रातभर बास बसेपछि शीत
मेरो खरको छानोमा
चिस्यानको सुन्दरताले
मुर्छित बनाएको छ
मेरो दैनिकी
आइसक्दा चारैतिरका अग्ला घरको बरन्डामा
घामको बिस्कुन
मेरो झुपडीमा आउनुअघि नै
पुजीवादको अपहरणले
किन घेराबन्दीमा परेको छ
घामको गणतन्त्र !
भकारोले फेरिरहेको छ
चिसो श्वास
बाफले हानिरहेको छ झट्टी
घामको झुत्तोमा
व्यग्रताको किलोमा उभिएर
मालीगाई बोलाइरहेको छ घामको जन्ती
पठ्याङ्ग्रापठ्याङ्ग्री दौडिरहेछन्
यता उता घामको प्रेमिल प्रतीक्षामा
आगाको अगुल्टो
लगाइरहेछ दाउरासँग मीत
डेक्चीको कुँडे चिसो पिएर मुर्छित छ
घाम न आइपुगेको रिसमा घर घेरिरहेको छ
पिरो धुवाँ
अग्लो घरको माथिल्लो तलाको बरन्डामा उभिएर
पुजीवादको डबलबेडको तन्नाले फेरि गर्लम्मै छेकेको छ
मेरो घरको ढाडैमा ओर्लन लागेको घाम
फेरि दोश्रो पटक पनि
आलिसान पुजीवादको ओछ्यानको घेराबन्दीमा परेको छ
घामको गणतन्त्र
अगेनुको छेवैमा
बिँडीको चुम्बनमा फतफताइरहनु भएको छ श्रीमान्
घाम पनि छेक्न सक्ने रहेछ हो पैसा हुनेले त
अलि चर्कै कड्किरहनु भएको छ
एक्लै
तातेपछि धुवाँको पारो
छोडेर दाउराको सङगत
एक्लै निस्किएको छ आवेगमा
को हो त्यो घाम छेक्ने ?
पिरो धुवाँको हतियार बोकेर
ठुला घरको कोठाकोठा विद्रोह छर्दै हिँडेको छ धुवाँ
त्यत्तिकैमा च्याठ्ठिनु भएको छ सिरानको तलाबाट मालिक्नी
कति पताको हो धुवाँ
ग्यास बाल्नु नि !
जम्मै धुवैधुवॉले स्वास फेर्नै सकिएन
मरिने भो ।
मार्ने भए यिनका सन्तानले हामीलाई ।
रिसानी हुनुभयो उहाँहरू भनेर
म चुपचाप फेरि ठोकिरहेको छु दाउराको खप्परहरू
र कुरिरहेछु घामको आगमन
तोडन नसकेर चौतर्फी घेराबन्दी
निसास्सिएर पुजीवादको उचाइको चेम्बरमा
घामको गणतन्त्र
पुन : यो पटक पनि
आउन सकेको छैन घाम पिँढीको पोल्टासम्म
धुवाँको उचाइमा रिसको उचाइ थपेर
अझै थपेर धुवाँ बेतोडले सल्काएर बिँडी
श्रीमानले कड्केर फेरि बोल्नु भो
हेरौँ अब
घाम छेक्न सक्नेहरूले धुवाँ छेक्न सक्छन् कि सक्दैनन् ?
हेरौँ
श्वास छेकेर को बाँच्ने रहेछ यो शहरमा???
