मलाई सोधी रहेछु आखिर म को हुँ ?
बौद्ध धर्मावलम्बीको माने जस्तो
छोरो प्याच्च बोल्छ
होइन भदौमा आँखा फुटेको गोरु जस्तो
श्रीमती व्यङ्ग्य गर्छे
८० वर्षे वृद्ध जस्तो
बा आँखा तर्छन्
अजङ्गको मूर्ति जस्तो
छोरी वाण हान्छे
शौचालयको गायक जस्तो
छिमेकी शङ्का गर्छन्
म मलाई नै सोचिरहेछु म के जस्तो?
आफ्नै पेशाको मोहमा फसेर
कपाल र दाह्रीलाई तिलचामले बनाएपछि
हिटलर माओ र नेपोलियन नबनेर
बुद्ध, शेक्सपियर र देवकोटालाई अनुसरण गरेपछि,
ऐश्वर्यविहीन सुदामा बनेर
कुबेरको ढुकुटीमा दृष्टि नदिएपछि
बम बारुद र बन्दुकको सट्टामा
चकको टुक्राले कालोपाटी रङ्गाएपछि
अनि,
अनि घुम्ने मेचमाथि बसेर
कालो धन कुम्ल्याउन नसकेपछि
मैले पाएका उपनामहरूलाई स्वागत गर्छु
हो तिमीहरुकै सङ्ज्ञा जस्तो !
दोबाटोमा उभिएर श्रीमतीको फाटेको धोती
छोराको मासिक शुल्क
छोरीको जन्मदिनको कोसेली
र बाको खोकीको दबाई
अनि आफ्नै जीर्ण शरीरमा उनिएको
छिया-छिया भाको कमिजको कल्पना गर्दै
पश्चिमी छितिजमा पुगेको
लाली सूर्यको किरणसँग हराउँदै गर्दा
मलाई मेरा परिचित मित्र ले प्रश्न गरेथे-
भन त तिमी के जस्तो ?
लाटोकोसेरोको कुलुलु स्वरसँगै
रातको उत्तरार्धमा
निन्द्राबाट भङ्गित भएर
ओछ्यानमा उल्टो फर्किएपछि
फेरि तिनै प्रश्नहरुले मलाई
बारम्बार घोच्ने गर्छन् ।
मेरो मजदुरीको प्रतिफल
ख्वाक्क खोक्दा निस्किएको
रगतको फाल्सालाई देब्रे हातले छोपेर,
मस्त निद्रामा स्वाँ-स्वाँ गरिरहेका
मेरा परिवारका सदस्यहरुलाई
मनमनै प्रश्न गर्छु
आखिर म जो भए पनि,
तिमीहरुको चाहिँ को हो ?
भीड सहरको मध्यभागमा
ओहोरदोहोर गरिरहेका मान्छेहरूको
ध्यानाकर्षण गर्दै,
निरर्थक एक्कासी चिच्याउन पुग्छ
हो !
म राउटे वस्तीको ‘मुख्या’ जस्तो,
भारी पाएको भरिया जस्तो,
जीर्ण मन्दिरको पूजारी जस्तो,
आधुनिक कालमा ठडिएको,
साहित्यकारको मूर्ति जस्तो,
तिरस्कृत लोकगीतका स्रष्टा
सारङ्गी लिएको गाइने जस्तो,
कालीगण्डकीको किनारमा रहेको
शालिग्राम जस्तो,
इतिहासका पानामा नाम नअटेको
सहिद जस्तो !
अनि,
कम्मर पेटीमा प्वाल थप्दै
चौथाई पारिश्रमिक लिएर
शैक्षिक क्षेत्रमा नै जीवन उत्सर्ग गर्ने
निजी विद्यालयको शिक्षक जस्तो !
✍️गङ्गा खनाल
