कविता सुन्न जति सजिलो छ, टिप्पणी गर्न जति सजिलो छ अनि अब म कविता लेख्छु, भन्न जति सजिलो छ, कविता लेख्न चाहिँ त्यति नै गाह्रो छ। साहित्यका विविध विधाहरुमध्ये कविता आफैमा विशिष्ट, व्यापक तर सूक्ष्म साहित्यिक विधा हो, जसले बीजमा विशालता बोकेको हुन्छ, जसले संक्षिप्तमा व्यापकता बोकेको हुन्छ, जसले थोरैमा धेरै बोलेको हुन्छ । कविता आफूमा झिल्को हो, जसले अरुमा राँकोको सल्काउनुपर्छ, कविता आफूमा थोपो हो, जसले अरुमा सागर खन्याउन सक्नुपर्छ, कविता आफूमा शब्द हो, जसले अरुमा प्रबन्ध बुझाउन सक्नुपर्छ । समग्रमा कविता स्वरूपमा थोरै तर सारमा विशाल हो।

के लेखिनुपर्छ कवितामा
कवितामा जीवन व्यवहार लेख्नुपर्छ, चिन्तन लेख्नुपर्छ, चेतना लेख्नुपर्छ । हामी जति पनि कविताहरू पढ्छौँ त्यसले कुनै न कुनै रूपले जीवनलाई, जीवन बाँचेको समाजलाई र जीवनले भोगेको व्यवहारलाई बोलेको हुनैपर्छ । जब कविता जीवन, समाज र अनुभूतिभन्दा टाढा हुन्छ, त्यतिखेर कविता नै लाग्दैन । त्यसकारण कविले कल्पनाको बहावमा बग्दै कलाको धारिलो शैलीमा जीवन बोल्न सक्नुपर्छ, समाज छाप्न सक्नुपर्छ, अनुभूतिलाई देखाउन सक्नुपर्छ ।
त्यसैगरी कवितामा चिन्तन अभिव्यक्त हुनुपर्दछ । हामी जति कुराहरु परेर वा पढेर जानिरहेका हुन्छौं, बुझिरहेका हुन्छौं, तिनीहरूप्रति चिन्तन गर्दै त्यसको सूत्रात्मक अभिव्यक्ति कवितामा आएको हुनुपर्छ । कविता पाठहरु होइन, कविता पाठहरूको निष्कर्ष चाहिँ हो । त्यसकारण हामीले जिन्दगीमा परेर वा पढेर जानेका अनेकौँ पाठहरूको सार कविता बन्नुपर्छ, निष्कर्ष कविता बोल्नुपर्छ ।
कवितामा जीवन व्यवहार र चिन्तन मात्र होइन चेतना पनि बलेको हुनु आवश्यक छ । एउटा सचेत पाठकले कुनै कविता पढिरहँदा कविताको अन्त्यसँगै चेतनाको नयाँ झिल्को पनि फेला पार्नुपर्दछ । जसले अँध्यारो जीवनमा उज्यालोको आभास देओस्, रुमलि्लरहेको जीवन यात्रामा गन्तव्यको संकेत गरोस् । त्यसकारण हरेक कविताहरू चेतनाको झिल्को हो, जसले जीवनलाई उज्यालो देखाओस्, समाजलाई झलमल्ल पारिदियोस् । त्यो उज्यालो कविता बनेर बोल्नुपर्दछ ।

कसले लेख्छ कविता
हरेक सचेत र जागरुक सज्जनहरूमा कवि हुने लोभ र कविता लेख्ने भोक जाग्नु स्वाभाविक हो । सबैको बैंसमा कवि हुने रहर पलाउनुलाई सामान्य ठानिन्छ । तर रहर पलाउँदैमा सबै कवि हुँदैनन् । त्यस्तो विशेष व्यक्ति कवि हुन्छ, जसमा विशेष क्षमता र प्रतिभा रहन्छ । त्यसकारण जो व्यक्ति प्रतिभाशाली हुन्छ, जन्मजात नै कवितात्मक क्षमता बोकेर आएको हुन्छ वा स्वभाविक रुपमा कवि मन हुन्छ, त्यसले कविता लेख्छ । पूर्वीय सभ्यतामा प्रतिभालाई सिर्जनाको सर्वप्रथम स्रोतका रूपमा पहिचान गरिएको छ । प्रतिभाविहीन व्यक्तिले गरेका कुनै पनि सिर्जनाहरू उत्कृष्ट बन्न सक्दैनन् भन्ने निचोड संस्कृत साहित्य सिद्धान्तमा रहेको छ । जुन कुरा आजको प्रयोगशील जीवनमा पनि देख्न सकिन्छ । कला, साहित्य, संगीत जस्ता कलात्मक क्षेत्रमा प्रतिभाशाली व्यक्तिले नै उत्कृष्ट सिर्जना दिन सकेको पाइन्छ । सोही अनुरूप कविता पनि त्यस्तो विशिष्ट कलात्मक सिर्जना हो, जसको सर्जक बन्नका लागि प्रतिभासम्पन्न हुनु अनिवार्य हुन्छ । त्यसकारण कविता लेख्नका लागि प्रतिभा पहिलो सर्त हो ।
प्रतिभाशाली व्यक्तिले आफ्नो क्षमता र प्रतिभालाई निखार ल्याउन अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ । विभिन्न ग्रन्थहरू पढेर होस् वा जीवन र समाजलाई पढेर होस्, कुनै न कुनै रुपले अध्ययन आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहेको प्रतिभालाई उजागर गरेर आत्मविश्वाससहित प्रस्तुत हुनका निम्ति पनि सम्बन्धित क्षेत्रको गहिरो अध्ययन आवश्यक पर्दछ । सोही अनुरुप सर्जक व्यक्तित्वहरुले पनि सम्बन्धित विषयक्षेत्रको गम्भीर अध्ययन अनुसन्धानपछि आफूलाई सिर्जनामा क्रियाशील तुल्याउन सके उत्कृष्ट सिर्जना वा कविता सम्भव हुन्छ । त्यसकारण जो व्यक्ति अध्ययनशील छ, जसले जीवन र समाजलाई पढेको छ, बुझेको छ, उसैले राम्रो कविता लेख्न सक्छ ।
प्रतिभाशाली व्यक्तिले आवश्यक अध्ययन अनुसन्धान गरेपछि जब कवितात्मक लेखनको अभ्यास वा प्रयास गर्छ तब सिर्जनाले मूर्तरुप पाउँछ । हामीले कुनै अभ्यास वा प्रयास बिना नै प्रतिफलको अपेक्षा गर्न सक्दैनौँ । त्यो प्रतिफल भनेको कवितात्मक सिर्जना हो । पटकपटकको प्रयास र अभ्यासले हरेक सिर्जनालाई उत्कृष्ट बनाउन मद्दत गर्दछ । त्यसकारण एउटा कवि उत्कृष्ट सिर्जनाका निम्ति जति धेरै प्रयासरत वा अभ्यासरत रहन्छ उत्ति नै धेरै सुन्दर कविताको पनि सम्भावना हुन्छ ।
त्यसर्थ जो प्रतिभा सम्पन्न हुन्छ, जो अध्ययनशील हुन्छ र सिर्जनात्मक प्रयास र अभ्यासमा सक्रिय रहन्छ उनै उत्कृष्ट कवि बन्छ, उसका रचनाहरु नै कालजयी बन्छन् ।

कसरी लेखिन्छ कविता
कविता आफैंमा विशिष्ट कलात्मक साहित्यिक विधा भएको हुनाले यसको लेखनगत सीप पनि विशिष्ट रहन्छ । सामान्य र हलुका अभिव्यक्ति पक्कै कविता होइन । कविता हुनका लागि खास विषयलाई प्रतीकात्मक र सूत्रात्मक ढंगले लय विधानका साथ प्रस्तुत गरिएको हुनुपर्छ । त्यसकारण कविता मूलतः संक्षिप्त, कलात्मक, लयात्मक र चमत्कारजन्य भाषिक अभिव्यक्ति हो । यसले बिन्दुमा विश्व अटाउन सक्नुपर्छ । त्यसकारण राम्रो कविताको भाषा व्यञ्जनात्मक हुनुपर्छ । कवितामा जति धेरै व्यञ्जनात्मक अभिव्यक्ति दिन सकियो त्यति नै उत्कृष्टता कायम गर्न सकिन्छ । सन्दर्भअनुसार कतिपय कविताहरुमा लक्ष्यार्थको प्रयोग पनि पाइन्छ । लक्ष्यार्थ कविताको दोस्रो तहको भाषिक कौशल हो । र कविताको सामान्य भाषिक अभिव्यक्तिका रूपमा अभिधात्मक भाषालाई लिइन्छ । त्यसर्थ हामीले लेख्ने कवितामा जति धेरै व्यञ्जनात्मक अभिव्यक्ति वा व्यङ्ग्यात्मक अभिव्यक्ति रहन सक्छ, त्यो कविता त्यति नै धेरै उत्कृष्ट हुन्छ भने अभिधात्मक भाषाको प्रयोगले भने कवितालाई कमजोर बनाइदिन्छ । कविता लेख्दै गर्दा सकेजति बढी व्यञ्जना र लक्षणाको प्रयोग गर्ने अनि अभिधाको प्रयोगलाई सकेजति न्यूनीकरणको प्रयास गर्ने तरिका अपनाउनु पर्दछ ।
त्यसकारण कविता आफैमा विशिष्ट साहित्यिक विधा हो भन्ने बुझ्नुपर्दछ । जीवनका अनेक आरोह अवरोहहरुसँगै कवितालाई पनि जोड्न सक्नुपर्छ । कवितामा जीवन, समाज, चिन्तन र चेतना अभिव्यक्त भएको हुनुपर्दछ । प्रतिभा सम्पन्न व्यक्तिले आवश्यक अध्ययनपछि गरेको पटकपटकको प्रयास, अभ्यासपछि उत्कृष्ट कविताको सिर्जना हुन्छ । कविता सकेजति बढी व्यञ्जनात्मक, व्यङ्ग्यात्मक एवं प्रतीकात्मक भाषाको प्रयोग गरेर लेखिनु पर्दछ, जसमा सन्दर्भ अनुसार लक्षणाको पनि प्रयोग गर्न सकिन्छ तर कवितामा अभिधात्मक भाषा अर्थात् प्रत्यक्ष अर्थ दिने भाषाको प्रयोगमा भने न्यूनीकरण गर्नै पर्दछ । प्रतिभा, चेतना र व्यञ्जना उत्कृष्ट कविताका लक्षण हुन् भने अध्ययन, चिन्तन र लक्षणा मध्यमस्तरका कविताका लक्षण हुन् । त्यसैगरी प्रयास, सामान्य जीवन भोगाइको अभिव्यक्ति र अभिधात्मक लेखाइ निम्न स्तरका कविताका लक्षण हुन् ।