चार्ली चाप्लिन एक बेलायती हास्य अभिनेता, चलचित्र निर्माता, निर्देशक, पटकथा लेखक, सम्पादक, सङ्गीतज्ञ हुन् ।
सन् १८८९ अप्रिल १६ मा बेलायतको राजधानी लण्डनमा जन्मिएका उनी हास्यव्यङ्ग्यका माध्यमबाट विश्व चर्चित कलाकार हुन् ।
उनको खास नाम चार्ल्स स्पेन्सर चाप्लिन हो तर पनि संसारभर उनी चार्ली चाप्लिनकै नामबाट चर्चामा रहे ।
हुन त संसारका जो सुकै पनि उनको हास्यव्यङ्ग्यबारे अनभिज्ञ छैन । १० वर्षको उमेरदेखि मृत्युको एक सालअघिसम्म अभिनयमा डुबेका उनको जीवनका दर्दनाक पीडा, रोचक अनि रमाइला क्षणहरूबारे चर्चा गर्नेछौं ।
सानैमा बुबाको मृत्यु र चरम आर्थिक समस्याः
चर्चित कलाकार रहेका तर रक्सी पिउने बानीले खराब स्वास्थ्यका कारण बुवाको मृत्यु भएपछि चार्ली चरम आर्थिक समस्याबाट गुज्रिएका थिए । उनको बुबा राम्रो अभिनेताका साथै नाम चलेका गायक थिए । आमा हान्ना चाप्लिन पनि अभिनेत्री, गायिका, नृत्याङ्गना थिइन् । जसका कारण चार्ली चाप्लिनले सानैदेखि नै अभिनय कला सिक्ने मौका पाएका थिए ।
आमा बिरामी भएपछि उनले घर चलाउनकै लागि १३ वर्षको उमेरमा अभिनय सुरु गरेका थिए । त्यसको करिब एक वर्षपछि उनले एउटा नाटकमा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए । सो अभिनयको निकै चर्चा भएपछि उनको अभिनय यात्राले उचाइ लिएको थियो । १८९४ मा चार्ली ५ वर्षको हुँदा उनकी आमा गीत गाउनका लागि इङ्ल्याण्डको एक हलमा प्रवेश गर्दा एउटा दुखद घटना घट्यो। उनकी आमाको गलामा खराबीका कारण उनले आधाआधीमैं गीत गाउन सकिनन् र दर्शकहरूले भेटेजतिका वस्तु उनैतिर बर्षाउन थाले । यसरी उनलाई आयोजकले हलबाट बाहिर निकालेपछि बालक चार्ली यो दृश्य देखेर आफैं हलमा प्रवेश गरे र गीत गाउन थाले । बिरामी भएपछि उनकी आमाले पेन्टोमाइम (नाट्य अभिनयअन्तर्गतको हास्य विधा) कलामार्फत् आफ्ना छोराछोरीलाई रमाइलो आफ्ना विगतका घटना र कथाहरू देखाउन थालिन् । यसरी स्वास्थ्यसँग सङ्घर्ष गर्दै गरेकी उनकी आमाको निधन भने मानसिक स्वास्थ्यमा खराबी बढ्दै गएर चार्ली ३९ वर्षको हुँदा संयुक्त राज्य अमेरिकामा भएको हो । चार्लीको जीवनमा चरम गरिबी नै उनको कला प्रस्तुत गर्ने र कमाइ खाने तथा भाइहरूको शिक्षादिक्षा तथा उपचारको लागि सहयोगी बन्यो ।
दोस्रो विश्वयुद्धमा संसार होमिइरहेको बेलामा चार्लीले सन् १९४० मा जर्मन तानाशाह हिटलरबारे ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । फिल्ममा हिटलरको मूख्य भूमिका उनी आफैंले निभाएका थिए । हिटलरलाई हास्य चरित्रमा प्रस्तुत गरेका चार्लीको अभिनयको निकै प्रशंसा भएको थियो । टाइम्स म्यागजिनले सन् १९३८ मा म्यान अफ दि इयर घोषणा गरेका उनै हिटलरको दुखद अन्त्य सन् १९४५ मा भएको थियो ।
शिक्षाः
चार्ली चाप्लिनले सबैभन्दा बढी समय विद्यालयमा बिताएको भन्नु नै अनाथ र असहाय केटाकेटी पढ्ने विद्यालयमा बिताएको १८ महिना नै हो । टाउकोमा दादले सताएपछि उनको कपाल समय समयमा मुन्डन गरिन्थ्यो । उनलाई त्यो सबैभन्दा उदेक लाग्दो हुन्थ्यो । तर आर्थिक सङ्कट भोगिरहेका उनी चलचित्रकै कारण एकाएक लखपति बने ।
चार्लीको पहिचानः
ह्याट, नाकमुनिमात्रै छुस्स जुँगा (Handlebar moustache), पाइताला दायाँबायाँ फर्काएर हिँड्ने हिँडाइ, हातमा लौरो, गोडामा माथिसम्म आउने बुट आदि उनका लवाईका पहिचान हुन् । उनका चलचित्रहरू अङ्ग्रेजी, फ्रेन्च, पोर्चुगिजलगायत संसारका थुप्रै भाषामा फैलिएकाले उनलाई संसारका मानिसहरूले एकै पटक चिन्ने मौका पाए । पेन्टोमाइम जसलाई नाट्य विधाको एक हास्य विधा मानिन्छ । यसमा सामान्य बोलीचाली गर्न पाइन्छ भने माइम प्रस्तुतिमा संवाद बर्जित छ । यसैले चार्ली चाप्लिनले मौन चलचित्रहरू निर्माणमा जोड दिनुको कारण यो अभिनयबाट सबैलाई बुझाउन सक्नु हो भन्न सकिन्छ । यसअर्थमा उनले पेन्टोमाइमको विकासका लागि प्रशस्त अभिनयहरू गरेका छन् ।यसमैं उनको पहिचान खुलेको पाइन्छ ।
चलचित्रमा प्रेरणा र विकासः
उनी चलचित्रमा प्रेरणाका रूपमा आफ्ना बुवा र आमालाई लिन्थे । उनले सन् १९१२ देखि नै अमेरिकामा आफ्नो भविष्य देख्न थालेका थिए । सन् १९१३ मा दोस्रो पटक अमेरिका भ्रमणका क्रममा किस्टोन स्टुडियोमार्फत् अमेरिकामा उनलाई हप्ताको १ सय ५० डलरमा अनुबन्ध गरिएको थियो । १९१४ मा उनले Making a Living मा ठगको भूमिकाबाट खुबै चर्चा पाए । सोही वर्ष हप्ताको १ हजार २ सय डलर हुँदै उनले बोनस समेत १० हजार प्राप्त गरे । चाँडै नै उनले १ लाख डलर कमाए । हुन त १९०८ मा पहिलो हलिउड (हलिउड भन्नाले अमेरिकाको लस एन्जलस क्षेत्रको एक ठाउँ भन्ने बुझिन्छ, जहाँ चलचित्र उद्योगहरू रहेका छन् ।) चलचित्रका रूपमा The Count of Monte Cristo लाई लिइन्छ भने चार्लीको समयसम्म आउँदा यसको विकासकै क्रम चल्दै थियो । सोही क्रममा उनले १९१९ मा अन्य ३ जना साथीहरू मिलेर आफ्नै फिल्म स्टुडियो बनाए । उनका दर्जनौं चलचित्रहरूमा उनले लिटल ट्रम्प चरित्र (उनको ब्रान्डका रूपमा रहेको जुँगा, ह्याट, लौरो, जुत्ता) मा देखिन्छन् । संसारभरका चलचित्रप्रेमीहरूले यो चरित्रलाई मन पराए ।
संवादविहिन चरित्रले चर्चाः
चार्ली संवादविहीन फिल्मका लागि हालसम्मकै सबैभन्दा प्रभावशाली कलाकार मानिन्छन् । सन् १९२७ को The Jazz Singer बाट उनले मौन चलचित्र सुरूवात गरे । जसमा सङ्गीतको साथमा अभिनय गरिएको थियो ।त्यसो त सन् १९२८ को द सर्कस पनि मौन चलचित्र थियो । जसमा प्रयोग गरिएको सङ्गीतमाथ भने विवाद रह्यो । सन् १९३१ को सिटी लाइट्स र १९३६ को मोडर्न टाइम्समा पनि उनले यस्तै प्रयोग गरे । उत्कृष्ट अभिनय र मानिसलाई हँसाउने विलक्षण प्रतिभाका कारण चार्लीलाई १९७२ मा मानार्थ अस्कर अवार्डबाट सम्मानित गरिएको थियो ।उनलाई मौन चलचित्र अभिनेताका रूपमा सर्वाधिक चर्चाको शिखरमा पुर्याउने चलचित्र १९१५ को द ट्राम्प अर्थात् द लिटल ट्राम्प नै हो । यस चलचित्रमा गाडीको आवाजले तर्सिएकर भुइँमा पछारिएकोदेखि धुलो सफा गर्ने तरिकासम्म, रूखमुनि बसेर जुत्ता सफा गर्दा, गोजीबाट नुन झिकेर झार उखेलेर खाएकोसम्मका क्रियाकलाप निकै रमाइलो देखिन्छ । आफू र एक युवतीमाथि आक्रमण गर्नेहरूलाई चार्लीले गरेको कारबाहीको दृश्यदेखि उनको पाइन्टको पछाडी आगो लागेर धुवाँ उडेको दृश्यसम्म निकै हास्यप्रधान देखिन्छ । मौनताको भाषा सबैले आआफ्नै भाषामा बुझ्ने हुँदा यो चलचित्र उनको जीवनकै सबैभन्दा बढी चर्चामा रहेको चलचित्र मानिन्छ । गाईको पुच्छार तानेर कल धारोमा पानी आएझैं दूध निकाल्न खोज्नेदेखि जुध्ने तरिकासम्म अनि खन्नका लागि हतियार बोक्ने तरिका होस् वा कृषि फाराममा भारी बोक्दाको अवस्थामा होस् उनको काम गराइमा प्रयोग भएका मूर्खताका कारण पनि यो चलचित्र सर्वश्रेष्ठ हास्यप्रधान बनेको छ । आफैंलाई मूर्ख बनाउन साहस चाहिन्छ भन्ने चार्ली चाप्लिनले आफ्नो मुर्खताबाट दुनियाँलाई भरपुर मनोरञ्जन दिएका छन् । उनको फिल्ममा कार्टुन श्रृङ्खलाका झझल्को देख्न पाइने भएता पनि सन् १९४० देखि नै विश्व चर्चित कार्टुन श्रृङ्खला टम एन्ड जेरी सुरू भएको हो । वाल्ड डिज्नेले सन् १९२८ मा Lucky Rabbin अर्थात् भाग्यमानी खरायोलाई पहिलो कार्टुन एनिमेसनका लागि चित्रका रूपमा उतारेका हुन् ।
आरोपमुक्त रहन सकेनन्:
सन् १९५० को सुरूतिर चाप्लिनमाथि कम्युनिष्ट समर्थक भएको आरोप लाग्यो । उनको पोशाक र विचारका कारण उनी लामो समयदेखि निगरानीमा थिए । उनीद्वारा निर्देशित नाट्य चलचित्र लाइमलाइटको प्रिमियरमा भाग लिन पाएनन् । उनको जीवनकथामा आधारित भनिएको सो फिल्म सन् १९७२ मा पुनः रिलिज गरिएको थियो । यस घटनापछि उनी केही समय इङ्ल्याण्ड र पछि जीवनको अन्तिम कालसम्म स्विजरल्याण्ड बसे । सो समयमा अमेरिका र सोभिय सङ्घबीच शीतयुद्धको समय रहेकोले विभिन्न आशङ्का तथा हल्लाहरू चर्चामा थिए । सोही समयमा उनी अमेरिका (हलिउड) द्वारा कालोसूचीमा राखिएका अभिनेता बन्न पुगे । १९५२ पछि एकै पटक १९७२ मा पुरस्कार ग्रहणका लागि मात्रै उनले अमेरिका टेके । तर उनले अमेरिकाको नागरिकता भए कहिल्यै लिएनन् ।
त्यसो त उनले नवीन प्रविधिलाई स्वीकार गर्न सकेनन् भन्ने आरोपबाट समेत उनी मुक्त छैनन् ।ट्राम्प चर्चित भएपछि पछिल्ला चलचित्रहरूलाई सोभन्दा माथि लैजान आनाकानी गरेको भन्ने गुनासोहरू उनका सहकर्मीहरूले गरेका भनी विभिन्न जर्नलहरूमा पढ्न पाइन्छन् ।
चार्ली चाप्लिन २९ वर्षको हुँदा उनले १६ वर्षकी मिल्ड्रेड ह्यासिससँग विवाह गरे । ३५ वर्षको उमेरमा १६ वर्षकी लिटा ग्रेसँग बिहे गरेका थिए भने ५३ वर्षको हुँदा १८ वर्षकी उना ओनेइलसँग चौथो विवाह गरेका थिए । यसरी कम उमेरकी महिलासँग विवाह गरेका कारण उनी निकै विवादित पनि बने ।
असफल वैवाहिक सम्बन्धः
चार्लीले पहिलो विवाह मिल्ड्रेड ह्यारिससँग सन् १९१८ मा भयो । सन् १९२० मा अर्थात् २ वर्षमैं सम्बन्धविच्छेद भएपछि सन् १९२४ मा उनले लिटा ग्रेलाई दोस्री पत्नीका रूपमा विवाह गरे । तर यो सम्बन्ध पनि ३ वर्ष अर्थात् १९२७ भन्दा अघि बढ्न सकेन । सन् १९३६ मा तेस्री पत्नीका रूपमा उनले पउलेट गोडार्डलाई स्वागत गरे । अघिल्लाझैं ६ वर्ष अर्थात् १९४२ मैं यो सम्बन्धमा बिट मार्न पुगे । सन् १९४३ मा विहे गरेकी उना ओनेइल उनको जीवनकालसम्मकी सारथी बनिन् ।
उनका प्रेरक भनाइहरूः
* हाँसो बिनाको दिन भनेको एक दिन बर्बाद हुनु हो।
* आफैंलाई मूर्ख बनाउन साहस चाहिन्छ ।
* नजिकबाट हेर्दा जीवन एक त्रासदी हो तर लामो दृष्यमा बुझ्दा यो एक कमेडी हो ।
* कल्पनाको अर्थ केही पनि होइन ।
* मानिसको वास्तविक चरित्र नशामा हुँदा देखिन्छ ।
* जीवन एक इच्छा हो, अर्थ होइन।
* म केवल एक चीजका रूपमा रहन्छु, त्यो एक जोकर हो । यसले मलाई कुनै पनि राजनीतिज्ञभन्दा धेरै उचाइको विमानमा पुर्याएको महसूस हुन्छ ।
* तानाशाहहरू आफू स्वतन्त्र हुन्छन् तर उनीहरूले जनतालाई दास बनाउँछन् ।
* मानिसहरूको घृणा हट्नेछ, तानाशाहहरू मर्नेछन् र तिनीहरूले जनताबाट लिएको शक्ति जनतामैं फर्कनेछ ।
* हाँसो ओखति हो, राहत हो, पीडाबाट छुटकारा पाउनु हो ।
* म विश्वकै नागरिक हुँ ।
* हामी धेरै सोच्छौं र थोरै महसूस गर्छौं ।
* यदि तपाईँ आफैंसँग सत्यवादी हुनुहुन्छ भने यो एक अद्भुत मार्गदर्शन हो ।
अभिनित चलचित्रहरूः
उनले सन् १९१४ मा झण्डै ३ दर्जन चलचित्रहरूमा अभिनय गरे ।सन् १९१५ मा १ दर्जन बढीमा अभिनय गरे ।यसरी उनले ८२ भन्दा बढी चलचित्रमा अभिनय गरेका अभिलेखहरू प्राप्त छन् ।
Making a Living (1914), Kid Auto Races at Venice (1914), Mabel’s Strange Predicament (1914), A Thief Catcher (1914), A Night in the Show (1915), The Pawnshop (1916), The Kid (1921), City Lights (1931), The Great Dictator (1940), Monsieur Verdoux (1947), Limelight (1952), A king in New York (1957), A Countess From Hong Kong (1967) आदि उनका चलचित्रहरू हुन् । Shoulder Arms (1918), The Pilgrim (1923), The Circus (1928) आदि उनका सर्वाधिक चलचित्र हुन् । IMDB मा उनका चलचित्रले १० अङ्कमा ७ भन्दा बढी प्राप्त गरेका चलचित्रहरू The Vagabond (1916), One A.M. (1916), The Pawnshop (1916), The Rink (1916), Easy Street (1917), The Cure (1917), The Immigrant (1917), The Adventurer (1917), A Dog’s Life (1918), The Kid (1921), The Idle Class (1921), Pay Day (1922) छन् । The Gold Rush (1925) र The Circus (1928) ले ८.१ रेटिङ प्राप्त गरेको छ भने City Lights (1931) र Modern Times (1936) को रेटिङ ८.५ रहेको छ ।यसरी IMDB मा ८ अङ्कमाथिका उनका चलचित्रहरू आधा दर्जन रहेका छन् ।
पुरस्कार र सम्मानः
३ पटक एकेडेमी अवार्ड विजेता उनी १९१४ देखि १९५२ सम्म हलिउड चलचित्र दुनियाँका सर्वाधिक चर्चाका पात्र हुन् । लाइमलाइट फिल्म हलमा लगातार ३ महिना चल्यो । एक दशकपछि अर्थात् सन् १९७२ मा निर्वासनको अन्त्यपश्चात् चाप्लिनले आफूमाथि लागेका प्रतिबन्धका दागहरू मेटाउँदै अवार्ड ग्रहण गरे र १२ मिनेटसम्म ओस्कार इतिहासमैं सबैभन्दा लामो (१२ मिनेटको) ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरे ।ओस्कारले उनलाई इतिहासमैं सबैभन्दा बढी हसाउने कलाकारका रूपमा चित्रित गर्दै लौरो र ह्याट दिएर सम्मान गर्यो । आफ्नो जीवनमा उनले ईटालीद्वारा विदेशी भाषाको चलचलित्र सिल्भर रिवन (१९५३), बोडिल अवार्ड (१९५९), बाफ्टा अवार्ड (१९७६), बेस्ट अमेरिकन फिल्म अवार्ड, भेनिस फिल्म फेस्टिभलमा सम्मान, ब्लु रिबन अवार्ड (१९५३, जापान) लगायत दर्जनौं सम्मानहरू प्राप्त गरे । सन् १९७२ मा मानार्थ ओस्कार तथा चलचित्र लाइमलाइटका लागि सन् १९७३ मा ओस्कारको बेस्ट म्युजिक अवार्ड प्राप्त गरे ।
रोचकः
भारतीय कलाकार राज कपुरलाई भारतका चार्ली चाप्लिनका नामले चिनिन्छ । चार्लीका सम्बन्धमा एउटा चर्चित घटना रहेको छ । चार्ली चाप्लिन जस्तै बन्ने होडबाजी चलेको थियो ।जसमा चार्ली चाप्लिन २०औं स्थानमा परेका थिए भने बब हपले सो प्रतियोगिता जितेका थिए ।
चाप्लिनको नाममा स्थापित अवार्डः
फेसन र मनोरन्जन क्षेत्रकी चर्चित हस्ति कियरा चाप्लिन उनै चार्ली चाप्लिनकी नातिनी हुन् । उनले स्थापना गरेकी चाप्लिन अवार्ड हरेक महादेशका फिल्म क्षेत्रका हस्तिहरूलाई प्रदान गर्ने गरिन्छ । फ्रान्सको पेरिसमा चाप्लिन अफिस रहेको यस संस्थाअन्तर्गत चार्ली चाप्लिनको परिवार तथा सम्बद्ध बौद्धिक तथा अन्य सम्पत्तिको अधिकार रहेको छ ।
निधनः
सन् १९७७ डिसेम्बर २५ मा उनै बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा मस्तिष्कघातका कारण ८८ वर्षको उमेरमा निधन भएको हो । मृत्युपछि पनि रोचक त के भने उनको शव चोरी भयो । स्वीस नागरिकको एउटा समूहले उनको शव चोरेर परिवारबाट पैसा लिने प्रयास गरेका थिए । ६ लाख डलर माग गर्ने अपराधीहरू समातिएपछि अर्थात् मृत्युको ११ हप्तापछि जेनेभा ताल नजिकै शव फेला पर्यो । थप घटना नहोस् भनेर उनलाई जमिनमा गाडेर कङ्क्रिटले छोपिएको थियो ।
सन्दर्भ स्रोतः
- ओस्कार युट्युब च्यानल
- चाप्लिनका भिडियोहरू
- www.charliechaplin.com
- Hanna’s Chaplin Diary
- Wikipedia: Limelight review
- The Guardian magazine
- www.history.com
(लेखन/सङ्कलनः संप्रस पौडेल, मनहरी-५, मकवानपुर)