हेटौंडा १६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले विद्यार्थीहरूलाई न्यानो कपडा (स्वेटर) वितरण गर्नुभएको छ ।
कक्षा ६ देखि १० सम्मका २५ जना विद्यार्थीहरूलाई चौलागाईँले आफ्नो वैवाहिक बार्षिकोत्सव तथा पुत्रको जन्मोत्सवको अवसरमा स्वेटर वितरण गर्नुभएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि कोइरालाले शिक्षकहरुको यस्ता कार्यले सबैलाई हौसला मिल्ने हुँदा अन्य जोकोहीले पनि परिवार, साथीभाइबीच होटलमा गरिने पार्टी, मद्यपान लगायतमा हुने फजुल खर्चलाई यस्ता पून्य कार्यमा लगाएमा शिक्षाबाट कसैले वञ्चित हुनु नपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जनप्रिय अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, पूर्व प्रअ नमराज अर्याल, माध्यमिक तह संयोजकहरू नीरबहादुर खड्का र रविन श्रेष्ठ लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सञ्चार विभाग संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभएको हो ।
