माघ ५, शुक्रबार मकवानपुर ।  स्वर्गीय गायक योगेश वैद्यलाई सर्वाधिक लोकप्रिय बनाउने गीत हो- “सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ” । यो गीत शिव अधिकारीले लेखेको र नातिकाजीद्वारा सङ्गीतबद्ध गरिएको थियो ।

शुक्रबार उहाँको पार्थिव शरीर अघि वहाँद्वारा गाइएको सोही गीत वहाँलाई नै अर्पण गर्दै गीत-संगीतकर्मीहरूले श्रद्धाञ्जली‌ अर्पण गरेका छन् ।

योगेश वैद्यलाई गायनमा विशिष्ट उचाईँ दिने पहिलो गीत “नेपाल मेरो तिमीलाई उपहार भो” भन्ने राष्ट्र गीत हो। मवीवी शाह (श्री ५ महेन्द्र) बाट लेख्नुभ‌एको यो गीत २०२७ सालमा रेकर्ड गरिएको थियो। यो गीत रेकर्ड भएको एक वर्षमै राजा महेन्द्रको देहावसान भएको थियो ।

गायक वैद्यले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा स्नातकोत्तर गरेपछि तत्कालीन श्री ५ को सरकारको छात्रवृत्तिमा बेल्जियमको गेन्ट स्टेट विश्वविद्यालयबाट खाद्य तथा पोषण विज्ञानमा पनि स्नातकोत्तर गर्नुभ‌एको थियो ।

तीन दशकभन्दा लामो समय श्री ५ को सरकारको सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गर्नुभ‌एका उहाँलाई भलाद्मी एवं शालीन गायकको रूपमा चिनिने उहाँका सहयात्रीहरू बताउछन् ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनु भ‌एका वरीष्ठ गायक तथा सङ्गीतकार वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लाने क्रममा (२०८० साल माघ ४ गते) बिहीबार राति करीब साढे १२ बजे निधन भएको हो। पछिल्लो समय पक्षघात सम्बन्धी समस्या समेत झेलिरहनु भ‌‌एका उहाँको केही समयअघि मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो |

बि.सं. २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा उनको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’ रेकर्ड भएको थियो भने २०४४ सालमा शिव अधिकारीको रचनाको ‘सपना भुलाइ सारा’ उहाँको चर्चित र लोकप्रिय गीत हो ।

नवसाहित्य परिवार गायक वैद्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।