बग्दैछु नदी जसरी
यद्यपी
निस्सार छन् गन्तव्यहरू
अन्त्य कहाँ हुन्छ
आफैँलाई थाहा छैन ।
सफलता पाउने आशमा
दौडिरहेका छन्, पाईताला
समयसँग आज म
बालक भएको छु ।
आँखाहरूमा आँसुका धाराहरू बग्दछन्
असफलताका/आवेगहरूका
थाहा छैन म कुन कालखण्डको थिएँ
अहिले कुन कालखण्डमा छु ?
दुनियाँ स्वार्थी छन्,
स्वार्थीहरूको भीडसँगै बग्दैछु
यन्त्रवत् भएपछि अझै
के मेरो उत्पादनले सन्तुष्टि देला ?
भावनाहरूसँग नजिकिन खोजेँ
तर ती सबै अव्यक्त रहे
आत्मियतामा गाँसिन चाहेँ
ती वेदनाको भुमरीमा परे
ओठहरूमा हाँसो उतार्न खोजेँ
सबै व्यर्थ भए
र मैले पीडाहरूसँग सम्झौता गरेँ
र पो आज संसार निस्सार लाग्छ ।
मसँगका मसिनो साहसले
कसरी उठाउन सक्छु आरोपहरूको वजन
खालि भ्रमहरूको सर्कसमा
उ सर्पहरूको चटक देखाउछ ।
दिपावलीमा बालेको दियोको उज्यालो,
खोजी गर्दै भौतारिदा
ईतिहासले पोलेको नाङ्गो छालाहरूले
अरु सहन सक्दैनन् चर्का घामहरू ।
बहिराहरूसँग सान्त्वनाको आश गर्दै
अन्धाहरूलाई बाटो सोध्दै
जस्तो देख्न चाहन्छ घर समाज
बिल्कुल त्यही बन्नु
तर यो पागल समय
के सोचेर यहाँ निजी खुशीहरू खोज्दैछ ?
बकैया –३, मकवानपुर
