मङ्सिर ३०, शनिबार
मकवानपुर ।
पुरूषोत्तम आचार्यकृत पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ ।
शनिबार सोलिड्यारिटी इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा स्थापित २२ हजार २ सय २२ रूपैयाँ राशिको युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको हो ।
साहित्य सर्जक नवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजना गरिएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक तथा साहित्य सर्जक निरा शर्मा, राजनीतिकर्मी तथा साहित्य सर्जक प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गर्नु भएको थियो । वक्ताका रूपमा साहित्य सर्जक निरा शर्माले लोक लयमा आधारित कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको रचनाले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गराइदिने बताउनुभयो । अर्का वक्ताका रूपमा साहित्य सर्जक निमेष निखिलले आचार्यको पुस्तकले समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको र पुस्तकले व्यवस्थापिका परिवर्तनपछाडिको समाजको अवस्थाको बारेमा समेत उल्लेख गरेको भए अझ सुन्दर हुने बताउनुभयो । साथै उहाँले थप गर्नुभयोः सामाजिक शोषणबाट मुक्तिका लागि क्रान्ति र वर्गसङ्घर्ष आवश्यक छ भन्ने मार्क्सीय वैचारिकीको प्रस्तुति काव्यको केन्द्रीय कथ्य हो । काव्यको भाषा र कवित्व बेजोड छ, जस्तो पुरूषोत्तमबाट अपेक्षा गरिन्छ । यस काव्यको औचित्यमाथि प्रश्न उठाउन सकिने ठाउँ छ । पटाक्षेप भइसकेको एउटा विषयलाई दुई दशकपछि यसरी काव्यका रूपमा उठान गर्नु आज यो समयमा आवश्यक थियो कि थिएन यो छुट्टै चर्चाको विषय हुन सक्छ । वक्ता तथा निवर्तमान बागमती प्रदेश सभा सदस्य प्रदीप वालाचनले सबैले दासत्व स्वीकार नगर्न अनुरोध गर्दै आफ्ना विचार राख्नुभयोः ‘जुनेलीका पात्रहरूका चरित्रहरू हेर्दा आफैंलाई पनि पाउँछु । ठूला ठूला युद्धमा कमाण्डर भएर लडेको हिसाबले पनि सामाजिक विषयवस्तुलाई लेखकहरूले यसरी उल्लेख गर्दा गर्व लाग्छ । नारीहरूको दिनचर्या, बेहोर्नुपरेका हिंसा, गोठाले जीवनको चर्चा पढिरहँदा आफ्नै जीवनको तथा आफ्नै घरको कथाका रूपमा पाएँ । द्वन्द्वात्मक भौतिक वाद मान्नेहरूले समाजमा वर्गका आधारमा रहेका शोषित र शोषक गरी दुई जातहरू विभाजन गरेका छन् । कविताको रूपमा ती कुरालाई पस्किन सकेको भए अझ उत्तम हुने थियो । तथापि कुण्ठा पालेर नबसी यसरी प्रश्न गर्ने हिम्मत नै ठूलो कुरा हो ।’
साहित्यकार आचार्यले आफ्नो पुस्तकका रचनाहरू गायन गर्नु भएको कार्यक्रममा नाट्य प्रस्तुति समेत गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।
मुना अर्याल, भावना सापकोटा, रजनी पौडेल, रोश्नी चौलागाईँ, राजकुमार लामिछाने, सुवास खनाल, बैकुण्ठ लामिछाने, सागर खनाल, विधान आचार्य, घनश्याम घिमिरे, हरि पौडेल, भवानी तिमल्सिना, स्वस्तिका दाहाल, विशाल अधिकारी आशुतोष, सानु खनाल, श्यामकुमार बानिया, किशन पौडेल, माधव पोख्रेल लगायत साहित्य सर्जक, साहित्यसेवी, समीक्षकहरू उपस्थिति रहेको कार्यक्रमलाई प्रलेस मकवानपुरका सचिव चिरञ्जीवि लामिछानेले सहजीकरण गर्नु भएको हो ।
