माघ ११, बिहिबार मकवानपुर ।
महावीर पुनद्वारा लिखित आत्मकथा पुस्तकः ‘महावीर’ आफैंले बिक्री गर्दै आउनु भएको छ । पुस्तक बिक्रेतालाई दिनुपर्ने सहुलियतका कारण आफैं पुस्तक बेच्ने निर्णय गरेपछि पुस्तक व्यवसायीहरूले समेत सहयोगस्वरुप पुस्तक खरिद गरेर बिक्री गरेका छन् । देशका विभिन्न स्थानमा पुगेर आफैं पुस्तक बिक्री गरिरहनु भएका पुनको यस अभियानमा सर्जक, पाठक, शुभेच्छुकहरूले साथ दिँदै पुस्तक किनिरहेका छन् ।
यसै सन्दर्भमा पूर्व मन्त्री लोकेन्द्र विष्ट मगर जो हाल कृषिमा आधुनिकीकरणका कार्यमा संलग्न हुनुहुन्छ, उहाँले १८३ थान पुस्तक खरिद गर्नु भएको छ । उहाँले ती पुस्तक विभिन्न विद्यालयमा हस्तान्तरण समेत गर्नु भएको छ । विद्यार्थी र शिक्षकले पढे भने समाजको सबै हिस्सामा यसको शिक्षा पुग्छ भन्ने विष्ट नेपालमा पहिलो ड्रागन खेति गर्ने व्यक्ति हुनुहुन्छ । हाल उहाँ सक्रिय राजनीतिबाट बाहिर हुनुहुन्छ ।
विगत ३० वर्षदेखि बन्द रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गरेर पुनः सञ्चालन गराएर राज्यलाई सुम्पिन चाहेका महावीर पुनको चाहनालाई पूरा गर्नका लागि विष्टले यो पुस्तक खरिद गरी थोरै भए पनि सहयोग गरेको बताउनु भएको छ ।
राज्यले गर्नुपर्ने काम राष्ट्रिय आविष्कार केन्द्रमार्फत् भइरहेकोमा सो पुस्तक किनेर सहयोग गर्न उहाँले सबैलाई अनुरोध समेत गर्नु भएको छ । यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ- समाज, देश र संसार बदल्न सबैको साथ चाहिन्छ।
वीरगञ्ज कृषि औजार कारखानामा केही औजारहरू बन्न सुरू भइसकेको छ भने हालसम्म २४ हजार बढी पुस्तकहरू बिक्री भइसकेको महावीर पुनले सामाजिक सञ्जारमा सार्वजनिक गर्नु भएको छ ।
