यो समयको ऐंठनले
मेरो गला अठ्याएर
श्वास–प्रश्वास अबरुद्घ बनाइरहेछ
मुटुका धड्कनहरू
बेचाल बनाइरहेछ
नयनहरू, एक तमास सुस्ताइरहेछ
मस्तिष्क बञ्जर बाँझो झैँ लागिरहेछ
यहि समयको छायाँले……..

यो समय
जस्तो उदाउँछ
त्यस्तै अस्ताउँछ पनि
बीचमा हुँदैन कुनै घात प्रतिघात
क्रिया–प्रतिक्रिया
अतः यो समयको बीचमा
बादलहरू वर्षन जान्दैनन्
फुलहरू वास्ना विना नै फूल्छ
र ओइलाउँछ पनि

सबै–सबै
अपरिचित हाँसो मात्र फुसफुसाउँछ
अनि पक्ष विपक्षको विरुद्धमा
विगुल फूक्छन नाराको
अनि मञ्चन हुन्छ
बेग्ला–बेग्लै नाटकहरू
फरक रङ्गमञ्चहरूमा

हो यही समय हो
म माथिको आकाश बिरानो भएको
मैले टेकेको जमिन भासिएको

यसैले हो मलाई
अचेत अवस्थामै
थप्पड हानेर दौडेको
त्यसैले,
आज चेतना जागेको दिन
सुरु गर्नुछ
एउटा युद्ध
यो ऐंठन समयको विरुद्धमा ।

बकैया–४, मकवानपुर ।