पुस २०, बुधबार
मकवानपुर । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ ।
मैथिली विकास कोषको गत बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृतिक केन्द्रमा हुने तथा महोत्सव ५ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा राजनीतिक, सामाजिक, साहित्यक र आर्थिक विषयउपर विमर्श हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।
नेपाल र भारतका कलाकारबाट मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँचवटा भाषामा नाटक प्रदर्शन हुनेछ भने महोत्सवमा मिथिला चित्रकला, पुस्तक, नाटक, मिथिलाको भोजनको विभिन्न परिकारको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।
नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सव २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । महोत्सवलाई मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
