पौष २१, शनिबार
मकवानपुर ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको नियमित मासिक भेटघाट एवम् गजलकार/ मुक्तककार मिथिला अधिकारीको रचनावाचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले हरेक महिनाको तेस्रो शनिबार मासिक भेटघाटको कार्यक्रम गर्ने गरेको अध्यक्ष भावना सापकोटाले बताउनुभयो ।
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा सल्लाहकार तथा संस्थापक पूर्णकला घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गजलकार तथा मुक्तककार मिथिला अधिकारीले आफ्नो एक दर्जन मुक्तक तथा पाँचवटा गजल वाचन गर्नुभयो । साथै मुक्तककार भवानी तिमल्सिना न्यौपानेले वाचित मुक्तकमाथि टिप्पणी गर्दै भन्नुभयो- “छोटो समयमै साहित्यका विभिन्न विधामा कलम चलाउन सफल मिथिला अधिकारीका रचनाहरू सुन्दर, सरल भाषाशैलीको प्रयोग गरिएको तथा सम्प्रेष्य हुनुका साथै समसामयिक विषयवस्तु तथा समस्याहरूलाई बडो रोचक ढङ्गबाट उठाई त्यसको बैठान गर्न सक्ने खालका हुन्छन् ।”
आँचल स्थापनाको मूख्य उद्देश्य भनेकै हाम्रा समाजमा लुकेर रहेका प्रतिभाहरू प्रस्फुटनका लागि मञ्च प्रदान गर्नु तथा महिलाहरूको आत्मविश्वास बढाई आफ्नो मनमा लागेका कुराहरू सहजै अरुका अगाडि प्रस्तुत गर्न सक्ने बनाउनु भएकाले कार्यक्रम ओैचित्यपुर्ण भएको बताउँदै कार्यक्रमका प्रमुख अथिति पूर्णकला घिमिरेले आगमी दिनहरूमा पनि आँचलले यस्ता कार्यक्रमहरू गर्नुपर्ने बताउनु भयो ।
अतिथिहरूलाई कार्यसमिति सदस्य एलिजा पुडासैनीले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा एस.आर. मञ्जरी, दिनेश शर्मा, शोभा शाह थापा, डिबी बर्तौला, सानु खनाल, बैकुण्ठ लामिछाने, अनु रोक्का, छवि अनित्य, मसान उपासकलगायतका साहित्य सर्जकहरूले रचना वाचन गर्नुभयो ।
साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सम्पन्न कार्यक्रमलाई संस्थाकी कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गर्नु भएको हो ।
