मङ्सिर २६, बुधबार
मकवानपुर ।
वर्ष २०७९/८० को ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट-नयाँ सडकको कथा’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषको बैठकले ‘जङ्क्सन पिपलबोट’ र ‘थाङ्ग्रा’ लाई यी पुरस्कार प्रदान गर्ने संस्थापक नरेश काङमाङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।
यसअघि छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट जुरीले सर्वोत्कृष्ट ठहर्याएका यी दुई कृतिलाई पहिचान पुरस्कार प्रदान गर्न लागिएको हो । यस वर्ष घोषित दुई पुस्तकका साथै डा. नवराज केसीको ‘शून्यको मूल्य- सास, साहस र स्नेहको कथा’, करूणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’, जानुका खतिवडाको ‘आतोओडा’, पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’ र श्रीभक्त खनाल र खेमराज रानाभाटद्वारा संयुक्त लिखित ‘तीन फरक विषय र उनै जङ्गबहादुर’ उत्कृष्ट ८ पुस्तक अन्तर्गत छनौट चरणमा परेका थिए ।
उक्त पुरस्कार यसअघि श्याम साहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’ लाई संयुक्त रूपमा दिइएको थियो ।
राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ गरी ९ कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने संस्थाले पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ। पहिचान पुरस्कार कोषद्वारा स्थापित यस पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।
