‘पौष ७, शनिबार
मकवानपुर ।
नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरेको छ ।
समाजले वरिष्ठ सङ्गीतकर्मी नातिकाजीको ९९औं जन्म जयन्तीको अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।
उक्त सम्मान नेपाली मौलिक सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ । यस समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र उपाध्यक्ष दीपक श्रेष्ठ रहनु भएको छ ।
मित्रपार्कस्थित नातिकाजीकै निवासमा आयोजित विशेष समारोहमा स्रष्टाहरू सम्मानित हुने जानकारी दिइएको हो ।
पुरस्कार घोषणा कार्यक्रममा समाजका अध्यक्ष बाँस्कोटाले नेपाली गीत/सङ्गीतका शिखर व्यक्तित्व नातिकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने बताउनुभयो ।
सम्मानित हुनुहुने स्रष्टाहरूमध्ये ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०८०’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वसन्त वित्यासी थापा, राम भट्टराई, भूषण खरेल, सुनिल थापा हुनुहुन्छ ।
यस्तै वाद्यवादनतर्फ केशव सुनाम, परम्परागत सङ्गीततर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, सुवर्ण लिम्बू सम्मानित हुँदै हुनुहुन्छ ।
साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत हुनेहरूमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान र संगीतकार राजनराज शिवाकोटी रहनुभएको छ ।
‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविक्रम थापा र गीत रेकर्डिष्ट प्रकाश मिश्र हुनुहुन्छ ।
‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०८०’ लोक गायक अमृत खातीलाई प्रदान गरिने भएको छ ।
‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ कृष्ण भट्टराई र शान्तिप्रियलाई प्रदान गरिने भएको छ ।
वि.सं. १९८२ पुस ३ गते जन्मिनुभएका नातिकाजीले “नेपाली हामी रहौंला कहाँ”, “यस्तो पनि हुँदो रैछ”, “मर्न बरू गाह्रो हुन्न (फत्तेमानको आवाजमा नातिकाजीको कम्पोज)”, “हे निराकार” लगायत नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, नाटक, गीतिनाटक, चलचित्र आदिमार्फत् आफ्ना २ सय बढीमा स्वर तथा २ हजार बढीमा सङ्गीत दिनुभएको उहाँको २०६० कार्तिक १६ मा निधन भएको हो । राष्ट्रपतिमार्फत् पुरस्कार हस्तान्तरण गर्ने परम्परा रहेको र उहाँका नाममा स्थापित सम्मान तथा पुरस्कारबाट कालीप्रसाद बासकोटा, राज सिग्देल, मान्डवी त्रिपाठी, अस्मिता अधिकारी, देवी घर्ति, राज सिंह, महेश खड्का, सुगम पोखरेल, चेतन सापकोटा, मेलिना राई, वद्री पङ्गेनी, नवराज केसी, प्राश्ना शाक्य, कोमल वली, राजेशपायल राई, शिव परियार, कृष्ण कँडेल लगायत धेरै स्रष्टाहरू सम्मानित भइसक्नु भएको छ ।
