पौष ८, आइतबार
मकवानपुर ।
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको हो ।
विभिन्न मुलुकबाट प्रेषित ८४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथाहरू सो सङ्ग्रहमा समावेश गरिएको छ ।
उक्त कथा सङ्ग्रहमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजङ्‍ग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, वसन्तबायुङ राई, शङ्‍कर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामामध्येबाट मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानका गरी २५ कथाहरूका साथै आख्यानकार भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा समेत समावेश भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त (बुढो लाकुरीको रूख), प्रमोद प्याकुरेल (काँचुली) र विजय हितान (चेपाङ, चमेरो र चिउरी) लाई क्रमशः रु. १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभयो । साथै उत्कृष्ट कथाका लागि २५ जनाले ५/५ हजार पुरस्कार राशि प्राप्त गर्नु भएको छ ।
तेस्रो हुन सफल कथाकार पर्यासाहित्य अभियन्ता विजय हितानको युद्ध साहित्य कृति ‘लाहुरेको रेलिमाई’ का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ बाट पुरस्कृत घोषित हुनु भएको छ ।
२०७६ सालमा पहिलोपटक प्रतियोगिता सुरू गरेको बाह्रखरि बुक्सको यस प्रतियोगितालाई विगतमाझैं डिसहोमले टाइटल स्पोन्सर गरेको हो भने अन्यमा नेपाल टेलिकम, एनआइएमबी, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल आयल निगम लिमिटेडको सहयोग रहेको छ । जसमा प्रकाशन पार्टनरमा फाइनप्रिन्ट रही आएको छ ।