पुस २०, शुक्रबार
मकवानपुर । लेखक माधव काफ्ले जगदीश घिमिरे साहित्य पुरस्कार २०८० बाट पुरस्कृत हुनु भएको छ । रामेछापको मन्थलीमा आयोजित समारोहमा वरिष्ठ स्रष्टा तुलसी दिवसको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा निबन्धकार काफ्लेले ५१ हजार राशिको जगदीश घिमिरे पुरस्कार प्राप्त गर्नु भएको हो । जगदीश घिमिरे प्रतिष्ठानले घिमिरेको १० औं स्मृति दिवसको अवसरमा प्रदान गरेको हो । यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा. सन्दुक रुइत र ध्रुव सापकोटा उक्त पुरस्कारबाट पुरस्कृत भइ सक्नु भएको छ । यसै महिनामा काफ्लेले १० हजार राशिको रमेश विकल सिर्जना पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।
रामेछापको मन्थलीमा विसं. २००२ सालामा जन्मिनु भएका स्वर्गीय घिमिरे साविति, लिलाम, अन्तर्मनको यात्रा, सकसजस्ता चर्चित कृतिका कृतिकार हुनुहुन्छ । नेपाली साहित्यमा नौलो शैलीको कृति ‘अन्तर्मनको यात्रा’ ले २०६४ सालको मदन पुरस्कार जितेको थियो ।
नगेन्द्रराज शर्मा, माधव काफ्ले, उषा शेरचन, हरिकृष्ण काफ्ले, मनोज न्यौपाने, अश्विनी कोइराला, डा. सुमन कर्माचार्य, नविन केसी, रमेश ढुंगेललगायत कविहरुले आ-आफ्ना रचना तथा साहित्यमा जगदीश घिमिरेले पुर्‍याएको योगदानको चर्चा गर्नु भएको थियो ।