प्रारम्भिकः
कवि हुनु बलियाहरूलाई ललकारेर निर्धालाई ढोग्नु हो भन्ने कवि भूपी शेरचनको जन्म टुकुचे, मुस्ताङमा १९९२ पुष १० गते भएको हो । सुब्बा हितमान शेरचन र आमा पद्माकुमारी शेरचनका सुपुत्रको वास्तविक नाम भूपेन्द्रमान शेरचन रहे पनि उहाँलाई नेपाली काव्यिक जगतमा भूपी शेरचनले नै प्रख्याति दिलाएको छ । त्यसो त लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालपछि नेपाली गद्य कवितालाई सर्वाधिक लोकप्रिय बनाउने अर्का कवि भूपी शेरचन नै हुनुहुन्छ ।

बाल्यावस्थाः
पुषको औंशीमा जन्मिएको भनी जन्मेको ६ महिनापछि मात्रै बाबुले अनुहार हेर्नु भएका उहाँको पारिवारिक व्यापार मुस्ताङ, पोखरा, बुटवल, भैरहवासम्म फैलिएको थियो । पाँच वर्षको सानो उमेरमैँ आमाको निधन भएको पाँच/सात वर्षपछि उहाँको परिवार बनारस हानियो । उहाँले बनारसमा नै स्कुल र उच्च शिक्षा पनि पूरा गर्नुभयो ।

राजनीति र लेखनः
राजनीतिमा राम्रैसँग लाग्दालाग्दै उहाँले प्रकाशन गर्नुभएको पहिलो कविताका रूपमा ‘परिवर्तन (२०१४)’ लाई लिने गरिन्छ । सुरूमा आफ्नो वास्तविक नामबाट नै लेख्ने गरे पनि नेपालमा चलेको राणाविरोधि आन्दोलनबाट प्रेरित भई उहाँले ‘सर्वहारा’ उपनाममा लेख्न थाल्नु भयो । बनारसमा रहँदा नै उहाँले स्नातक अध्ययन गर्नुभयो । नेपाल आएर पनि उहाँ कम्युनिष्ट पार्टीको जिल्ला सचिव बन्नुभयो । २०१३ सालमा युवा सम्मेलनमा रूस पुगेपछि उहाँको लेखनमा शोषण, दमनविरूद्धका सिर्जना थपिन पुगे । जसका कारण २०१५ सालमा निर्झर प्रकाशन भएको हो ।

कविता पढेपछि निम्नवर्गीय र मध्यमवर्गीयले आफ्नो अनुभव पाउनुपर्छ भन्ने भाव बोकेका कविता रचना गर्ने भूपी कवितामा परालको आगोको ताप नभएर अग्राखको आगोको तापका रूपमा सरजाम बुन्ने प्रयत्न पाइन्छ । कविता लेख्नु र त्यो पनि आम मान्छेले आफ्नो दुख, दर्द पाउनु वा झल्याँस्स ब्युँझिएर क्रान्तिको चेत विकास हुनु नै उहाँको कविताको विशेषता हो भन्न सकिन्छ । झट्ट हेर्दा सिकारू कविका रूपमा दलगत नारा, चिन्ह, जिन्दावाद र मुर्दावादका स्वरहरूलाई कविताशैलीमा ढालिएको भएता पनि लेखन जीवन सुरू भएको केही समयमैं उहाँका कलमहरूले सशक्त रचना गर्न थाल्नुभयो ।

प्रकाशित कृति र रचनाहरूः
भूपी शेरचनले लेखनको प्रारम्भमा ‘परिवर्तन’ शीर्षकको १ नाटक रचना गर्नु भएको पाइन्छ भने उहाँका ४ कविता संग्रह रचना ‘नयाँ झ्याउरे’ (२०१०-बनारस), ‘निर्झर’ (२०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२५) र ‘भूपी शेरचनाका कविता’ (२०५७-शिव रेग्मीद्वारा सम्पादित) प्रकाशित छन् । कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा त्यसै सेरोफेरोको रचना गर्दागर्दै उहाँको तेस्रो सङ्ग्रह घुम्ने मेचमाथि अन्धो मान्छेले युवाहरूप्रति भूपी शेरचन स्थापित कविका रूपमा परिचय मिलेको पाइन्छ । त्यसो त २०२६ मा साझा प्रकाशनद्वारा प्रकाशित २०१९ सालमा लेख्नु भएको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृतिका लागि पहिलो साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । बिसको दशकमा चर्चामा रहेका उनै कविका ‘सहीदहरूको सम्झनामा’ कविताभित्रका यी पङ्तीहरू पछिल्ला आन्दोलनहरूमा पनि सर्वाधिक चर्चामा रहने गरेका छन्ः

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।’……

कवितामार्फत् मान्छेहरूको बेथितिविरूद्ध व्यङ्ग्यवाण गर्दै उहाँले लेख्नुभयोः
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।…..

यो कवितामा उहाँले मानिसले बनाएका देउता र देउताले बनाएका मानिसबीचको तुलनात्मक अवस्था उल्लेख गर्नु भएको छ । दुवै निरास, उदास भएकै पनि आ-आफ्नै कारण छन् । जहाँ मानिसलाई रातरातभर उपियाँले र दिनदिनभर रुपियाँले टोक्ने गरेको अनि देवतालाई कसैले ढोग्ने र पूज्ने नगर्नाले दुवैले एकअर्कालाई धिक्कारीरहेका दृष्यहरू कवितामार्फत् छर्लङ्ग देखाइदिनु भएको छ ।

व्यक्तिगत आनिबानी र कमजोरीहरूः
जनमानसकै बोलीचालीको शब्द टपक्क टिपेर त्यसलाई सिङ्गार्न सिपालु भूपी शेरचन जसरी कवितामार्फत् सग्लो र अग्लो प्रतिभाका रूपमा चिनिनु भयो त्यसको ठिक विपरीत उहाँको जीवनलाई पनि अन्य धेरै सर्जकहरूमा आगो सल्किएझैं रक्सीले युद्ध जित्दै जित्दै गयो । समय समयमा युद्ध विराम गर्नुभन्दा पनि निरन्तर यसकै साथमा होमिइँदा उहाँलाई रक्सी र सत्तागानले उस्तैगरी छोएको उहाँका समकालीनहरू बताउँछन् । उहाँ आफूले समेत लामो समय रक्सी छोड्दा पनि मधुमेह र लामो समय बैठक, भेटघाट र लेखनमा लाग्नुपर्नाले चुरोटको अम्मलमा फसेको बताउनुहुन्थ्यो । आखिर चुरोटले नै उहाँलाई गम्भीररूपमा बिरामी बनाइछाड्यो । त्यसका साथसाथै तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठान (हाल प्रज्ञा प्रतिष्ठान) मा प्रवेशका लागि (२०३६-४६) उहाँमा पलाएको लोभप्रति लेखक वृत्तमा छिटफूट कान फुक्ने काम अझै हुने गरेका छन् नै । तथापि क्रिकेट र गीतसङ्गितमा निकै चासो राख्ने उहाँले जीवनका प्रारम्भदेखि नै परिवार तथा थकालीहरूले धान्दै आएको परम्परागत व्यापारमा नलागेर साहित्य सिर्जनामैं व्यतित गर्नुभयो । यसै साल मात्रै नेपाली चलचित्र ‘चिसो एष्ट्रे’ उनै भूपीको घुम्ने मेचमाथिको अन्धो मान्छे कविता सङ्ग्रहभित्रको ‘चिसो एष्ट्रे’ बाट प्रभावित भएको भनिएको छ ।

मनमनमा भूपीः
‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ’ उहाँले लेख्नु भएको यो गीत अहिले पनि हरेक विद्यालयमा बज्ने गरेका छन् । विद्यालय तहमा उहाँको कविता, गीत, जीवनी अध्ययन गराइनुले पनि दूर भविष्यसम्म उहाँको योगदानको कदर रहिरहने अपेक्षा गर्न सकिन्छ ।  यसर्थ शिक्षक र विद्यार्थीहरूले नै उहाँलाई जुगजुग जन्माइरहनु हुनेछ । तब न भविष्यतक रहिरहने अपेक्षा गर्न सकिन्छ । त्यसो त ‘कोइली गाउँछ हिमाल हाँस्छ, नाच्दछ मयुर’ उहाँले नै लेख्नुभएको गीत हो । सानैदेखि आमाको माया नपाउनाले पनि त्यही संवेदनाले आफूलाई कवि बनाएको हुनसक्ने आँकलन गर्ने उहाँको एउटा गम्भीर कविता यहाँ उल्लेख गर्नु उपयुक्त हुन आउँछः
तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति
०००
जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवरका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु!
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु!
ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रो आफन्तहरुको लाशको!
(पोखरा)

पुरस्कार र सम्मानः
२०२६ सालको पहिलो साझा पुरस्कार र २०४२ सालको गोरखा दक्षिणबाहु (दोस्रो) उहाँले प्राप्त गर्नुभएको पुरस्कार हो । २०५६ सालमा उहाँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा आएको हो ।
यस्तै उहाँको स्मृतिमा ‘भूपी शेरचन काव्य पुरस्कार’ कवि भूपी शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गरिने पुरस्कार हो । जुन वर्षेनी एक साहित्य सर्जकलाई दिइने गरिन्छ । हालसम्म सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचनले यो पुरस्कार प्राप्त गर्नु भएको छ ।

निश्कर्षः
हामी नयाँपन नखोज्ने, आफ्नै घेरामा रुमल्लिरहन चाहने रङ्‍गरोगन छुटेका क्यारमबोर्डका गोटी हौं, हामी बुद्धु हौं र त वीर हौं, हामी पानीका निर्बलिया थोपा हौं भनेर क्रान्तिकारितालाई आफ्ना रचनामा घुसाउँदै परिवर्तनका बिगुल फुक्ने भूपी मुस्ताङका टुकुचेमा जन्मिएर पोखरा बसाइ हुँदै जीवनको उत्तरार्द्धमा काठमाडौंको टुकुचामा रहँदा नै २०४६ जेठ १ गते संसारबाट विदा लिनुभयो । उहाँ आफ्ना सिर्जनाहरूका साथ हजारौं वर्ष बाँचिरहनुहुनेछ । भूपीले हामीलाई चिनो दिनु भएका कविता अनि गीतहरू पठनीय र मननीय छन् । त्यसकै वरपर हामी उहाँलाई पाइरहनेछौं ।
यी शब्दहरू उनै भूपीप्रति समर्पित छन् । (संप्रस पौडेल)

सन्दर्भ सूचीः
www.bhupisherchan.com का २ चरणका अन्तर्वार्ता
युट्युबः भगवती शेरचनको अन्तर्वार्ता
कविता कोष हिन्दी
लेखकका पुस्तक र विभिन्न आलेखहरू