२३ मंसिर, सोमबार
चितवन ।
१ लाख २५ हजार राशिको कविडाँडा आख्यान पुरस्कार- २०७९ `मनु´ उपन्यासले पाएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार – २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरिएको हो । सौराहास्थित जंगल सफारी लजमा शनिबार आयोजित कार्यक्रममा लाल – मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले सम्मानपत्रसहित सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।
समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो । सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धून, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस सूचिकृत रहेका थिए ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई मनुकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । नेपाली साहित्यमा ऋग्वैदिक सामाजिक उपन्यास लेखनमा मदनमणि दीक्षितको उपन्यास `माधवी´ लेखनको ४ दशकपछि ‘मनु’ प्रकाशन भएको हो ।
२०७५ सालबाट दिन थालिएको कविडाँडा पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रह, २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यासले प्राप्त गरेको थियो ।
मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार- २०७९ पनि प्राप्त गरेको छ । वि.सं. २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले नियमितरूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको छ ।
लेखकहरू भूपिन, उदय अधिकारी, गोविन्दराज विनोदी, धनराज गिरी, श्यामकुमार बानियाँ, रेणुका जिसीलगायत साहित्य सर्जक, साहित्य सेवी उपस्थित कार्यक्रममा डा. केशवराज चालिसे र महेश पौड्यालले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमलाई गणेश श्रमनले सहजीकरण गर्नु भएको हो ।