र स्वस्तिका दाहाल सहभागी हुनुभयो । कार्यक्रममा चितवसहित तनहुँ, काठमाडौँ, पोखरा र बागलुङलगायत जिल्लाका साहित्य सर्जकहरू बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि भूपिनले कविताको लागि जे पनि गर्ने पागल भएमा कविताको क्लिनिकमा जाने गरेको अनुभव सुनाउनु भयो । भावुक हुँदै भूपिनले भन्नुभयो- कविता मेरो लागि मनोचिकित्सा हो । बिरामी भएमा म कविताको क्लिनिकमा जान्छु । कविताको विकल्पमा अरु केही रोज्न सक्दिन ।
यसका साथै उहाँले कविताको कारणले आर्थिकरूपमा फाइदा हुने अमेरिका छाडेर नेपाल आएको अनुभव सुनाउनु भयो । त्यस निर्णयमा कुनै पश्चाताप नभएको र कविताका लागि सबै कुरा छाड्न तयार भएको बताउनुभयो । उहाँले ‘कुरुप’ कवितादेखि ‘नोटको जीवनी’ सम्म गरी कूल ६ वटा कविता वाचन गर्नुभयो । यस कार्यक्रमलाई अक्षर समूहका अध्यक्ष रमेश प्रभातले सहजीकरण गर्नुभएको हो ।