आज रजनिश ओशोको जन्मजयन्ती । चन्द्रमोहन जैनका रूपमा उहाँ ११ डिसेम्बर १९३१ मा भारतको मध्य प्रदेश, रायसेन जिल्लाको कुचवाडा गाउँमा जन्मनु भएको हो । धार्मिक रुढिवादीताप्रति कठोर, आध्यात्मलाई नयाँ बाटोमा लैजाने एक गुरू र जीवनकालभरि विवादित र रहस्यमयी व्यक्तित्वका रूपमा उहाँलाई चिन्ने गरिन्छ ।
भारतमा विवादास्पद विचारहरू चर्चामा आएपछि अमेरिकामा आश्रम स्थापना गरी गतिविधि सञ्चालनका क्रममा विविध आरोपसहित ‘मन्द विष (Slow poison)’ प्रयोग गराई उहाँलाई भारतमा पठाइएको र त्यसको केही वर्षमा निधन भएका चर्चाहरू पढ्न सुन्न पाइन्छ ।
५८ वर्षको उमेरमा भारतको सोही आश्रममा उहाँले महापरिनिर्वाण लिनुभयो । उहाँ बाँचिरहनु भएको भए आज हामी उहाँको ९२औं जन्मदिवस मनाइरहेका हुन्थ्यौँ ।
आज नवसाहित्य अनलाइनमा हामीले उहाँका ख्यातिप्राप्त २० विचारहरू लिएर आएका छौं । उहाँ भन्नुहुन्थ्यो “कुनै पनि कुराले अहङ्‍कारलाई हाँसोले जसरी अन्त्य गर्दैन । जब तपाईँ जीवनलाई रमाइलोको रूपमा लिन थाल्नुहुन्छ, अहङ्‍कारले मर्नु पर्छ, जुन अब अस्तित्वमा पनि रहँदैन ।” आउनुहोस् उहाँका यस्तै भनाइहरू पढौं ।
०००
१ सत्य धेरै खतरनाक छ, तिनीहरूबाट सावधान हुनुहोस् । किनभने जसले जीवनबाट भ्रमहरू तोड्छ, उसलाई बाँच्न गाह्रो हुन्छ ।
२ बनिबनाउ बन्ने कोशिस नगर ।
३ हामी दुःखी छौं, किनभने हामी के गरिरहेका छौं भन्ने बारे हामीलाई नै थाहा छैन । हाम्रो काम एक दिशामा छ । सोच अर्कै दिशामा छ । भावना भनेको अन्तैतिर गइरहेको छ ।
४ जो आफूसँग भेट्न सक्दैन र भगवानको बारेमा कुरा गर्दछ, उसले जीवनभर आफैँलाई बेवास्ता गरेको हुन्छ ।
५ बाँच्ने एक मात्र तरिका भनेको तिमी पहिल्यै मरिसकेका छौ भनेर स्वीकार्नु हो ।”
६ मनः एक सुन्दर नोकर र एक खतरनाक मालिक ।
७ यदि तपाईँलाई फूल मन पर्छ भने, यसलाई नटिप्नुहोस् । किनभने यदि तपाईँले टिप्नुभयो भने यो मर्छ अनि यो तपाईँलाई ‘मनपर्ने कुरा’ हुन सक्दैन । त्यसैले यदि तपाईँ फूललाई प्रेम गर्नुहुन्छ भने, यसलाई फूलै हुन दिनुहोस् ।
८ यदि तपाईं हाँस्नुहुन्छ भने, संसार तपाईँसँग हाँस्छ; यदि तपाईँ रुनुहुन्छ भने, तपाईं एक्लै रुनुहुन्छ। त्यसो भए, हाँसो छनौट गर्नु राम्रो !”
९ उत्साहविना, जीवन के हो ? मृत्युको पर्खाइ मात्रै हो ?”
१० जीवन कुनै त्रासदी होइन, कमेडी हो। जीवित हुनुको अर्थ हास्यको भावना (Sense of humor) हुनु हो।
११ बढीभन्दा बढी ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नुहोस् र जीवनको मज्जा लिनुहोस्, किनकि, वास्तविकतामा यहि नै जीवन हो ।
१२ प्रेमको सर्वश्रेष्ठ सिमा पूर्ण स्वतन्त्रता हो, कुनै पनि सम्बन्धहरु टुक्रिनुको मुख्य कारण स्वतन्त्रतामाथि बन्देज हुनु नै हो ।
१३ आज नभए भोलि सबै भ्रमहरू भंग हुन्छन् ।
१४ यदि तपाईँ साहसिलो हुनुहुन्छ भने आफ्नो मनको कुरा सुन्नुहोस् । यदि आफूलाई कायर सम्झनुहुन्छ भने दिमागको कुरा सुन्नुहोस् ।
१५ कसैसँग प्रतिष्पर्धा गर्न आवश्यक छैन, तपाई आफूमा जे हुनुहुन्छ, एकदम सहि हुनुहुन्छ,पहिला आफूलाई स्विकार्नुस् ।
१६ आफैंलाई खोज्नुहोस् । अन्यथा तपाईँ आफैंले नचिनेका व्यक्तिको विचारमा भर पर्नुपर्छ, जसलाई आफ्नो बारेमा थाहा नै हुँदैन ।
१७ यदि तपाई कुनै काम बिना प्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ, यदि त्यहि कामलाई प्रेमका साथ गर्नुभयो भने राजा बन्नुहुन्छ । तपाईको काम नै तपाईको खुसी हो ।
१८ मानिसहरूलाई भयको माध्यमबाट जहिल्यै पनि शोषित गरिन्छ ।
१९ अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ ।
२० जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।
(गाइने)