जब शीत लहरहरू बिस्तारै उकालो लाग्छन्
र छोपिदिन्छन् यी हिमालका सुन्दर अनुहार
तब मलाई कुरुप लाग्छ तिम्रो प्रेम
जब ठोकिन्छन् अग्ला बाँसहरू एक आपसमा
र त्यहीँबाट निस्किदिन्छ सुन्दर सङ्गीत
तब मलाई बिरक्त लाग्छ तिम्रो आवाज ।
जब हिउँदमा हिउँ फुलेर बर्षन्छ सल्लामाथि
र पहरामा परिपक्व देखिन्छ सल्लाको बोट
तब म आफै देखेर पनि कच्चा सम्झन्छु ।
जब फुलेको आलुबखडाका हाङ्गाहरूमा
फक्रदै जान्छन् नयाँ बिरुवाका पदचिह्न
तब मलाई हुर्कदै गरेको प्रेममा गर्व लाग्छ ।
जब चराले उठाइल्याउँछ काँसको त्यान्द्रो
र बनाउँछ सुन्दर एउटा अद्भूत घर
तब मलाई नदिका किनारहरू पनि आफ्ना लाग्छन् ।
तिम्रो आँखामा
बेमौसम नाचीहिड्ने रङ्गिन सपनाहरू
हिमालभन्दा सुन्दर कसरी देखिएलान् ?
सल्लाको बोटभन्दा परिपक्व कहिले होला ?
तिम्रो मनमा फुलिरहेको प्रेमले
बाँसको रुखले जसरी सङ्गित भर्छ र ?
आलुबखडामा जस्तो जीवन भेटिएला र ?
या तिम्रो पाखुरामा आर्जेको शक्तिले
एउटा सुन्दर घर कहिले बनाउला ?
यो जिवन न्युटनको कुन नियममा चल्छ ?
डार्विनको विकासवाद कहाँनिर पुग्यो ?
आकाशमा चम्किएका ताराहरूले
एकआपसमा प्रेम पोख्छन्/पोख्दैनन् ?
किन एक्लै–एक्लै कुदिरहेका देखिन्छन् ?
अचेल, पोथी चखेवी किन एक्लै छे ?
निरासामा पनि जिवन हुन्छन् र ?
बिर्खे दाई ! हाँस्न कसले सिकाउला ?
माफ गर, ओ प्रेयसी !
मेरो प्रेम पनि यो पर्यावरण जस्तै
प्रत्येक क्षण परिवर्तन हुदै गएको छ ।
बकैया–४, मकवानपुर
