न दसैं न तिहार, न चाड न पर्व
हेरेरै तस्बिर भुलाउनु छ मर्म
न आफन्त छन्, न छन् साथीभाइ
बाँच्नु छ घरको याद सजाई ।

दुख्ने यो जीउ टाउकोमा ऋन
फेर्नु छ घरको चुहिने टिन
न सुरक्षा छ, न छ यहाँ माया
याद आउँछ पछ्याउने आमाको छायाँ ।

मुटुको धड्कन शरीरको सास
धान्नु छ मैले परिवारको आश
मन र शरीरको दुःखको झोला
आफूले लुकाई कतिसम्म होला ?

आँखाको आँशु बगाउनु कि रोक्नु ?
एक्लो यो मन कति थोक बोक्नु ?
देशको याद नआउने त होइन
कतै म विदेशमैँ अस्ताउने त छैन ?

फर्केर आउन त मन छ नि आमा
रमाउन आफ्नै डाँडा पाखामा
स्वदेश नै स्वर्ग भनेरै रमाई
कसरी छोड्नु छाक टार्ने कमाई ?

फर्कौँला आमा केही वर्ष पख्नु
पात्रोमा दिन कोरेर राख्नु
साथी सङ्‍गी, दाजु र भाइ
रमाउँला आफ्नै देशमा आई ।
(ब्रह्मदिक एकेडेमी, हेटौंडा-४)