पौष १४, शनिबार
मकवानपुर ।
हेटौंडा उपमहानगरपालिका नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नम्बर वडा प्रथम भएको छ ।
नगर बाल समूह सञ्जालको आयोजनामा शनिबार हेटौंडामा भएको सो प्रतियोगितामा १७ नम्बर वडा दोस्रो, ४ नम्बर वडा तेस्रो र ११ नम्बर वडा सान्त्वना भएको हो ।
प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
१९ वटै वडाबाट सहभागिता रहेको प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुरस्कारस्वरुप साहित्यिक पुस्तक, कलम र डायरी वितरण गरिएको छ ।
गरस्तरीय बाल समूह सञ्जालको आयोजना तथा बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा अतिरिक्त कार्यक्रम अन्तर्गत नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आयोजना भएको हो ।
नगरस्तरीय बालसमुह सञ्जालका अध्यक्ष सौरज देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट आतिथ्यता हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ रहनु भएको थियो ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक श्री विष्णु कुमारी लामिछाने प्रश्नकर्ता रहनु भएको कार्यक्रममा बालमैत्री वडा सम्पर्क व्यक्तिहरु, नगर तथा वडा सहजकर्ताहरु, वडास्तरीय बालसमुह सञ्जालका प्रतिनिधिहरु, नगर सञ्जालका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विजयी प्रतियोगीहरुलाई प्रमाणपत्रसहित अन्य वातावरणमैत्री पुरस्कार समेत वितरण गरिएको थियो भने नगर बाल समूह सञ्जालको तर्फबाट नगर प्रमुख लामालाई मायाको चिनो प्रदान गरिएको थियो । आजको कार्यक्रम रोयल प्यालेस हेटौंडामा सञ्चालन गरिएको हो ।
